म त गाउँले हजुर !

समय बद्लिएको छ। हिजोभन्दा आजदेशकोपरिस्थिति सामान्य छैन । पहिल्यैको माहोलमा आउन अझै केही समय कुर्नुपर्छ । सामान्यतः देशमा बन्दाबन्दी छ, अर्थात् लकडाउन ।

पदमकुमार श्रेष्ठ ‘अरबिन्द’

कुनै दिन म गाउँबाट उच्च शिक्षाको लागि सहर पसेको थिएँ । हो, त्यहीँ पहिलो भेट हुन पुग्यो तिमीसँग, रातो चाइनिज ईंट्टाको चार तले घरमा । ती दिनहरुमा भन्दा फरक बनेको छआजको दैनिकी । हामीबीच धेरै मतान्तर भए पनि अहिले एउटै कुरामा भने समानता छ कि हामी दुबै आफ्नै घरभित्र छौं ।

त्यो पहिलो भेटमा तिमीले सोधेका थियौ,- गाउँबाट पहिलोपटक सहर आएको मैले बताउँदा-अहिले मेरो घरमा रहेको सिल्भरको डिक्ची जस्तै तिम्रो सुन्दर अनुहार कुच्चिएको थियो; मानौ म ककुनै नयाँ ग्रहबाट आएको थिएँ । पक्कै पनि गाउँ दुर्गम,अविकसित नै थियो । अवसरहरु सीमित थिए।स्वतन्त्रता थिए तर पनि बाध्यताहरु थुप्रै। अनगिन्ती रहरहरुको पोका बोकी थुप्रै किसानको प्रतिनिधित्व गर्दै सहर छिरेको गाउँले हुँ म ।

ठ्याक्कै पाँच वर्ष बितिसकेछ,त्यो खुम्च्याएको अनुहारसित छुट्टिएर बसेको पनि।फेरि भन्छु- म मेरै गाउँमा छु अहिले। मज्जाले घरबाहिर-भित्र,वरिपरिको खेतबारीमा घुम्न पाएको छु।बिहान- बेलुकी हरियो साग,सब्जी, तरकारीको लागि लकडाउनको सदा झैँ सदुपयोग गर्न पाएको छु।

अब भन्लाऊ गाउँमा त्यति पनि गर्न नपाए त के गाउँ भन्नु नि !हरियो सागसब्जी उब्जाउनु त बाध्यता हो नि,गर्नै पर्यो, फेरि त्यति नगरे गुजारा कसरी चलाउनु ?हो- यही सङ्कुचित सोचले त हामीबीच दरार उत्पन्न गराईदियो । हेपिरह्यौ मेरो गाउँले जीवन अनि थुप्रै गाउँलेलाई ।

अहिले म तिम्रो अवस्था एकिन गरेर भन्न सक्छु, तिम्रो दैनिकी ।कम से कम कोठाको सीमित घेराबाट बाहिर हेर्न त पाएकी छौ।बाहिरी वातावरणसँगको सम्पर्क त अझै केही दिन असम्भव प्रायः नै देखिन्छ तर मेरो जीवन तिमीले सोचेभन्दा धेरै फरक भेट्न सक्छौ । मलाई दया लाग्छ कि यस जिन्दगीमा तिमीले यस्तो ठूलोअवसर प्राप्त गर्न सकेनौ ।

सुन्दैछु- समाचारहरुमा तिम्रो सहरको मुहार पनि थोरै वैंशले भरिएको त्यो बेलाको तिमी जस्तै भएको छ रे।उज्यालो चमकता अनि गम्भीर थोरै चन्चलताबाट परिपक्व अनि धेरै सुनसान । सँगैको घरमा कुराकानी गरेको नि प्रष्ट बुझिने गरि त्यत्रा मानिसहरू कसरी बसेका होलान् है?खैर,त्यो पनि बाध्यता नै हुनुपर्छ । केहीवर्षपहिले तिमीले भेटेकी “म” गाउँले जस्तै ।

बिहानीको सुरुवात र त हिजोआज मोबाइलको स्क्रिनबाटै हुन्छ होला अनि दिनको अन्त पनि । तर यतिबेला मेरो गाउँमा त फरकफरक बास्ना सहितको कुटो,कोदालोसँग हात मिलाउँदै स्वच्छ श्वासप्रश्वाससँग अङ्कमाल गरेर सुरु गरिन्छ। बारीका फाँटहरु मकै,सागपातले ढाकिएका छन् ।अझै भनौं ठ्वास्स गनाएको त्यो बेलाको तिमीले प्रयोग गरेको महङ्गो सेन्टभन्दा आकाशे पानीले जब भुईको माटोसँगचुम्बन गर्छ नि, हो त्यही माटोको बास्ना सयौं गुणा मीठो लाग्छ।मकै गोड्दा आउने हरिया पातहरुको बास्नासहितको हावा, आहा !

दिउँसो कहिले सोफा, कहिले ओछ्यान,कहिले टिभिको रिमोट थिच्दै भुईंमा खुट्टा बजार्नुपरेको छैन, तिम्रो जस्तै।अहिले त म गोठालो भएको छु,आफ्नै गाई बस्तु,बाख्राहरुको । त्यो पनि आफ्नै घरसँगैको बारीमा।अब त्यो पनि हिँड्न नपाएको यो अवस्थामा, मज्जाले तिदु(एक फल) खाँदै गफिँदै मेरा यही साथीहरूसँग। जुन तिम्रो राती १० बजेपछिको फोन बार्तालापभन्दा हजार गुणा उत्तम छ ।

गर्मी छ, बाहिर चर्को घाम, कहिलेकाहिँ असिना पानी पनि ।असिना पानी पर्दा समातेर फोटो खिच्दै ‘लापग्ल्यो त’ भनेर छक्क पर्ने तिम्रा ती टिठलाग्दो अनुहार साँच्चै सहरीया देख्दथेँ म । सपिङ मलबाट किनेर ल्याएको पप कर्नको साथमा फ्रीजबाट निकालेको चिसो देखाउँदै तिमी नि खान्छौ र ? भनेको सम्झँदै भन्छु-अहिले खाँदै छुगोठालोबाट फर्केपछि आमाकै हातले हाँडीमा भुटेको मकै,मटमास र आफ्नै घरको ठेकीमा मथेको भैंसीकोदहीबाट बनेको मोही ।फेरि तिम्रो जस्तो खाजा खाएपछि छतमा उफ्रँदै- चिच्याउँदै नाच्न ठूलाठूला आवाजमा बज्ने अङ्ग्रेजी धुन छैन यता । यता त हातमा कोदालोसँगै बारीको वरिपरि चिर्बिराउने चराहरुको मसिनो स्वरमा नाच्दछु म, न लुकेरै न कसैको रोकतोक।

बारीमा प्रसस्त आलु,साग,काउली,गाजरजस्ता तरकारी उब्जाएकोले गाह्रो छैन।मुला,पुदिना,धनियाँ,लोकल गोल्भेंडा अचारको रूपमा ।भैंसीको दूध,घ्युले भोकमा भोजनलाई अझै बढी स्वाद थपिदिन्छ।त्यसैले त दिनभर खटिन सकिएको छ । शरीर फुर्तिलो भैरहेको छ।

तिमीलाई बिहान उठ्ने बित्तिकै लकडाउनले प्रभाव पारिहाल्छ र छत/बन्द कोठामा मर्निङवाकसँगै दिनभर समय कटाउन तनाव हुन्छ । तर मेरो खुल्ला आकाशको छानामुनि शारीरिक व्यायाम सुरू हुन्छ घरको कोठा भित्र होइन।

सुनियो,हिजोआज तिमीले पनि कौसी खेती गर्नुपर्छ भन्ने बुझ्दै छौ रे ।पहिले पहिले नगरे पनि लकडाउनले सकारात्मक परिवर्तनसहितको फोटाहरु खोज्दै फेसबुकतिर पोस्ट्याउन थालेछौ । जुन कुराले मलाई खुशी बनायो र सोच्दै भन्न थालेको छु-घैंटोमा घाम लागेकै हो त ?

अँ साच्चै ! तिमी त खेतीपाती गाउँलेले गर्ने-पढ्ने कुरो हो, त्यसैले त त्यो गाउँले हाम्रो घरमा आएर बसेको छ, भनेर तिम्रो ड्याड- ममलाई सुनाउँथ्यौ ।आज आफैंले कौसी खेतीको बारेमा बुझ्न पसले दिदीसँगमेरो नम्बर मागेर फोन गर्यौ नि है ?गाउँलेसँग थप सहयोग चाहिए अप्ठ्यारो नमान्नु है । आफू त गाउँले परियो हजुर!

* लेखक: इन्टरनेशनल सीड रिसर्च एन्ड ट्रेडिङ सेन्टर (आई-सीड) मा कार्यकारी निर्देशक हुनुहुन्छ।

सम्पर्क: ९८४१६७६१८९

Loading...