लकडाउनमा उपभोग्य बस्तु निःशुल्क होम डेलिभरी गराउँदै इन्जिनियर युवाहरु

रामप्रसाद पौडेल

विराटनगर, १२ वैशाख । लकडाउनमा दैनिक उपभोग्य सामानको अभाव छ ? चिन्ता नगर्नुहोस् तपाईंको सेवामा निःशुल्क होमडेलिभरी गर्न इन्जिनियर युवाहरु हाजिर छन् ।

लकडाउनले गर्दा आवागमनमा समस्या भएकोले घरमा खाद्यान्न, फलफूल तथा सागसब्जी किन्न अप्ठ्यारो परिरहेका विराटनगर र धरानका बासिन्दाहरूको समस्यालाई ख्याल गरेर विराटनगरका ६ जना इन्जिनियहरुको समूहले घरघरमै अर्डरअनुसार उपभोग्य बस्तु निःशुल्क होम डेलिभरी गरिदिन थालेका हुन् ।

इन्जिनियर युवाहरुको गुद्री अनलाइन सुपरमार्केट कम्पनी

लकडाउनमा घरमा निःशुल्क सामान होम डेलिभरी गरिदिन विभिन्न देशमा इन्जिनियरिङ अध्ययन सकेर विराटनगर फर्किएका ६ जना युवाहरूको समूहले गुद्री डटकम अनलाइन सेवा सुरु गरेका छन् ।

गुद्री डटकमका कार्यकारी निर्देशक बिक्रान्त मण्डलका अनुसार यो समूहले विराटनगर महानगर महानगरपालिका र धरान उपमहानगर भित्रका सबै ठाउँमा माछा मासु , तरकारी र फलफूल अर्डर अनुसारको सामान कुनै शुल्क नलिई होम डेलिभरी गरिदिन थालेको छ ।

कृषकहरुलाई अर्गेनिक मल बनाएर सहयोग गर्ने दीर्घकालिन उद्देश्य बोकेर स्थापना भएको गुद्री अनलाइन सुपर मार्केट प्रालिले लकडाउनमा उपभोग्य बस्तु निःशुल्क होम डेलिभरी गरिदिन थालेको छ ।

यो समूहमा भर्खरै विभिन्न देशबाट इन्जिनियरिङ सकेर नेपाल फर्केका युवाहरु सौरभ पटेल, बिक्रान्त मण्डल, अभिजित दत्ता, अजित मिश्रा, मनिष कार्की, मंजित राज, संगीत सिग्देल, निश्चल मण्डल, रुद्र विश्वकर्मा, लगायत आवद्ध छन् ।

हाल यो समूहले धरानमा २० र विराटनगरमा २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । आफैंले थोक मूल्यमा तरकारी र फलफुलहरु खरिद गर्ने भएकोले निःशुल्क होम डेलिभरी गर्दा पनि मूल्य अरुको भन्दा सस्तो पर्ने गरेको कम्पनीका सिईओ बिक्रान्त दाबी गर्छन् ।

मिस्कल गरे, घरमै समान हाजिर

गुद्री डटकमका सञ्चालक मिश्रका अनुसार विराटनगर र धरानका बासिन्दाहरूले घर बसीबसी उपभोग्य समान अडर्र गर्न gudree.com, गुद्री एप्स, फेसबुक पेज, र अनलाइन पोर्टल प्रयोग गर्न सक्दछन् ।

इन्टेरनेट एक्सेस नभएका ग्राहकहरुले ९८५२०५०००४ नम्बरको ह्वाट्सएप वा ९८००९८६६६१ नम्बरमा सिधै सम्पर्क गरी वा मिस्कल गरेर आफूलाई आवश्यक परेको किरानाका सामानहरू, फलफूल तथा सागसब्जी अर्डर गरेर घरमा मगाउन सक्छन् ।

एक सय रुपैयाँभन्दा माथिको सामाग्री अर्डर भएमा उपभोक्ताको घरमै सामान पुर्याइदिने र कुनै सामान नराम्रो परेमा २४ घण्टाभित्र फिर्तासमेत लिइने गुद्री डटकमले प्रतिवद्धता जनाएको सिइओ मण्डलले बताए ।

इसेवा वा बैंकमार्फत पनि भुक्त्तानी गर्न सकिने

सामान डेलिभरी भएपछि उपभोक्ताले नगद, इसेवा वा बैंकमार्फत भुक्तानी गर्न सक्ने भएकोले विपदको समयमा गुद्री डटकमले राहत पुर्याइरहेको युवाहरुको दाबी छ । हाल गुद्री अनलाइन सुपर मार्केटले लकडाउनको समयमा विराटनगरमा दैनिक लगभग दुई सय घरमा निःशुल्क उपभोग्य बस्तुहरु होम डेलिभरी गरिरहेको छ ।

Loading...