विराटनगर, १० वैशाख । कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्नका लागि सरकारले लागू गरेको लामो लकडाउनले जनजीवन प्रभावित भएको छ ।

यसले दैनिक काम गरेर जीविका चलाउनेदेखि मध्यम वर्गका मानिसलाई निकै समस्या परेको छ । यस्तो अवस्थामा विभिन्न व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् ।
नेपाली सेलिब्रेटीहरूले पनि आ-आफ्नोतर्फबाट सहयोग गर्दै र अरुहरूलाई पनि आफूले सक्दो सहयोग गर्न अपिल गर्दै आएका छन् ।
यस्तैमा अभिनेत्री आँचल शर्माले पनि जोखिमको समयमा राहत वितरण गरेकी छिन् ।
उनले आफ्नो श्रीमान उदिप श्रेष्ठको साथमा लकडाउनका कारण आफ्नो ब्यबसाय गर्न नसकेका क्षेत्रपाटीमा रहेका एक सय घरलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी हुन् ।
आँचलले केही समय अघि डक्टर एवं ब्यवसायी उदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् ।
अभिनेता पल शाह, पूजा शर्मा, वर्षा राउत, दीपकराज गिरीसहितको छक्का पन्जा टिम , वर्षा सिवाकोटी, करिष्मा मानन्धरलगायतका चलचित्रकर्मीले आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन् ।