राजनीतिमा अस्थिरताको शिलान्यास, समाजवादी पार्टी फुटाउने योजना

काठमाडौं, ९ बैशाख । स्थिरताको अपेक्षा गरेका जनतालाई निराश बनाउँदै नेपालको राजनीतिमा अस्थिरताको शिलान्यास भएको छ । ऐतिहासिक दुईतिहाइ जनमतबाट निर्वाचित सरकारले अहिले संसद्मा रहेको समाजवादी पार्टी फुटाउने योजना मात्र बनाएको छैन, भविष्यमा अरू दल पनि फुट्ने अभ्यासको पुनरावृत्ति गर्दै छ । यसरी कोरोना महामारीविरुद्ध देश एकजुट भएर संघर्ष गर्नुपर्ने वेला सरकार टुटफुटको राजनीतिमा लागेकोमा धेरैले आलोचना गरेका छन् ।

कुनै दल विभाजन गरेर नयाँ दल दर्ता गर्दा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने कानुन थियो । तर, सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गरेपछि अब केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुगे दल विभाजन गर्न र नयाँ दल दर्ता गर्न मिल्ने भएको छ ।

डा। बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टी फुटाउने उद्देश्यका साथ सरकारले दल फुट्नेसम्बन्धी कानुन संशोधन अध्यादेश ल्याएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को संयुक्त अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्ने निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराउनुभएको र तत्पश्चात् अन्य नेताहरुले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भ लगायतमा आआफ्नो धारणा राखेका छन् । छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भयो पनि जारी विज्ञप्तिमा उल्लेख छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...