आधा लिटर तेल दुई जनाले बाँड्नुपर्ने कस्तो राहत हो ?

आभास बुढाथोकी

चाइनाको हुबेइ प्रान्तको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएको नोवल कोरोना भाइरस (कोभिड-१९) अहिले विश्वभर नै महामारीको रूपमा फैलिइसकेको छ । उक्त भाइरसको कारण विश्वभर २५ लाख ५० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै निको भएर घर फर्किने पनि ७ लाखभन्दा बढी छन् ।

धेरै देशहरूले कोरोनाको संक्रमणबाट बच्न लकडाउन गरेपछि र कोरोनाबाट बच्ने सबैभन्दा उपयुक्त औषधि नै लकडाउन हुने भएकोले नेपालमा पनि गत वर्षको चैत्र ११ गतेबाट लकडाउन गरियो । लकडाउनको कारणले गर्दा कल कारखाना, उद्योग, व्यवसाय सम्पूर्ण ठप्प रहेकोले गर्दा जनजीवन कष्टकर भएको छ । मजदुरहरू सबैभन्दा बढी समस्यामा परेका छन् ।

तेस्रोपटक लकडाउन अवधि थप गरेर अहिले वैशाख १५ गतेसम्म पुर्‍याइएको छ र लकडाउन अझै कति दिनसम्म बढ्ने भन्ने टुङ्गो नै छैन । कोरोनाको सङक्रमण फेला परेको लगभग ५ महिना पुग्न लागिसकेको छ र यसको औषधि बन्ने नबन्ने अन्यौल नै रहेको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ४२ पुगेको छ, जसमध्ये निको भएर ५ जना घर फर्किसकेका छन् र अहिलेसम्म कुनै दुःखद घट्ना घटेको छैन । कोरोना भाइरसको पीडा एकातिर छँदैछ तर ज्यालादारी गर्ने मजदूर र विपन्न परिवारहरूको भने छुट्टै पीडा रहेको छ । नेपालमा लकडाउन भएको झण्डै १ महिना पुग्न लाग्दा, उनीहरूलाई दुई छाक खाना खान हम्मेहम्मे परेको छ ।

केही कमाई गर्न भनेर सहर आएका मजदूरहरूले लकडाउनको कारण न त अहिले काम नै पाएका छन् न त घर नै जान पाएका छन् । सहर मै बसुँ भने पैसा छैन, ठेकेदारहरूले लकडाउनको बहाना पारेर पैसा दिएका छैनन् । उनीहरू अहिले भोकमरीले मर्नुभन्दा बरू कोरोना लागेर मर्नु ठीक भनेर जबरजस्ती सहरबाट हिँडेरै गाउँतिर लागेका छन् ।

नेपाल सरकार तथा मन्त्रीपरिषद्को निर्णयअनुसार विपन्न परिवारलाई खान समस्या नहोस् भनेर राहत प्याकेज बनाएर मापदण्ड तयार पारियो । विपन्न परिवारलाई राहत बाँड्ने पूर्ण जिम्मा स्थानीय सरकारलाई दिइएको छ । मापदण्डअनुसार एक परिवारलाई राहत अनुरूप चामल-३० किलो, दाल- ३ किलो, नुन- २ प्याकेट, खाने तेल- २ लिटर, साबुन- ४ वटा, चिनी- २ किलो दिने उल्लेख छ ।

परिवारमा दुई जनासम्म सदस्य छ भने मापदण्ड अनुसार आधा मात्रै राहत दिन पाइन्छ भने दुईजना भन्दा बढी सदस्य छन् भने पूरा राहत दिनुपर्ने मापदण्डमा उल्लेख छ । मन्त्रीपरिषद्को निर्णयले तयार पारेको मापदण्डमा सो कुरा उल्लेख भएपनि विपन्न परिवारले मापदण्डअनुसार राहत पाएका छैनन् । राहतको नाममा आधा लिटर तेल दुई जनाले बाँड्नुपरेको समाचार फैलिएको छ ।

कतै १ पोका नुन ३ जनालाई बाँडेर खानू भनिएको छ भने कतै ४ किलो चामल बाँडिएको छ । कतै एउटा साबुन मात्र दिइएको छ भने कतै केही पनि बाँडिएको छैन । घरमा भात पकाएर खान पाउनु पनि एकादेशको कथा भनेझैं भएको छ उनीहरूलाई । तर प्रधानमन्त्रीले भने राज्यकोषबाट ८० करोडभन्दा बढीको राहत बाँडिसकेको दावी गरेका छन् ।


कोरोना रोकथामको लागि भनेर विभिन्न राहत कोषहरूको स्थापना गरिएको छ । केन्द्रीयस्तरदेखि प्रदेश तथा स्थानीय तहसम्म राहत कोषको स्थापना गरिएको छ र कोषमा पनि निकै रकम जम्मा भैसकेको छ र हुने क्रम जारीनै छ । तर कोषमा जम्मा भएको रकम के कति कुरामा प्रयोग भइरहेको छ भन्ने नै एउटा चासोको विषय बनेको छ ।

राहतको नाममा कतै कुहिएको खाद्यान्न बाँडिएको छ त कतै जनप्रतिनिधिले आफ्ना चिनेजानेका मानिसहरूलाई मात्र दिएको खबर पनि सुन्नमा आएको छ। केन्द्रीय सरकारले स्थानीय तहलाई राहत बाँड्ने जिम्मेवारी दिइसकेपछि कतिले मापदण्डअनुरूप राहत पाए पाएनन् भनेर निरीक्षण गर्नु पनि उतिनै जरूरी देखिन्छ।

अहिले एउटा खबर पनि सुन्नमा आएको छ कि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले निर्वाचित प्रत्येक सांसदले प्राप्त गर्ने गरेको ६ करोड रकमको काम हुन बाँकी चालु आर्थिक वर्षको रकम कोरोना कोषमा राख्न समर्थन जनाएका छन् रे । कोषमा मात्र रकम जम्मा गरेर सफलता हासिल गरिँदैन, उक्त रकमलाई सही सदुपयोग गर्न सक्नुपर्छ ।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले मान्यता नदिएको र्यापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) किटकिन्न मात्र कोषको रकम प्रयोग नगरियोस्,कोरोना संक्रमण सँगसँगै अर्को भोकमरी संक्रमण पनि देखिन सक्ने सम्भावना रहेको छ। विपन्न परिवारहरूको भोकमरीको समस्या सामाधान गर्नेतर्फ पनि सरकारको ध्यान जान जरूरी छ ।

कोरोनाले नै झुक्याइरहेको बेला र्‍यापिड टेस्ट कतिको उपयुक्त हुन्छ त ?

सरकारले ओम्नी समूहसँग सम्झौता गरेर ७५ हजार थान र्‍यापिड डायग्नोष्टिकटेस्ट (आरडीटी) किट चाइनाबाट ल्यायो जुन विवादास्पद रह्यो । विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको र उक्त विधिबाट गरिएको टेस्टको नतिजा सही नहुने भन्दा भन्दै पनि नेपालमा सोही विधिबाट परीक्षण गर्न सुरू गरिएको छ ।

अरू देशहरूले पनि आरडीटी प्रयोग गरेको बताउँदै अहिले नेपालकोलगभग सबै जिल्लामा परीक्षण गर्न सुरू गरिएको छ । आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएर फेरि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको र आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएर पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ आएको घटना पनि छ ।

कोरोना भाइरसको उद्गम थलो चाइनामा कोरोना साम्य भैसकेको केही सातापछि फेरि नयाँ संक्रमित फेला परेका छन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्केकामा पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोनाको लक्षण कति दिनपछि देखा पर्ने भन्ने बारेमा पनि अन्यौल नै छ । यस्तो अवस्थामा आरडीटी विधिबाट परीक्षण गर्नु कतिको उपयुक्त हुन्छ र यो विधिले झन संक्रमितको संख्या बढाइरहेको त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।

Loading...