कोरोनासँगको युद्धमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी

चाइनाको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस अहिले विश्वब्यापी महामारीको रूपमा फैलिसकेको छ । यस रोगबाट संक्रमितको संख्या २७ लाख ३७ हजार नाघिसकेको र यसबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख ९१ हजारभन्दा माथि रहेको छ र बढ्दो क्रममा छ।

मुकेश पौडेल

यस रोग एक व्यक्तिबाट अर्को ब्यक्तिमा प्रत्यक्ष सम्पर्क, खोक्दा तथा हाच्छ्यूँ गर्दा निस्कने छिटाबाट सर्न सक्ने भएकाले मानिसहरूको प्रत्यक्ष सम्पर्क रोक्नका लागि विश्वका थुप्रै देशहरू लकडाउनमा रहेका छन् । बढ्दो संक्रमण र मृत्युले मानिसहरूमा डर र त्रास सिर्जना भएको पनि पाउन सकिन्छ ।

यस समयमा आम मानिसहरू घरमै बसिरहेको अवस्थामा भने संक्रमणविरुद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू फिल्डमै काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मीहरूले समाजिक दूरी कायम राख्न, लकडाउन पालना गर्न साथै समुदायमा निगरानी गरेर काम गरिरहेका छन् । त्यस्तै रोगिको पहिचान, उनीहरूको उपचार, रोग फैलन नादिनका निम्ति रोकथामका उपयहरूका साथ स्वास्थ्यकर्मीहरू काम गरिरहेको पाउन सकिन्छ ।

यी फिल्डमा काम गरिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरू कोरोनाविरुद्धको लडाईंमा प्रथम घेराभित्र रहेर काम गरिरहेका छन् । यी प्रथम घेराभित्र रहेका मानिसहरू सबैभन्दा बढी जोखिममा रहेका हुन्छन् । र, यदि यिनीहरूमा संक्रमण देखियो र फैलियो भने यस लडाईंविरुद्ध काम गर्न एकदमै कठिन परिस्थिति आउन सक्छ र यिनीहरूको सम्पर्कमा आउने सम्पूर्णमा रोग फैलन सक्ने सम्भावना पनि उत्तिकै उच्च हुन्छ ।

रोग सर्ने मात्रै नभएर भोलिको दिनमा उत्पन्न हुनसक्ने अझ भयावह स्थितिमा काम गर्ने जनशक्तिको समेत चरम अभाव हुन सक्छ। तसर्थ यस अवस्थामा पहिलो घेराभित्र रहेर काम गरिरहेका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिन जरूरी देखिन्छ ।

विभिन्न विकशित मुलुकहरूमा पनि यस रोगविरुद्धको लडाईं जारी नै रहेको पाइन्छ। त्यस्तै विभिन्न खोज, अनुसन्धान तथा अध्यक्षले पनि त्यस्ता विकशित मुलुकहरूमा पनि रोग नियन्त्रण र रोकथामका लागि एकदमै मुस्किल घडीको सिर्जना भएको थियो । स्वास्थ्यकर्मीहरूले आफ्नो सुरक्षाका लागि डस्टबिनमा प्रयोग हुने प्लास्टिकले आफ्नो शारीर ढाकेर उपचार सेवा प्रदान गरेका थिए भने आफ्नो परिवारसँग अलग भएर बस्नुपरेको थियो ।

(Working in health care comes at a huge cost right now. This is what they’re doing to protect us from COVID-19.By Julia Ries बाट साभार) त्यसैगरी कोभिड-१९ विरुद्ध लडाईंको पहिलो घेराभित्र रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरू आफैंमा संक्रमित हुँदा एकदम चिन्ताजनक परिस्थिति उत्पन्न भएको थियो । चाइनाको कोभिड-१९ विरुद्धको लडाईंमा काम गरिरहेका स्वाथ्यकर्मीहरूमा डर, त्रास र मानसिक प्रेसर साथै डिप्रेशनसमेत देखा परेको एक खोज तथा अनुसन्धानले बताउँछ । (‘We Carry That Burden.’ Medical Workers Fighting COVID-19 Are Facing a Mental Health Crisis by Tara Law बाट साभार)

नेपालमा पनि यस कोभिड-१९ विरुद्धको लडाईं जारीनै छ र यस लडाईंको पहिलो घेराभित्र सुरक्षाकर्मी र स्वस्थ्यकर्मीहरूनै छन् । नेपाल सरकारले पनि यस महामारी फैलन नदिन तथा रोकथामका लागि थुप्रै कार्यहरू तथा कार्यक्रमहरू अगाडि ल्याएको पाइन्छ । यी नियम पालना गर्ने हामी जनताको हातमा छ भने कार्योनयन गर्ने जिम्मा सरकार र प्रशासनको हातमा रहेको छ ।

यस घडीमा प्रहरी प्रशासन तथा सुरक्षा निकयको अहम भूमिका रहेको हुन्छ। दिन रात, भोक तिर्खा र घर परिवार नभनि पहिलो घेराभित्र रहेर काम गरिरहेको सुरक्षा निकयमाथि थुप्रै टिका टिप्पणी गरेको देख्न पनि सकिन्छ । सुरक्षाकर्मीहरू विना कुनै सुरक्षाका उपकरण, फिल्डमा अत्यन्त जोखिमका साथ काम गरिरहेका छन् । तसर्थ उनीहरूलाई साथ दिँदै र सहयोग गर्दै सरकारले कार्यान्वयन गरेका सम्पूर्ण नियमहरूलाई हामी जनताले धैर्यताका साथ पालना गर्नुपर्ने जरूरी हुन जान्छ ।

त्यस्तै स्वस्थ्यकर्मीहरू यस घडीमा अहोरात्र खटिरहेका छन् । यस लडाईंमा रोगीहरूको प्रत्यक्ष सम्पर्कमा आएर बिरामीहरूको उपचार गरिरहेका छन् । कतिपय स्वास्थ्य संस्थाहरूमा पीपीई उपलब्ध छैनन भने कतिपयमा स्वास्थ्यकर्मीहरू स्वयंले विभिन्न प्लास्टिक तथा रेनकोट लगाएर काम गर्न बाध्य छन् । उनीहरूको जोखिमप्रति सरकारले ध्यान दिन जरूरी देखिन्छ। यस लडाईंमा प्रथम घेराभित्र रहेर काम गरिरहँदा हामी जनताकोपनी उत्तिकै दायित्व रहन जान्छ ।

यस अवस्थामा उनीहरूले आफ्नै जीवनलाई जोखिममा राखेर सेवा पुर्‍याइरहेका छन् । हामीले विभिन्न सञ्चारमाध्यममार्फत पनि स्वस्थ्यकर्मीहरूलाई परिरहेको समस्याहरूका बारेमा सुनिरहेका छौं । अस्पतालमा काम गर्ने डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरूलाई घरबेटीले कोठा खाली गर्ने लगाएको जस्ता कुराहरू सुनिरहेको छौं । सँगसँगै स्वास्थ्यकर्मीमाथि सुरक्षाकर्मीद्वारा कुटपिट गरेको घटनाका बारेमा पनि सुन्नमा आइरहेको छ।

तसर्थ यस अवस्थामा प्रथम घेराभित्र रहेर काम गरिरहेका दुवै स्वस्थ्यकर्मीहरू तथा सुरक्षाकर्मीहरूले एकदमै संयमता अपनाएर काम गर्न जरूरी देखिन्छ। उनीहरू आफैं पनि संक्रमणको जोखिमले गर्दा आइसोलेशनमा बस्नु परेको अवस्था छ, जसका कारणले स्वस्थ्यकर्मीहरूको मनोवल कमजोर हुँदै गएको पनि सुन्न सकिन्छ ।

त्यसकारण उनीहरूको जोखिम बुझ्नु सँगसँगै हामी जनताले पनि उनीहरूले गरिरहेको सेवालाई मध्यनजर गर्दै उनीहरूको कामलाई साथ दिँदै उनीहरूको मनोबल उच्च राख्न हरदम साथ र सहयोग गर्न जरूरी हुन जान्छ । र यस लडाईंमा प्रथम घेराभित्र रहेर लडिरहेका सुरक्षाकर्मी र स्वस्थ्यकर्मीहरूको सुरक्षा र भविष्यप्रति सरकार अझ संवेदनशील हुन जरूरी देखिन्छ ।

विकशित मुलुकहरूले पनि कोरोनाविरुद्धको लडाईंमा थुप्रै चुनौतीहरू ब्यहोरिरहेका छन् भने हाम्रो देशमा पनि कोरोनाविरुद्धको लडाईं चुनौतीकै रूपमा आइपरेको छ। यस लडाईं लड्ने सुरक्षाकर्मीहरू तथा स्वस्थ्यकर्मीहरूको स्वास्थ्य तथा सुरक्षा एक ठूलो चुनौति हो। उनीहरूलाई सुरक्षाका उपकरण पीपीईका साथ मात्र फिल्डमा पठाउनुपर्ने हुन्छ ।

जसका कारणले उनीहरू आफू सुरक्षित हुँदै समाजमा सेवा पुर्‍याउन सक्छन् । हैन भने थप जोखिम बढ्दै जान्छ र स्थिति के हुन्छ भन्ने आँकलन गर्न सकिँदै, तसर्थ सरकार तथा सम्बधित निकायले यास कुरामा ध्यान पुर्‍याउन जरूरी देखिन्छ।

सुरक्षामा खटिएका तथा स्वास्थ्यकर्मीहरूलगायत स्वास्थ्य संस्थामा कार्यरत हरेक व्यक्ति, डाक्टर, नर्स, परमेडिक्सलगायत प्रशासन तथा सफाई गर्ने व्यक्तिहरूको जोखिम बुझन जरूरी छ। यी हरेकको सुरक्षामा ध्यान पुर्‍याइयोस् र उनीहरूको स्वास्थ्य तथा भविष्यको सुनिश्चितप्रति सरोवरवालाको ध्यान जावोस।

यस लडाईंको प्रथम घेराभित्र रहेर काम गरिरहेका सुरक्षाकर्मी तथा स्वस्थ्यकर्मीहरूप्रति हार्दिक नमन । घरभित्रै सुरक्षित बसौं, सामाजिक दूरी कायम गर्दै अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौं। पटक-पटक साबुन पानीले मिचिमिचि हात धौऔं। आफू पनि सुरक्षित हुँदै स्वस्थ्य रहौं ।

Loading...