मन्त्री कुसियैतको नेतृत्वमा आपूर्ति समिति गठन

विराटनगर, १० बैशाख । लकडाउन (बन्दाबन्दी) को समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्ति तथा विक्री वितरण व्यवस्थित गर्न प्रदेश १ सरकारले आपूर्ति व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतको संयोजकत्वमा गठित समितिले प्रदेशका १४ वटै जिल्लाका १३७ पालिका भित्रको आपूर्ति व्यवस्थापनको नियमित र सहज तुल्याउने जिम्मेवारी पाएको छ ।

यस्तै समितिले दैनिक उपभोग्य वस्तुको मागको प्रक्षेपण र आपूर्तिका लागि उत्पादक वा सम्भावित आपूर्तिकर्ताको पहिचान गरी सहज आपूर्तिको सुनिश्चितता गर्ने, खाद्यान्न, ‍औषधी, हरियो सागसव्जी, पेट्रोलियम, एल।पि।जी। ग्यासलगायतका वस्तुको नियमित आपूर्तिको सुनिश्चितता गर्ने, संकटको समयमा जमाखोरी, कालोबजारी, मूल्यवृद्दि लगायतका गैरकानूनी गतिविधि हुन नदिन अनुगमन, नियमन तथा तत्काल कारवाहीको व्यवस्था मिलाउने, दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग संचालन गर्ने प्रवन्ध मिलाउने जस्ता विषयमा केन्द्रित भई प्रदेश भित्रको बजारलाई स्वच्छ र आपूर्तिलाई नियमित र सहज बनाउने समितिका संयोजक तथा उद्योगमन्त्री कुसियैतले बताए । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

लकडाउनका कारण किसानको उत्पादन खेत खेतमै कुहिन थालेपछि त्यसलाई उपभोक्तासम्म पुर्याउने काम सुरु भएको छ । कटहरी गाउँपालिका–१ मा निर्माण गरिएको फलफुल तथा तरकारी थोक बजार केन्द्रबाट संकलित तरकारीको विक्री सुरु गरिएको हो ।

मोरङमा कटहरीकै किसानहरुले उत्पादन गरेको सयौं टन तरकारी बारीमै कुहिन थालेको थियो । आइतबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाबीच किसानको बारीमै कुहिन थालेको तरकारी तत्काल टिपेर संकलन गरी बजारमा पुर्याउन सहजिकरण गर्ने निर्णय गरेको थियो । उद्घोष दैनिको अनलाइनमा खबर छ ।

Loading...