लकडाउनमा मनोसामाजिक समस्या र समाधानका उपाय–६

मञ्जीता उपाध्याय मनोविमर्शकर्ता, संयोजक–पहल नेटवर्क

महामारीको बेला हुनसक्ने मनोसामाजिक समस्या र आत्महत्या

मलाई केही सुझाव र जिज्ञासा आउने क्रमजारी छ । जसको आधारमा म यहाँहरूसामु अर्को विषयवस्तु राख्दैछु । काठमाण्डौंको सनसिटी अपार्टमेन्टको घटना र त्यहाँ बस्ने मानिसहरू, उनीहरूका आफन्तहरू, छेउछाउका छिमेकीहरू, तपाईं–हामी सबै साथै सरकारको लागि पनि त्यो घटना एउटा त्रास वा तनावको विषय बनेको थियो ।

त्यस्तै अर्काे विषय उदयपुरको भुल्केको मस्जिदमा १२ जना साथै पछि १ गरेर १३ जना संक्रमित भेटिएपछि त्यस मस्जिद छेउछाउको समुदायमा देखिएको तनाव वा त्रास, जनकपुरमा २ जना मुस्लिम महिलाहरूले पैसा छर्दै हिँडेको हल्लापछि जनकपुरमा आमसमुदायमा देखिएको त्रास वा तनाव साथै सुनसरीमा १३ वर्षको बालिकाले गरेको आत्महत्या र भोजपुरमा नवविवाहित जोडीले गरेको आत्महत्या, यी सबै अहिलेको समयमा हाम्रो समाजमा देखिएका प्रतिनिधि घटनाहरू हुन् ।

कोभिड–१९ संक्रमणको बेला अभावको अवस्थाः

हालको परिवेशमा संक्रमितहरू बढ्दै जाँदैछन् । सरकारले लकडाउन कडा बनाउँदै लगेको छ र हामी नागरिकको कर्तव्य पनि लकडाउनको पूर्णपालना गर्नु हो । तर अब हामी हाम्रो समाजमा भएका परिवारहरूको विश्लेषण गरौं । हाम्रो समाजमा कोही कृषक, कोही स्थायी जागिरे, अस्थायी वा ज्यालादारीमा काम गर्ने, मजदूर, व्यापारी (साना दैनिक व्यापार गरेर खाने, मझौला र ठूला व्यापारीहरू) लगायत विभिन्न खालका पेशामा आवद्ध भएका छौं ।

यी सबै परिवारको पेशा हेर्दा केही परिवारबाहेक धेरैले दैनिक रूपमा काम गरेपछि मात्र खान पुग्ने देखिन्छ । लकडाउन भएको महिना दिन हुन लागिसकेको छ । जसको घरमा १ दिन काम नगर्दा चुल्हो जल्दैन थियो, त्यस परिवारमा तनावको अवस्था के होला ? साना व्यापार गर्नेहरूमा पनि धेरैको व्यापार बन्द छ ।

दैनिक खाद्य र तरकारी बेच्नेहरू पनि त्रासपूर्ण वातावरणमा हामीलाई सेवा दिइरहेका छन् । अस्थायी ज्यालादारीमा वा अस्थायी काम गर्नेहरूलाई पनि आजको दैनिक समस्या त छँदैछ भोलि के होला ? काम रहला कि नरहला ? भन्ने चिन्ता छ । ठूला व्यापारीहरू धेरैजसो ऋणमा व्यापार गरिरहेको अवस्था छ । आफ्ना सारा व्यापार व्यवसाय ठप्प हुँदा कामदारलाई दिने तलब र बैंंकको ऋणले तनाव बढाइरहेको अवस्था छ । यी सबै अहिलेको समाजको वास्तविक स्वरुप हो ।

यस्तो परिवेशमा निम्तिन सक्ने समस्याहरूः

यस्तो परिवेशमा हामीले केही कुरामा ख्याल राख्नुपर्छ । जो पहिलेबाटै तनाव, मनोसामााजिक समस्या, उदासीपन, डर, रिस, शंका जस्तो समस्यामा छन्, उनीहरूमा यस बेला त्यस्तो समस्या झन् बढेर जाने हुनसक्छ भने माथिउल्लेख गरे जस्तै काठमाण्डौंको सनसिटीको त्रासपूर्ण वातावरण, उदयपुरको भुल्केको घटनापछिको त्रासदी, जनकपुरको वातावरण आदिले उनीहरूको मनमा झन् लामो समयसम्म असर गर्नेछ ।

अहिलेको लकडाउनमा माथि उल्लेख गरिएका पारिवारिक अवस्थाबाट हामी के विश्लेषण गर्न सक्छौं भने लुकेर बाहिर नआएका समस्याहरू धेरै छन् जो व्यक्त हुन सकिरहेको छैन । समस्या बताउन सक्ने वातावरण छैन तर त्यसको केही परिणाम हामीसमक्ष देखिन थालेको छ ।

जसमा विभिन्न स्थानमा घरेलु हिंसाको, बलात्कारको, आत्महत्याको घटना बढेको अवस्था छ । तनाव, त्रासपूर्ण वातावरण आदिले व्यक्तिलाई विकल्पहीन बनाइदिन्छ र ऊ हिंसा, मृत्युलाई रोज्न बाध्य हुन्छ ।

आत्महत्याका केही कारणहरूः

आत्महत्यालाई मनोविज्ञहरूले अलि फरक तरिकाले हेर्ने गरेका छन् । केही मनोविज्ञहरूका अनुसार आत्महत्या भनेको समस्यामा परेका व्यक्तिले सहयोगको लागि गरेको याचना हो । यसलाई अर्को तरिकाले भन्नुपर्दा कुनैपनि व्यक्तिलाई लामो समयसम्म समस्याले सताइरह्यो र उसको व्यक्तिगत सामनाको रणनीतिले त्यस समस्या समाधान गर्न सकेन तर त्यो समस्या अति नै पीडादायक छ भने यस्तो अवस्थामा व्यक्तिको लागि समस्या झेलेर बस्न असह्य हुन्छ । अनि उसले अरुले आफ्नो समस्या बुझेर सहयोग गरून् भन्ने अपेक्षा राख्छ ।

तर जटिल खालको समस्या भएका व्यक्तिहरू आफ्ना समस्या अरुलाई पोख्न सक्दैनन् वा कहिलेकाहीँ परिवार नै पीडा दिने व्यक्तिको रूपमा रहेको हुन्छ । त्यस्तो अवस्थामा उसले आफ्नो वेदना पोख्ने ठाउँ पाउँदैन र समस्या समाधानको रूपमा अन्तिम विकल्प आत्महत्या नै हो भन्ने निर्णय गर्न पुग्छ ।

मैले केही आत्महत्याको विचार आएका र आत्महत्या प्रयास गर्दा असफल भएका व्यक्तिहरूसँगको मनोविमर्र्शबाट एउटा कुरा के बुझेको छु भने योजना बनाएदेखि कार्यान्वयनको अन्तिम चरणमा पुग्दासम्म पनि त्यस्ता व्यक्तिहरूमा आफ्नो आत्महत्याको योजनाबारे कसैले थाहा पाएर भावनात्मक सहयोग गरून् भन्ने आशा रहन्छ ।

आत्महत्या गर्न लागेको व्यक्तिको भावना तथा व्यवहारमा केही परिवर्तनहरू आएको हुन्छ । तिनीहरू प्रायः आफ्नो जीवन मूल्यहीन भएको महशुस गर्छन् । आफ्नो वरिपरि घोर अन्धकार मात्र भएको, कसैलाई आफ्नो खाँचो नभएको, बाँच्नुको कुनै उद्देश्य नरहेको, आफू धर्तीको बोझ भएको, म मरे अरुलाई आनन्द हुन्थ्यो, अब मर्नु नै मेरो समस्याको एक मात्र समाधान हो भन्नेलगायतका भावनाहरू उनीहरूको मनमा आइरहेको पाइन्छ । तपाईं हामीले हाम्रो समाजमा पनि थुपै्र आत्महत्याका घटनाहरू देखेका, सुनेका छौं ।

ती अधिकांश घटनाहरूमा त्यो व्यक्ति पहिलाबाट नै डिप्रेसनको शिकार भएको र कति त औषधि सेवन गरिरहेका व्यक्तिहरू हुन्छन् । किन औषधि सेवनगर्दा गर्दै पनि व्यक्ति आत्महत्या गर्न बाध्य हुन्छ त ? किनभने उसको मनोबल कमजोर भएको हुन्छ । मनोचिकित्सक (जो उसको डाक्टर) ले उसलाई औषधि र केही सुझाव दिएको हुन्छ त्यसबाहेक पनि उसलाई तनावरहित पारिवारिक तथा सामाजिक वातावरण र मनोविमर्शकर्ताको सहयोगको आवश्यकता हुन्छ ।

आफ्नो मनका कुराहरू राख्नसक्ने सहज वातावरणको आवश्यकता हुन्छ । तर मनमा भएका समस्या÷तनावलाई राख्नसक्ने हाम्रो परिवारिक संरचना वा सामाजिक संरचनानै छ्रैन । सरकारी तवरबाट मानसिक समस्या र मनोसामाजिक समस्यालाई अहिलेपनि समस्याको रूपमा प्राथमिकतामा राखिएको छैन ।

तसर्थ आफूभित्र पहिलेबाट भएका समस्या, अहिलेको कोभिड–१९को महामारीको त्रास, अभाव, आफन्तको बिछोड, आर्थिक अभाव, आपसी मनमुटाव, खाली दिमाग आदिले पनि मानिसहरू आत्महत्या गर्न बाध्य हुने अवस्था छ । देशभरकै घटनालाई हेर्दा १३ वर्षकी बालिकादेखि नवविवाहित जोडीसम्मले हालै मात्र आत्महत्या गरेको पाइन्छ ।

महामारीको बेला आत्मबल बढाउने उपायहरूः

कोभिड–१९ को महामारीको बेला मानिसको मनमा भएको डर, त्रासलाई घटाएर व्यक्तिहरूमा आत्मबल बढाउनका लागि केही उपायहरू यस्ता छन्ः– व्यक्ति स्वयंले आफूलाई कुनै न कुनै सकारात्मक कुरामा व्यस्त राख्ने, योग–ध्यान, व्यायाम गर्ने, आफूलाई परेको समस्या र अभावको विषयमा लाज नमानिकन आफ्ना परिवारका सदस्य तथा आफ्ना शुभचिन्तकलाई भन्ने ।

त्यसैगरी परिवार र शुभचिन्तकले परिवारभित्र, साथीभाइ र समाजमा अहिलेको अवस्थामा केही समस्या त परेको छैन भन्ने कुरामा सतर्क रहने । दैनिक खानपिनदेखि लिएर अन्य किसिमका अभाव त छैन वा शारीरिक तथा मानसिक कुनै समस्या त भएको छैन भन्ने कुरामा ध्यान दिने र सहयोग गर्ने, पूर्वाग्रहहरू नराख्ने । यस्तो बेला तपाईं हाम्रो सानो सहयोगले व्यक्तिको जीवन बाँच्न सक्छ, ऊ स्वस्थ र तनावरहित बन्न सक्छ ।

सरकारले गर्नुपर्ने समाधानका व्यवस्थाहरूः

राहतलाई व्यवस्थित तरिकाले वितरण गर्नुपर्ने हुन्छ । दैनिक उपभोगका सामाग्रीहरू बिक्री गर्नेका लागि भयरहित वातावरण निर्माण गरिदिनु पर्छ । विभिन्न खालका ऋणहरूमा लाग्ने ब्याज यस अवधिभरका लागि छुट गर्नुपर्छ । विदेशमा पढ्न गएका छोराछोरी वा आफन्तका लागि रकम पठाउन सहज बनाइनुपर्छ । कुनै पनि स्वास्थ्य समस्या परेको बेलामा सहज रूपमा स्वस्थ्य सेवा पाउनसक्ने अस्पतालहरूमा वातावरण बनाउनुपर्छ ।

विभिन्न टोलटोलमा सरकारले सूचना प्रवाह गर्नुपर्छ । जसमा कोही समस्यामा वा अभावमा भए सम्पर्कको लागि हटलाइनको व्यवस्था गरी सो हटलाइनमा नागरिकलाई समस्या राख्ने र सहयोग पाउने वातावरण सृजना गर्नुपर्छ । मनोसामाजिक कार्यकर्ता, मनोविमर्र्शकर्ता र मनोचिकित्सकको धेरैभन्दा धेरै परिचालन गरी समाजमा भएका व्यक्तिहरूमा विभिन्न कारणबाट भएका तनाव, भय, त्रास, डर, रिसका साथै हिंसा, दुर्व्यवहार र आत्महत्यालाई रोक्न सक्ने वातावरण बनाउन आवश्यक छ ।

यो प्रयास एउटा जिम्मेवार नागरिक भएर, जिम्मेवार परिवारको सदस्य भएर, एउटा असल शुभचिन्तक भएर र जिम्मेवार सरकार भएर अहिले नबुझे कहिले बुझ्ने, अहिले यसको थालनी नगरे कहिले गर्ने ??

सम्पर्क नं. ९८५२०२८६६१, इमेलः [email protected]

Loading...