कविता : नेपाल यो सुन्दर

ऋषि धिताल

मेरो जन्म छुँदै भयो सकल यो नारायणीको जल
हुर्कें सुन्दर प्राकृतिक वन यी हेर्दै हिमाली धरा
डुल्थें खेत र कन्दरा वरपरै खादै खनायो फल
हाँसे घाम बनी बिहान पुषमा जाडो छ त्यो मौसम ।

अग्लो उत्तर यै हिमाल हिमकै सेता पहाडै घर
उक्लें भोट र पोखरा जब पुगे आनन्द आयो झन
यार्सा ओखत यी बुटी वनले चर्चा छ नेपालको
मोती फल्छ यहाँ तराई जुन यो भण्डार नेपालको।

मार्फाको रसिलो छ स्याउ अझ त्यो सम्झेछु डोल्पा झनै
नाम्चेबाट झनै छ दृश्य हिउँका हेर्दा भए मोहितै
डाँफे नाच्छ घुमेर हर्षित हुँदै प्यारो छ कैलाश नै
गोही, हाँस, मुनाल, घोरल बचे रम्दै वनैमा सधै।

उम्रेछन् कण झै बहार कलिला मायालु यी कोपिला
यी हाँसे जग यो हुनेछ रसिलो नौलो खुशीका शिला
हाम्रा कोमलता फुले नजरमा राता गुराँसै बनी
लम्के एक भविष्यका कण लिई चढ्नेछु थुम्को बनी।

सीता गौतमबुद्ध जन्म घर हो नेपाल यो सुन्दर
रारा यी झरना सधै अटल यी नेपालको सुन्दर
पुज्ये धार्मिक धाम नै पवित्रको अध्यात्म नेपाल हो
ब्रम्हा बास बसे सुमेरु वरको नेपालको काख यो।

भरतपुर, चितवन ।
हाल: जापान ।

Loading...