सम्झनामा महाविनाशकारी भूकम्प : चार पार्टी मिलेर तीपेनीमा संगै पुनर्निर्माण गरेका थियौं

गोपीबहादुर अछामी

१२ वैशाख २०७२ दिउँसो भुकम्प आएपछि हामी सबैभन्दा बढी क्षति भएको जिल्ला सिन्धुपाल्चोकको चौतारा पुगेका थियौँ । त्यहाँ हामीले तत्कालीन ए.माओवादी मोरङको तर्फबाट पाँच लाख बराबरको राहत जिल्ला पार्टीलाई बुझाएर फर्केका थियौँ । यद्यपि, हाम्रो भागमा परेको जिल्ला रामेछाप, ओखलढुंङगा र सोलु थियो । तर त्यहाँ बढ्ता क्षति नभएकोले हामीले राहत सिन्धुपाल्चोक नै लाने निधो गरेका थियौँ ।

पछि पुनर्निमार्णका लागि पार्टीले हामीलाई सिन्धुपाल्चोक खटायो । मोरङबाट ३३ जना सुनसरीबाट ३१ जना र झापाबाट पनि एक दर्जन साथीहरू खटिनुभएको थियो । झापाबाट अन्य जिल्लामा पनि जानुभएको र पहिले पनि श्रममा सरिक भैसक्नुभएकोले तत्काल उपस्थिति थोरै थियो ।

हामीले १२ देखि २१ जेठ २०७२ सम्म सिन्धुपाल्चोकको भोटेनाम्लाङ्ग गाविसको तीपेनी भन्ने गाउँमा ध्वस्त भएको श्री क्षेत्रपालेश्वरी उमावि सरसफाइ गरेर पुनर्निर्माण गरेर हस्तान्तरण गर्‍यौं । हामीले पुनर्निर्माणका क्रममा आफूलाई चाहिने खाद्य र बन्दोबस्तीका सामग्रीहरू हामी आफैंले लिएर गएका थियौं । तीपेनी पुग्दा कुनै घर सग्ला थिएनन् । मानिसहरू त्रसित र गुमसुम थिए । कोही झोक्राएर रोइरहेका पनि देखिन्थे । हामीले उहाँहरूसँग दुःखसुख साट्यौं । सम्झाएर हिम्मत बढाउने काम ग¥यौं । विस्तारै उहाँहरूलाई पनि क्रमशः काममा लाग्न प्रेरित गर्न सफल भयौं ।

हामीले पुनर्निर्माणमा जानुअघि आफ्नै जिल्लामा घर बनाउन र भग्नावशेष सफा गर्न चाहिने आवश्यक औजारहरू संकलन गरेका थियौं । किला, काँटी, बाँस, हम्मर, झम्पल ईत्यादी । १२ जेठमा उपाध्यक्ष भोगेन्द्र यादवको नेतृत्त्वमा टोली हिँडेको थियो । गाडीको चारबटै चक्का पञ्चर भएकोले टोली १३ जेठमा मात्रै तीपेनी पुगेको हो । मेलम्चीसम्म बस पुगेपनि त्यहाँबाट बाटो सानो र कच्ची भएकोले टिपरमा चढेर तीपनी पुगेका हौँ । हामीले तीपेनीमा एउटा कुखरा फर्ममा सेल्टर बनायौँ । कोचिला राज्य समितिअन्तर्गत पर्ने मोरङ, झापा र सुनसरी जिल्लाको एकमुष्ट नेतृत्त्व ईन्र्चाज प्रल्हाद बुढाथोकीले गर्नुभएको थियो । हामीले सबैको काम बाँडबाँझ गरेका थियौँ । यसैले काम गर्न सजिलो भयो ।

मचाहिँ सिन्धुलीमा राहत लिएर पुग्नुपर्ने भएकोले अलि ढिलो पुगे । १५ गते सिन्धुलीमा अध्यक्ष प्रचण्ड राहत बाँड्न आउने कार्यक्रम थियो । यताबाट हामीले ७५ क्विन्टल चामल, १५० पीस कपडा सिन्धुलीका लागि लागेका थियो । सिन्धुलीमा अध्यक्षको कार्यक्रममा सकेपछि म १६ गते एक ट्रक बाँससँगै तिपेनी पुगको थिएँ । तिपेनीमा पश्चिम भेरी कर्णालीबाट आउनुभएका नेकपा – माओवादी (वैद्य) का साथीहरू पनि खटिनुभएको रहेछ ।

त्यहाँ भेरी कर्णाली ईन्चार्ज पारसमणि शर्माको नेतृत्त्वमा उहाँहरूका २२ जना कार्यकर्ता खटिनुभएको थियो । उहाँहरूले माटो र ढुंगाको गाह्रो बनाउने काम गर्नुभयो । हामीले जस्ता ठोक्ने र बाँसको टाटी बनाउने काम गर्‍यौं । बडो रमाइलो अनुभूति भयो ।

साथीहरूले तीन दिनभित्र विद्यालय र आसपासको ठाउँ सरसफाइ गर्ने काम सक्नुभएको रहेछ । बाँस पुगेपछि काम तीब्र भयो । हामीले विद्यालयको चार कोठे भवन त मात्रै बाँसैबासले बनाइदिऔं । अरु जस्ता र बाँस प्रयोग गरेर बनायौं । जस्ताको व्यवस्था त्यहीका सभासदले गर्नुभएको रहेछ । म बाँस फोड्न र खुर्कन मात्र हैन, बाँसको चिम बनाउन पनि सिपालु थिउँ । एक एक गरेर भाटा कस्नुभन्दा सोझै बाँसलाई फोरेर चिम बनाउँदा राम्रो र समय पनि कम लाग्ने भएकोले त्यो प्रविधि बढी प्रयोग गर्‍यौं । साथीहरूले त्यसलाई अछामी मोडल भनेर हौस्याए । हामी पनि दंग हुँदै झन् तीब्रतासाथ काममा लागिरह्यौ । कार्यालय सचिव मुक्तिजी, साथी गणेश उप्रेती, श्रवण राय, सचिव बलिदानलगायत पनि घर निर्माण अवधिभर सक्रिय भएर लागिरहनुभयो ।

गणेश उप्रेतीको साथीहरूलाई काममा ऊर्जादिने सीप गज्जवको थियो । साथीहरू नरेश मुर्मु, दीपेश लिम्बू, हस्मुद्दिन मियाँ, त घर निर्माणका उत्कृष्ट कालिगढ नै हुनुहुँदोरहेछ । उपाध्यक्ष भोगेन्द्र यादव र महिला मोर्चा अध्यक्ष लता न्यौपानेले चाहिँ खाद्य विभाग (मेस) हेर्नुभयो । सुनसरीका साथीहरू पनि उत्तिकै सक्रिय भएर लाग्नुभयो । हामीले २१ गते विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्‍यौं । सचिव वर्षमान पुन समापनमा सरिक हुनुभयो ।

हामी काममा खटिरहँदा निरन्तर पराकम्पन गइरहन्थ्यो । दिनमा दुई तीन चोटीसम्म । तर हामीले उति धेरै बास्ता गरैनौं । विचलित बनेनौं । किनभने जति जे हुनु थियो भैसकेको थियो । अब यहाँभन्दा बढी केचाहिँ होला भन्ने हामीलाई लाग्दथ्यो । हामीलाई जिम्मा पाएको पुनर्निर्माण कार्य भरपर्दो ढंगले छिटो सम्पन्न गर्नुथियो । हामीले बिहान ५ देखि दिउँसो ११ बजेसम्म काम गर्थ्यौं । त्यसपछि हामी आराम गर्थ्यौ र २ बजेपछि साँझ ७ बजेसम्म काममा लाग्थ्यौं । हाम्रो काम गर्ने जाँगर देखेर स्थानीय पनि दंग भए । हामी र हाम्रो काम गर्ने शैलीलाई खुबै मन पराए ।

भूकम्पले सबै ध्वस्त बनाएपछि स्थायीनहरू सबै भावह्वील थिए । उनीहरूले आफन्त गुमेको पीडा पनि राम्रो अनुभूति गर्न पाइसकेका थिएनन् । किनभने उनीहरूलाई कहाँ र कसरी बाँचेकाहरूले बस्ने र बच्ने भन्ने नै चिन्ता थियो । धेरै जना आफ्नो भग्नावशेस हेरेर टोलाइरहेका मात्र देखिन्थे । त्यहाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु श्रेष्ठका ४ र १४ वर्षका दुई छोरी गुमेका थिए । तर उहाँ हामीसँगै सक्रियतापूर्वक हाँसीहाँसी पुनर्निर्माणमा सरिक हुनुभयो । तर उहाँका दाई जीवन श्रेष्ठचाहिँ भुइँचालोमा पेरेर गुमेका दुई सन्तानलाई सम्झेर रक्सी खाएर प्रायः रोइरहनुहुन्थ्यो ।

उहाँलाई मन सम्हाल्न निक्कै गाह्रो परेको जस्तो लाग्थ्यो । हुन पनि श्रेष्ठ पारिवारले विद्यालयमा पियनका काम गर्ने अर्का एक सदस्य पनि गुमाएका रहेछन् । गाउँमा घर नभत्केका मानिस कोही थिएनन् । कोही झोक्राउने, कोही रोइरहने धेरै थिए । मान्छे अझै सम्हालिन सक्ने अवस्थामा थिएनन् ।

हामी तीपेनी पुग्दासम्म न सरकारले न गैरसरकारले कसैको राहत पनि पुगेको थिएन । हामी हुन्जेल त्यहाका धेरै मानिसहरूले हामीसँगै धेरेथोर काम गरे । उनीहरू भुलिएका पनि थिए । तर हामी जाने बेलामा उनीहरू फेरि निराश बने । भने, तपाईंहरूसँग गफ गरेर हामी भुलिएका थियौँ अब फेरि हाम्रो पीडाले हामीलाई चिमोट्ने भयो भने । उनीहरू हामीलाई बिदा गर्ने बेलामा धुरुधुरु नै रोए । हामीले पूरै भत्किएको त्यहाँको अस्पतालको पनि सरसफाइ गर्‍यौं । हामीले विद्यालय बनाइसकेपछि घण्टी र चाबी त्यहाँका हेडसरलाई जिम्मा दिएर बन्द विद्यालय खुलाएका थियौँ ।

सामूहिक श्रम सहयोगले सामूहिकताको भावना जगाउँदो रहेछ । हामीलाई तिपेनीमा पुनर्निर्माण गर्दा पनि गज्जबको सन्तुष्टि प्राप्त भयो । चाहेमा छोटो समयमा पनि पुनर्निर्माणको काम गर्न सकिँदो रहेछ भन्ने पनि सिकाइभयो । हामीले १० दिनमा करिब ८० जनाले २० देखि २५ लाखाको काम ग¥यौँ होला । पुनर्निर्माणले राजनैतिककर्मीहरू केही गर्न नसक्ने भैसके र केही गर्न सक्दैनन् श्रमदेखि भाग्छन् भन्ने कुरा पनि हामीले गलत हो भन्ने प्रमाणित गरिदियौँ ।

अर्को मुख्य कुरा यसरी वर्षमा दुई तीन वटा श्रमसँग जोडिएका अभियान चलाइरहनुपर्ने रहेछ । यसले नेता कार्यकर्ताहरूलाई रूपान्तरण गर्न बल दिँदो रहेछ । विशेष कुराचाहिँ फरक फरक पार्टीको भएपनि मावनताका लागि सबै राजनैकि पार्टी उद्देश्य एक हुँदोरहेछन् र सबैसँगै जेटेर सेवा दिनसक्ने जनता धेरै खुशी हुने र काम पनि धेरै गर्न सकिने रहेछ ।

हामीले तिपेनीमा चार पार्टी मिलेर सँगै पुनर्निर्माण गरेका थियौँ । हामी एकीकृत माओवादीसहित तिपेनीमा नेकपा माओवादी र अर्को एउटा कम्युनिष्ट पार्टीले सँगै काम गरेका थियौँ ।

(लेखक राष्ट्रियसभाका सांसद, पूर्व खेलकुद राज्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य हुन्)

Loading...