काठमाण्डौ, ११ बैसाख । नेपाल पत्रकार महासंघले कोरोना संक्रमण रोकथामकालागि फ्रन्टालाइनमा खटिरहेका पत्रकारहरुको स्वास्थ्य जाँच गराउन व्यवस्था मिलाउन माग गरेको छ ।
अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा ११ बैसाख काठमाण्डौमा बसेको बैठकले दिनरात फ्रन्टलाइनमा सक्रृय रुपले खटिरहेका पत्रकारहरु पनि संक्रमणको जोखममा रहेकोले उनिहरुको स्वास्थ्य जाँच गर्ने व्यावस्था मिलाउन माग गरेको हो ।
देशभरका जिल्लामा अग्रभागमा रहेर सूचनाको खोजी र सम्प्रेषणमा खटिरहेका सबै पत्रकारहरुलाई सम्बन्धित जिल्लामा स्वास्थय जाँच गराउन व्यावस्था मिलाउन महासंघले मा गरेको महासचिव रमेश बिष्टले बताए ।
श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक दिन र कामबाट नहटाउन चेतावनी
यसैगरि कोरोना संक्रमणको संकटपूर्ण अवस्थामा श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर र अन्नपूर्ण मिडिया ग्रुपमा आबद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रालि , एभिन्युज टेलिभिजन, राजधानी दैनिक सहितक सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघले गम्भिर ध्यानाकर्षण गराएको छ ।
महासंघले बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ ।
अनुगमन र संघर्षकालागि समिति निर्माण
अटेर गर्नेहरुको अनुगमन गरि पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्नकलागि महासचिव रमेश विष्टको नेतृत्वमा समिति पनि निर्माण गरेको छ ।
राहत उपलब्ध गराउन माग
महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ ।
सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह
सार्थै महासंघले उच्च सर्तकता अपनाएर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह पनि गरेको छ ।