बाबाविनाको घर (कविता)

गोर्खे साइँलो

बाबाको घरमा उपस्थितिविना के काम बन्ला भनौँ
खाली लाग्छ सदैव बैठक यहाँ अर्को कुरा के भनौँ ?
बस्ने खाट सधैँ उराठ रहँदा आँखा कहाँ मान्छ र ?
यस्तै हुन्छ हरे! सदैव जहिल्यै बाबाविनाको घर !!

आए साहुहरू भने हरघडी बाबा खुदै खोज्दछन्
साह्रा यी ब्यबहारले हरघडी बाबा स्वयं रोज्दछन्
घर्को कामहरू समाल्न सजिलै सक्थे सबैले तर
हेप्नेछन् सबले अनाथ सरिको बाबाविनाको घर !!

केही आड भरोसा हुन्न दरिलो जे काम गर्दा पनि
कस्ले दिन्छ यहाँ सदैव गतिलो विश्वास आधार नि
आफ्नोले पनि हेप्छ भन्छ दिनहूँ तेरो यहाँ को छ र ?
साह्राले जहिल्यै दवाइ रहने बाबाविनाको घर !!

बाबा नै घरको यथेष्ट धन हो हामी सबै खातिर
माया प्रेम भरेर खान दिनहूँ मिल्ने सधैँ आखिर ।
अर्को हुन्न उपाय नै बुझिदिए सम्पन्न हुन्थ्यौँ तर
पूर्णै हुन्छ कहाँ अनाथ जनमा बाबाविनाको घर !!

पैँचो सापट वा अनेत्र परको, सारा सुधारी दिने
द्यौता होस् अथवा छिमेक सवले बाबा पुकारी दिने
घर्मा दौलतको छ धेर सुविधा भण्डार भारी तर
सारै शून्य हुने रहेछ जहिल्यै बाबा विनाको घर !!

अध्यक्षः पल्लव साहित्य प्रतिष्ठान, चितवन

Loading...