बिन्ती छ सरकार : कविता

दीपल बन्जारा

आज पल्लाघरे साइँला परदेशिएको छ सरकार
आफ्नो ज्यान धरापमा राखी खाडीतिर पसेको छ सरकार ।
लालाबालालाई सुख दिने आशमा
आज साइँला टाढिएको छ सरकार ।

आमा आँखाभरि आँशु लिइ छोरा आउने बाटो हेरिरहेकी छिन्
कतै बुबा जस्तै हराउने त होइन भनी डराएकी छिन् ।
सरकार यी आमाको पीडा तिमी कहिले बुझ्छौ ?
युवाहरूको लागि देशमै रोजगार कहिलेबाट ल्याउँछौं।

सरकार कतै साइला उतै हराउने त छैन नि
साइँलीको सिन्दूर पुछिएको त मैले हेर्नु पर्दैन नि ।
कतै ती लालाबाला टुहुरो त हुने छैनन् नि
कतै आमाको कोख रित्तो त हेर्नु पर्दैन नि सरकार ।

सरकार तिमीबाट मलाई धेरै केही चाँहिदैन
बस् मेरो दाजु-भाइ विदेशिनु नपरोस्।
मेरो चेली असुरक्षित भइ बाटोमा हिन्नु न परोस् ।

जुन दिन मेरा दाजु-भाइ विदेशिनु पर्दैन
जुन दिन मेरी चेली सुरक्षित साथ बाटोमा हिँड्न सक्ने छिन् ।
म त्यो दिन तिमीप्रति धेरै आभारी हुने छु सरकार धेरै आभारी हुनेछु ।

–विराटनगर

Loading...