मनोसामाजिक समस्या र समाधानका उपायहरू–७

कोभिड–१९ मा उदासीपन र व्यवस्थापनका उपायहरू
मञ्जीता उपाध्याय मनोविमर्शकर्ता, संयोजक–पहल नेटवर्क

कोभिड-१९को महामारीको बेला मानिसहरू विभिन्न समस्याबाट गुज्रनुपर्ने हुन्छ । त्यसकाकारण मानिसको मनमा पनि असर गर्दछ र मानिसको मनमा धेरै किसिमका समस्या आउन सक्छ । मैले यहाँहरू समक्ष योभन्दा अगाडि मानसिक स्वास्थ्यसँग सम्बन्धित केही विषयहरू त्यसबेला आउनसक्ने समस्या, जसलाई पहिलाबाटै समस्या थियो, उसलाई बढ्न सक्ने अवस्था र समाधानको प्रयास के हुन सक्छ भन्ने कुरा राखिसकेको छु ।

त्यस विषयमा मलाई यहाँहरूको जिज्ञासा, सल्लाह र सुझाव आउनेक्रम जारी छ । म त्यसकै आधारमा यहाँहरूसँग त्यस्तै खालका मनोसामाजिक वा मानसिक समस्या र त्यसको समाधानको उपायको विषयमा क्रमशः चर्चा गर्नेछु ।

कोभिड–१९ मा देखिन सक्ने उदासीपन (Depression)

यस महामारीले पारेको प्रभावको समयमा मानिसमा देखिन सक्ने समस्यामध्ये उदासीपन (Depression) पनि एक महत्त्वपूर्ण समस्या हो । यो समस्याको प्रभावमा हाल पनि हाम्रो देशभरमा धेरै व्यक्तिहरू प्रभावित छन् । समाजमा मानसिक समस्यालाई समस्याको रूपमा हेर्ने चेतना अहिलेसम्म पर्याप्त मात्रामा जागृत भएको अवस्था छैन ।

जसले बुझेको छ ऊ र उसका परिवार पनि लुकीछिपी उपचार गर्ने गर्दछन्, कसैले उपचार बीचमै छोड्ने, डाक्टरसँगको नियमित सम्पर्कमा नरहने, यस्तो समस्याजन्य विषयमा पनि समस्या भएको व्यक्ति स्वयम् र परिवारको चरम लापरवाहीको कारण पनि यस्तो समस्यामा सुधार आउन सकेको छैन ।

आत्महत्याका धेरै घटनाहरूमा ती व्यक्तिहरू उदासीपनको शिकार भएको पाइन्छ । जस्तैः उपचार गर्दागर्दै बीचमै औषधि छोडेको, औषधि खाँदाखाँदै पनि पारिवारिक तथा अन्य वातावरण उसको अनुकूल नभएको वा उसले समस्या भन्ने वातावरण नभएको वा अरुले समस्या बुझ्न नसकेको, केही त उदासीपन भएको तर उपचारनै सुरु नगरेको अवस्थामा आत्महत्या भएको पाइन्छ ।

के हो मानसिक रोग ?

उदासीपनको विषय राख्नुभन्दा अगाडि म मानसिक स्वास्थ्यको विषयमा केही कुरा राख्न चाहन्छु । विश्व स्वास्थ्य संगठनका अनुसार मानिस शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनु नै पूर्ण स्वस्थ हुनु हो भनेको छ । मानिस पूर्ण रूपमा स्वस्थ हुनलाई उसको मानसिक अवस्था पनि सन्तुलित हुुनु अति आवश्यक छ । मानसिक रोगी हुनुको एउटा कारण जैविक कारण पनि हुन सक्छ, जो जन्मिँदै मानसिक समस्या हुन सक्ने सम्भावनामा हुन्छ र पछिको विभिन्न तनावपूर्ण वातावरणले समस्या हुनलाई सहयोग गर्दछ भने अर्कै मनोसामाजिक समस्यालाई समयमैं व्यवस्थापन गर्न सकिएन भने त्यो समस्या पछि गएर मानसिक समस्याको रूपमा देखापर्छ । मानसिक रोगलाई स्पष्ट रूपमा बुझ्नलाई यसलाई दुई भागमा वर्गीकरण गरेर अध्ययन गरिन्छ ।

न्यूरोसिस (मन्ध खालको मानसिक रोग)

न्यूरोसिस भनेको मन्ध खालको मानसिक रोग हो । यसबाट प्रभावित व्यक्तिको वास्तविकतासँग सम्बन्ध टुटेको हुँदैन । यस्ता रोगीहरू आफू बिरामी भएको कुरा महशूस गर्छन् र हामी पनि तिनीहरूसँग कुराकानी गरेर धेरै हदसम्म तिनका कुराहरू बुझ्न सक्छौं ।

यस्ता रोगीहरू सामान्यतया मनोसामाजिक समस्याबाट प्रभावित व्यक्ति जस्तै लक्षणहरू देखाउँछन् । तिनीहरू सामाजिक, पारिवारिक र अन्य जुनसुुकै कामको उत्तरदायित्वहरू बहन गर्न पूर्णरूपमा असमर्थ भएका हुँदैनन्, केही हदसम्म मात्र गर्न नसक्ने भएका हुन्छन् । न्यूरोसिसको उदाहरणको रूपमा डर (Anxiety) ,उदासीपन (डिप्रेशन), हिस्टेरिया (रुपान्तरित विकृति), चिन्ता, रिस (Anger) इत्यादिलाई लिन सकिन्छ ।

साइकोसिस (कडा खालको मानसिक रोग)

साइकोसिस एउटा कडा, चर्को खालको मानसिक रोग हो । उनीहरूका अनुभव र सोचाइहरू सामान्य मानिसका जस्ता हुँदैनन् र उनीहरूको व्यवहार पनि असामान्य हुन्छ । सडकमा हामीले कतिपय माानसिक रोगीहरू देख्छौं जो वास्तविकताभन्दा टाढा हुन्छन् आफ्नो बारेमा केही ख्याल गर्न नसक्ने हुन्छन् । आफैंलाई केही पनि भएको छैन भनी सोच्दछ । यी मानसिक रोगको कुरा राखिसकेपछि म यहाँहरूसँग न्यूरोसिस अर्थात् नरम खालको मानसिक स्वास्थ्य समस्याभित्र पर्ने केही समस्याहरूमा निरन्तर चर्चा गर्नेछु ।

उदासीपन (Depression) के हो ?

उदासीनता पनि न्यूरोसिस वा नरम खालको मानसिक रोगभित्र पर्ने एक प्रकारको मानसिक रोग हो । मैले यहाँहरूसमक्ष मेरो दोश्रो लेखमा मैले मनोविमर्श गरिरहेको एक जनाउदासीपन भएको महिलाको कुरा राखेको थिएँ ।

मैले उहाँलगायत धेरै उदासीपन भएका व्यक्तिहरूसँग मनोविमर्श गर्ने अवसर पाएको थिएँ र अहिले पनि केही समस्या भएकाहरूसँग कुराकानी गर्ने क्रममा छु । मेरो अनुभवमा अहिलेको अवस्थामा हामी डिप्रेसन भएको समस्या ३ भागमा बाँडेर हेर्नुपर्छ । एउटा पुरानो समस्या निको भैसकेको थियो जुन फेरि बल्झिन सक्छ । अर्को अहिले पनि निरन्तर चलिरहेको छ र अर्काे अबको परिस्थितिले निम्त्याउन सक्छ ।

उदासीपन (Depression) का लक्षणहरूः

यो समस्या विभिन्न खालको र विभिन्न चरणमा पुगेको हुनसक्छ । सामान्य भरखर सुरु भएको, पुरानो र धेरै पुरानो समस्या हुन्छ । यसका विभिन्न तहमा देखिने आधारभूत लक्षणहरू उस्तै भएपनि अवस्थाअनुसार यसको प्रमुख लक्षणहरूको गम्भीरता फरक हुन्छ । अन्यन्त गम्भीर अवस्था नभएसम्म व्यक्ति आफूलाई समाल्ने कोसिसमा हुन्छ ।

कतिपय अवस्थामा त व्यक्तिले आत्महत्या गरेर मरिसकेपछि मात्र परिवारले उसको समस्याको गम्भीरतालाई महशूस गर्ने हुन्छ । लक्षणहरूमा एकान्तमा बस्न मन लाग्नु, दिक्दारीपन, निद्रामा गडबडी, खानामा गडबढी, तौल घट्दै वा बढ्दै जानु, कब्जियत हुुनु, बारम्बार रुन मन लाग्नु, एक्लोपन महशूस हुनु, दैनिक कामकाजमा रुचि नहुनु, आत्महत्या गर्ने सोचाई या कोशिश गर्नु, यौन चाहनामा कमी आउनु, अधिक मात्रामा खिन्न हुनु, बढी मात्रामा दिक्क लागिरहनु, जीवनप्रति नकारात्मक मनोवृत्ति, धेरै चिन्ता, शंका (आफ्नो जीवनप्रति) आदि ।

यो समस्या सुरु सुरुको अवस्थामा समस्या भएको व्यक्तिबाहेक अरुलाई थाहा हुन गाह्रो हुन्छ । र यस्तो समस्या भयो भने बिरामी स्वयम् पनि परिवार वा अन्यसँग समस्या राख्न चाहँदैन ।

उदासीपन र समाधान

व्यक्तिको तहबाटः यस समस्या भएका व्यक्तिहरूले आफू एक्लै नबस्ने, आफ्नो समस्याहरू मनमिल्ने व्यक्तिसँग भन्ने, समस्याको अवस्था हेरेर सुरु सुरुको समस्या भए मनोविमर्शबाट पनि समाधान हुनसक्छ । मनोविमर्शकर्ताको सम्पर्कमा जाने र कुराकानी गर्ने, समस्या बढी छ भने मनोचिकित्सकको सल्लाहअनुसार औषधि सेवन र मनोविमर्शलाई निरन्तरता दिने । मनोचिकित्सकको सल्लाहबिना औषधि र मनोविमर्श सेवालाई बन्द नगर्ने ।

परिवार, साथीभाइः उदासीपन भएका व्यक्तिहरू भावनात्मक रूपमा अत्यन्त कमजोर हुन्छन् । उनीहरू आफ्नो समस्या कसैलाई पनि भन्न चाहँदैनन् । जीवनसँग नै निराश भएको अवस्था हुन्छ । त्यसैले हामी सबैले हाम्रो परिवारमा वा साथीभाइको विषयमा अत्यन्त चनाखो हुनुपर्ने हुन्छ । कसैको जीवनशैलीमा केही परिवर्तन आएको छ भने सानो–सानो लक्षण विचार गर्न पर्ने हुन्छ, विशेष निगरानीमा राख्नुपर्ने हुन्छ ।

समस्याको गम्भीरता हेरेर सेवाहरू उपलब्ध गराउनुपर्ने हुन्छ । सुरु–सुरुको उदासीपनको अवस्थामा मनोविमर्श र अन्य केही थेरापीको माध्यमबाट समस्या समाधान हुनसक्छ, त्यसको लागि व्यवस्था मिलाउनुपर्ने हुन्छ । समस्या गम्भीर प्रकारको छ भने तुरुन्त मनोचिकित्सककहाँ लगेर सल्लाहअनुसारको औषधि सुरु गराउने र समय समयमा चिकित्सककहाँ फलोअपमा लानुपर्छ । औषधि खाएनखाएको निगरानी गर्ने, औषधि नछोड्न प्रोत्साहन दिनुपर्छ ।

त्यसका साथै मनोविमर्श सेवा पनि निरन्तर गर्नुपर्छ । मनोचिकित्सकले केही सल्लाहसहित औषधि दिएर पठाउने हुनाले समस्या भएका व्यक्तिका मनमा धेरै कुराहरू हुन्छन् । लामो समयसम्म कुराकानी गर्ने मनोचिकित्सको फुर्सद हँुदैन र त्यो कुराहरू हामीले जतिनै भने पनि विभिन्न कारणले समस्या भएका व्यक्तिले परिवारसँग र साथीसँग पनि सहजै भन्न सक्दैन ।

त्यसैले मनोविमर्शको निरन्तरता चाहिने हँुदा त्यो सहयोग उपलब्ध गराउने काम परिवारका सदस्यले गर्नुपर्ने हुन्छ ।

सरकारबाट गर्नुपर्ने व्यवस्थाः

शरीरिक समस्यालाई जस्तै मानसिक समस्यालाई पनि प्राथमिकतामा राखेर नीति तथा कार्यक्र्रमहरू ल्याउनुपर्ने, स्थानीय तह प्रदेश र केन्द्रिय तहसम्म मानसिक स्वास्थ्य समस्या हल गर्न संरचनाहरू निर्माण गर्ने, हरेक स्थानीय स्वास्थ्य केन्द्रमा मनोविमर्शकर्ता र हरेक जिल्ला अस्पतालहरूमा पर्याप्त मात्रामा मनोचिकित्सकको व्यवस्था गर्ने, मानसिक स्वास्थ्यको गम्भीरताको विषयमा सचेतनामूलक गतिविधि सुरु गर्ने ।

विभिन्न खालको प्राकृतिक प्रकोप र हाल जस्तो महामारीको बेला आउनसक्ने मनोसामाजिक समस्या र माानसिक समस्याबाट सबैलाई जोगाउन मानसिक स्वास्थ्यसम्बन्धी विशेष अभियानहरू सञ्चालन गर्ने । यस विषयमा विषयविज्ञसँगको छिटोभन्दा छिटो सरकारले अन्तरसम्वाद गरी योजना ल्याउन आवश्यक छ ।

तरहाल यस महामारीको प्रकोपको बेलापनि यस विषयको गम्भीरतामा सरकारको ध्यान जसरी जानुपर्ने हो त्यसरी जान सकेको छैन ।

सम्पर्क नं. ९८५२०२८६६१,इमेलः [email protected]

Loading...