देश लकडाउनमा, भर्चुअल मिटिङको अभ्यासमा दलहरु

काठमाडौं, ५ वैशाख । कोरोना भाइरस (कोभिड १९) का कारण राजनीतिक गतिविधि ठप्पप्रायः छ। मन्त्रीहरू कोरोना रोकथाम तथा नियन्त्रणको रणनीति बनाउन दिनहुँ छलफल/बैठकमा जुटेकै छन्। प्रमुख दल, तिनका नेता भने संकटका बेला पनि घरभित्रै छन्। यो घडीमा सरकारलाई उत्तरदायी, पार्टीलाई चलायमान बनाउन उनीहरूले नयाँ प्रविधि अँगाल्न थालेका छन्।

कोरोनाका कारण विश्वमै काम गर्ने शैली र स्वरूप बदलिएको छ। निरन्तरको लकडाउनमा घरभित्रै बिताउनुपर्दा नेताहरूले आफ्ना गतिविधि बढाउन नयाँ शैली अवलम्बन अनिवार्य बनेको छ। त्यसको उपयुक्त विकल्प बन्न पुगेको छ, भर्चुअल बैठक।

कतिपय निजी कार्यालयले घरमै बसी यही विधिबाट कामकाज अघि बढाइरहेकै छन्। राजनीतिक दल, तिनका नेता, सरकार र सरकारी निकायले पनि प्रविधिको यही प्रयोगलाई अभ्यासमा लैजान थालेका छन्।

प्रधानमन्त्री केपी ओलीले गत वर्षको भदौमा उपचारका लागि सिंगापुर जाँदा उताबाटै भिडियो कन्फरेन्समार्फत मन्त्रीपरिषद् बैठक राखेर मन्त्रीहरूलाई निर्देशन दिएका थिए। त्यस बेला गोपनीयताको प्रश्न उठाउँदै प्रतिपक्षी दललगायतले आलोचना गरेका थिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना सङ्क्रमित छन् । अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन् ।

यसैगरी अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीनको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी रहेको जनाइएको छ । त्यहाँ कुल ६० जना नेपाली सङ्क्रमित छन् ।

सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली सङ्क्रमित छन् । त्यहाँ यो सङ्ख्याभन्दा धेरै नेपाली सङ्क्रमित रहेको अनुमान छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...