शहरमा ‘फ्याटीय’ र ‘बोसीय’ चर्चा (लकडाउन व्यंङग)

भवानी बराल

आजकल शहरमा फ्याटीय र बोसीय दुई शब्दको खुबै चर्चा छ । हुनत यी दुबै शब्दको भर्नाकुलर अर्थ त एउटै होला, तथापि दुबैलाई प्रचलनमा ल्याउँदा त्यो शब्दले दिने अर्थको गरिमा झनै बढेर जाने देखिएरै होला जानिफकारहरुले प्रयोग गरिरहेका छन् ।

चलनचल्तीमा यस्तो प्रयोग नेपाली भाकामा चल्दै आएको पनि हो । भातभन्दा बुझिए पनि जसरी भातको पछाडि अर्थ न वर्थको ‘सात’ शब्द लगाएर ‘भातसात’ भनिन्छ । यसरी नै ‘तिहुनसिउन, मासुसासु आादिउदी’ । यस्ता धेरै शब्दका पछाडि बेअर्थको फुर्को शब्द झुण्ड्याउने चलन छ ।

तर यहाँ ‘फ्याटीय’ र ‘बोसीय’ दुई शब्द प्रयोग हुनुपर्ने कारण अर्कै छ । कसैले पनि बुझ्न बाँकी नरहोस् भन्ना खातिर नै दुबै शब्द प्रयोग गरिएको होला ।

‘फ्याटीय’ भन्दा ‘फ्याट’ बुझोस ‘बोसीय’ भन्दा ‘बोसो’ भन्ने पनि बुझोस् । अझ अंग्रेजी र नेपालीमा एउटै अर्थ दिने शब्दलाई धेरै भाषामा भनेर भाषाामा कमाण्ड रैछ भन्ने धक्कु पनि प्रमाणित हुने अभिलाषा पनि हुनसक्छ ।

ए फलाना त एउटै शब्द धेरै भाषाामा उच्चारण गर्ने सक्ने रहेछ भन्ने भान पार्न पनि यसो गरिएको होला । नेपाली भाषामा ननस्टप एक्सप्रेस अंग्रेजीमा पैदल रैछ भन्ने किन पार्नु ?

कोरोना प्रकरण कै कारण यहाँ फ्याटीय र बोसीय शब्दको प्रयोग, उपयोग, आविष्कार जे भनौं हुन पुग्यो । कोरोनाको ढाडमा फ्याट अर्थात बोसो भएकोले कोरोनाको ढाड भाँच्न साबुनको बोसो दल्नु उपयुक्त हुने चिकित्सा विज्ञानको ठहर छ ।

साबुनले बारम्बार हात धुए कोरोनाको मेरुदण्ड चिलिमच्वाँट हुने ब्यापक प्रचार छ । यसरी यहाँ फ्याटीय र बोसीय शब्द उत्पन्न भएको हो ।

अब यो नौलो कुरा पनि भएको छ । अंग्रेजी शब्द फ्याट र नेपाली शब्द बोसोमा ‘इय’ प्रत्यय लागेर फ्याटीय र बोसीय हुन पुगेको छ । अंग्रेजी शब्दमा सायद पहिलो पटक नेपाली वर्णमालाको ‘इय’ प्रत्यय सफलतापूर्वक प्रयोग भएको छ ।

उहिले नै उहिले धेरे पहिले त होइन केही शताब्दी अगाडि भनौं श्यामस्वेत (ब्ल्याक एण्ड ह्वाइट) चलचित्र (फिलिम) मात्र बन्दथ्यो ।

सूचना प्रविधिको विकाससँगै रंगिन फिलिम पनि बन्न थाल्यो । यसै मेसोमा सिनेमा हलका प्रचारकले माइकिङ्ग गर्दा यस्तो फिलिमको प्रचार यसरी गर्दथे‘तपाइँको शहरमा, फलाना चलचित्र हल (मन्दीर, टाकीज) मा फलानाद्बारा अभिनित, फलानाद्बारा निर्मित इस्टमेन कलरमा सम्पूर्ण रंगिन चित्र सपरिवार आई हेरिदिन हुन हार्दिक अनुरोध गर्दछ‌ौं ।‘

तिनले पनि ‘इस्टमेनकलर’ भनिसकेपछि ‘सम्पूर्ण रंगिन’ भनिराख्नु पर्ने जरुरी चैं थिएन । तर आवश्यकता भने अवश्य थियो ।

किनभने इस्टमेनकलर भनेको सम्पूर्ण रंगिन हो होइन सबै फिलिम दर्शकले नबुझ्न सक्थे । इस्टमेनकलर भनेको इस्टमेनकलर हो किनभने इस्टमेनकलरलाई सम्पूर्ण रंगिन हो होइन जनतामा जानकारी भैसकेको थिएन । ‘लास्ट’ शब्दको ‘अन्तिम’ शब्दमा बरबुजारथ नभए जस्तो ।

जसरी यतिबेला नेपाली जनताले लक डाउनलाई राम्रो काइदाले बुझ्न सकेका छैनन् । लकडाउन भनेको नबुझेरै होला दिनहुँ पुलिसका कठबाँसले चाक सेकाको सम्चार आइरहन्छ ।

पुलिसले तातो घाममा राखेर नागरिकलाई कोरोनाको पुराण सुनाएको सुनिन्छ । प्राथमिक पाठशालामा छात्रहरुले कान समाएर उठबस गरेझैं प्रवुद्ध नगरवासी अनुशासित छात्रछात्रा झैं त्यसै गरेको सम्चारले फेसबुके भित्तो रंगिएको छ ।

लकडाउन भनेको लकडाउन हो किनभने लकडाउनलाई लकडाउन भनिन्छ । यस्तो काँठे परिभाषाले लकडाउन बुझिँदैन । यसर्थ लकडाउन भनेको बन्दाबन्दी हो किनभने बन्दाबन्दीलाई लकडाउन भनिन्छ ।

अझ यसको ब्रेक डाउन ब्याख्या छोटकरीमा यस्तो हुन्छः लकडाउन भनेको सर्वप्रथम मुख डाउन त्यसपछि स्वत चाक डाउन हुने हो । यसपछि हरिनास लागेर सिद्रा सरह सुक्दै परमधाम जाने रेसम मार्ग तय गर्ने हो । कोरोनासले भन्दा अघि हरिनासले सक्ने सम्भावना भएकोले यसको नाम बन्दाबन्दी हुन गयो ।

अन्त्यको लाष्टमा फ्याटीय भनेको बोसीय नै हो किन भने बोसीयलाई फ्याटीय भनिन्छ । यस हिसाबले फ्याटीय र बोसीयलाई बुझियो भने कोरोनाबाट बुझ्न कठिन हुने छैन ।

शहरमा आज यिनै दुई शब्दको भेउ नपाएर नेपाली जनता हैरान परेशान छन् । तिनकै मुक्ति दिमागी भेजाबाट उन्मुक्ति गर्ने तरफ यी हरफ हुन् । कोभामुक्षे अर्थात कोरोना भाइरस मुक्त्त क्षेत्र घोषणा गर्नु हाम्रो लक्ष हो ।

“यो लेखोट पढ्नेलाई फुलको माला । पढेर अरुलाई सुनाउनेलाई सुनको माला । लाइक, कमेण्ट र शेयर गर्नेलाई डाइमण्डको माला । यो कथा ब्रम्हाण्डमा फैलिजाला ।“

Loading...