लघुकथा : तिर्खा लागिरहेको छ

गरिमा घिमिरे

हामी आमा छोरी बार्दलीमा उभिएर सडकतिर हेरिरहेका थियौं । झमक्क साँझ परेर सडकका मान्छे स्पष्टै चिन्न सकिन्नथ्यो । तैपनि हुलका हुल मान्छे हिँडिरहेका थिए । हेर्नुस् त आमा त्यो सानो बच्चा आमाको पिठ्युँमा पानी पानी भनेर रोइरहेको छ । सुन्दै नसुनी हिँडिरहेकी बिचरा !कहाँ छ र देओस् त्यसले पानी ? कठैबरा !

भाउजूले खाना पाक्यो भन्नुभयो । मलाई त्यो बच्चाले पानी भनेर मागेको भोक लाग्यो भन्न नजानेर जस्तो लाग्यो । त्यही आवाजको झझल्कोले पटक्कै खाना खान मन लागेन । बहाना के बनाउँ जस्तो भैरहेको थियो । उसको आमाबाबाको कारुणिक अवस्था अनि उसको चित्कारले म एक्लै भित्रभित्रै पिरोल्लिरहेको थिएँ । म दिन्थे पानी तर म चार तलामाथि थिए । म तल झरिसक्दा ऊ नेटो काटिसकेको हुनेथियो । उफ !!

आमा भन्नुहुन्छ “नानी आइज खाना खाना” तात्तातै खाइदिनुपर्छ । फेरि जुठो भाँडो गर्नु पनि त पर्छ । परिवारको गाली खाने डरले चुपचाप भान्सामा पुगेर आफ्नो खाना लिन्छु । तर मेरो अघि झलझल त्यही बच्चाको पानी पानी भनेको दृश्य एकोहोरो आइरह्यो ।

म आफैं त्यो बच्चाको सामु मरेको सम्झन्छु । धिक्कार ! मेरा हातगोडा सद्दे छन् । कमाएर खान सक्छु तर मलाई परिवारले यति खाउ उति खाइदेउ भन्छन् । तर त्यो भोको पेट र खुला आकाशमुनिका मान्छे चैं किन यसरी भोकभोकै ? कहाँ पुगेर के खाएर पेट भर्न हिँडेका होलान् ?

सोच्दा सोच्दै रिंगटा लाग्छ । पटक्कै खान सकिनँ । मेरो बाँकी खाना फोहोरको भाँडोमा हालिदिन्छु अनि हातमुख धोएर आफ्नो कोठाको बत्ती बाल्छु । म त्यही बाटाभरिका भोका लावालस्कर सम्झन्छु । बच्चाहरू हिँड्न नसकेर घिसारिएका सम्झन्छु । बुइ बोकेर हिँडेको सम्झन्छु ।

त्यसमाथि प्रहरीले लाठी बर्साएको सम्झन्छु । यस्तै सोचले म खुब निसासिन्छु । शरीर एकदम तातो हुन्छु । रनक्क टाउको दुख्न थाल्छ । अनि म आफैं त्यो बच्चा भएको महशुस गर्छु। पानी पानी भनेर तिर्खाउने बालक आफैं भएको याद गर्छु । मलाई पनि यतिबेला उस्तैगरि त्यही बच्चाको जस्तै घाँटीदेखि पेटका आन्द्राभुँडी नै सुक्नेगरि तिर्खा लागिरहेको हुन्छ ।

Loading...