कोरोना संक्रमतिलाई अस्पताल ल्याउने एम्बुलेन्स चालक भन्छन्, ‘कर्तव्यको अगाडि त्रास ठूलो हुँदोरहेनछ’

कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकको अनुभूति

एक नम्बर प्रदेशमा हालसम्म ११ भारतीय र २ जना नेपाली नागरिकसहित १३ जना कोरोना भाइरस संक्रमित फेला परिसकेका छन् । उनीहरू सबैको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै पहिलोपटक एक नम्बर प्रदेशको उदयपुर जिल्लाको त्रियुगा नगरपाकिलाको भुल्केस्थित मस्जिदमा फेला परेका थिए ।

त्यहाँ ११ जना भारतीय नागरिक सुटुक्क आएर बसेका थिए । परीक्षणका क्रममा उनीहरूसँगै २ जना नेपालीलाई पनि कोरोना संक्रमण भएको पुष्टि भयो । ५ वैशाख राति उनीहरूलाई मस्जिदबाट उद्धार गरेर उदयपुर प्रशासनले विराटनगरस्थित कोराना अस्पताल पठायो । चार वटा एम्बुलेन्समा विशेष स्वास्थ्य सामाग्री प्रयोग नगरी उनीहरूलाई अस्पताल ल्याइएको थियो । पहिलो चोटी एकै पटक १२ जना संक्रमित र ४ जना शंकास्पदलाई ल्याउने एम्बुलेस चालकहरूले कोशी अनलाइनलाई सुनाएको अनुभूति …..

मेरो नाम ‘उदयपुर १’ (नाम परीवर्तन) हो । म एउटा मेडिकलको एम्बुलेन्स कुदाउँछु । ५ वैशाख शुक्रबार साँझ बिरामीलाई लहान पु¥याएर एम्बुलेन्स लिएर गाइघाट फर्कँदैथिएँ । बाटोमा फोन आयो– ‘कोरोना संक्रमितलाई विराटनगर लैजानुपर्छ चाँडो आउनुहोस् ।’

सुरुमा प्रस्ताव सुन्दा म अलमलमा परेँ । तर सँगै मैले आफनो कर्तव्यलाई झल्झली सम्झिएँ । यो संकटको बेलामा म फ्रन्टलाइनमा आइनँ भने को आउने ? र मैले अहिले कर्तव्य निभाइनँ भने कसले निभाउँछ र भन्ने सम्झिएँ ।

आपत परेको बेला जिम्मेवारीबाट भाग्नु भनेको पेशालाई मात्र हैन समाज र देशलाई नै धोका दिनु हो भन्ने मैले ठानेँ । यसैले मैले जिम्मेवारी बोध गरेर हुन्छ र म सबैलाई लैजान्छु भनेँ । म गाइघाट पुग्दा अन्य तीनवटा एम्बुलेन्सका चालक साथीहरू पनि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) लगाएर विराटनगर हिँडने तयारी अवस्थामा थिए ।

उनीहरूले पनि मैले जस्तो सोचेका रहेछन् । म गाइघाट पुग्नुअगावै पेट्रोल पम्ममा मलाई पीपीई ल्याइदिए मैले लगाएर चार जना सक्रमितलाई लिएर एम्बुलेन्स कुदाएँ । मसँगै आउने अरु तीन जना साथीहरू कोही निजी अस्पतालको त कोही सहकारीको एम्बुलेन्स कुदाउँछन् ।

साथीहरूका अनुसार हामीलाई स्थानीय प्रशासनले केही भएमा प्रदेश सरकारले घोषणा गरेअनुसार परिवारले ५० लाख तत्काल पाउने आश्वासन दोहोर्‍याएका थिए । केही भएमा सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका थिए । एम्बुलेन्स चालकलाई अतिरिक्त भत्ता पनि दिने भनिएको थियो । जस्वास्थ्य प्रमुख मोहन सुवेदीले विराटनगरबाट फर्किएपछि राम्रो रेस्पोन्स गर्ने र राम्रो क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने आश्वासन दिनुभयो ।

आश्वासपछि हामीले दायाँबायाँ हेरेनौं । मात्र आफ्नो कर्तव्य ठान्यौं । युद्धमा सिपाहीले शत्रुलाई हराएर जित्नैपर्छ भन्ने कसम खाएजस्तैगरी हामी पनि यो कोरोना भन्ने महामारीलाई हराउनुपर्छ र देशलाई संक्रमणमुक्त बनाउनैपर्छ भनेर उदयपुरबाट चार चालक एम्बुलेन्स लिएर साँझ हिँड्यौं ।

हामी उदयपुरबाट हिँड्दा सायद ८ बजेको हुँदोहो । हामी ११ साढे एघार बजेतिर विराटनगर रोडशेषचौकमा रहेको कोरोना अस्पतालमा पुग्यौं । हामीलाई उदयपुर प्रशासनबाट बाटोमा प्रहरीको स्कटिङ हुन्छ । बिराटनगर पुगेर बिरामीलाई छाडेर आउनु भनिएको थियो । तर हामीलाई विराटनगरमा बिरामी उतार्नचाहिँ समस्या भयो ।’

हामीले चारवटा एम्बुलेन्समा ४–४ जनाको टोली ल्याएका थियौँ । सबै संक्रमित र शंकास्पदहरूलाई राति शकुसल ल्याइपुर्‍याए पनि विराटनगरबाट फर्कदा भने हामीले राम्रो व्यवहार पाएनौं ।

अस्पतालमा सहजै रिसिभ हुन्छ भन्ने सरहरूको फोन अफ थियो । अस्पतालका मान्छेहरू पनि रिसिभ गर्न समयमा आइपुगेनन् । बल्लतल्ल बिरामी उतार्‍यौं तर संक्रमितहरूलाई मात्र हैन हामीलाई पनि अस्पतालमा छिःछिः दुर्दुर जस्तै व्यवहार गरियो ।

संक्रमित बोकेर आएका तीन वटा एम्बुलेन्स १२ जनालाई विराटनगरको रोडशेषस्थित कोरोना अस्पतालमा छाडेर राति करिब २ बजे गाइघाट पुग्यौं । तर कोरोना नेगेटिभलाई लिएर आएको एम्बुलेन्स भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा पुग्नुपर्‍यो । किनभने शंकास्पदहरूलाई कोरोना अस्पतालले भर्ना लिन मानेनन् ।

राति केहीबेर शंकास्पद र अस्पताल प्रशासनबीच भनाभन पनि भएको थियो । संक्रमितलाई टाँडी पु¥याएको एम्बुलेन्स बिहान मात्र फर्कन पायो । उदयपुरदेखि नै हामीले केही खाएका थिएनौं । हामी राति भोकभोकै बस्यौं । बाटोमा होटल खुल्ला थिएनन् र जहाँ पायो त्यही खानेकुरा पनि भएन । हामीलाई स्थानीय प्रशासनले खाने–बस्ने व्यवस्था मिलाउने बताएको थियो ।

संक्रमित र शंकास्पदहरूलाई लिएर आएका हामी चारवटै एम्बुलेसन्का चालकहरू शुक्रबारको रात कसैले उदयपुरमा त कसैले मोरङमा चौरीमा कटायौँ । शनिबारदेखि हामी जिल्ला अस्पतालको एउठा कोठामा बसेका छौँ । नगरपालिकाको सिफारिसमा होटलमा खाना खाइरहेका छौँ । संक्रमित र शंकास्पदलाई बोकेकोले हामीलाई घर जान डर लागिरहेको छ ।

गाउँमा नआउनू, आयौ भने छिर्न दिन्नँ भनिरहेका छन् । र, क्वारेन्टाइनमा बसुन्जेल घर जाने कुरा पनि आउँदैन । तोकिएको समयसम्म हामी क्वारेन्टाइनमा बस्छौँ । अझै सेवा गर्नुपरे हामी तैयार छौँ । यो विपतको बेला ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने र हाम्रा लागि नगरे कसका लागि गर्ने’ भन्ने कर्तव्य हामीले राम्रो बुझेका छौँ ।

तर एम्बुलेन्स चाककहरू पनि स्वास्थ्यकर्मीहरू झै जोखिममा बसेर काम गर्ने फ्रन्टलाइनर हुन् । यसैले उनीहरूलाई पनि सम्मान गर्नुपर्छ । डिस्करेज गर्नुहुँदैन भन्नेचाहिँ अझै बुझाइ भैसकेको छैन । हामीलाई प्रोत्साहन गर्नेभन्दा धेरै डिस्करेज गर्नेहरू यहाँ धेरै छन् ।

धेरैले ज्यानभन्दा ठूलो केही होइन किन गएको तिमीहरू कोरोना बोकेर भनेर त्रास देखाइरहेका छन् । बिन्ती छ हामीलाई गाडीको ड्राइभर मात्र हैन आपतको बेला ज्यान जोखिमा राखेर माहामारीको युद्धलाई पराजित गर्न जुधिरहेको योद्धा सम्झेर सकारात्मक व्यवहार गरियोस् ।

हामी हाम्रो पेशालाई जिविकोपार्जनका लागि मात्र हैन देश र समाजको हितमा सधैँ अपर्ण गर्न तयार रहनेछौँ । हामी जस्ता सयौँ एम्बुलेन्स चालकहरू पनि तयार हुनुहुन्छ ।

नोट : फ्रन्टलाइनरहरूको सामाजिक सुरक्षाको अवस्थालाई ख्याल गरेर नाम ठेगाना उल्लेख नगरेका हौं–सम्पादक ।

Loading...