लकडाउनमा सुत्केरी, गर्भवती र गरिब महिलाहरुको सुरक्षा गर्न माग

काठमाण्डौ, ४ बैसाख । महिला मानव अधिकार रक्षकहरुले अप्ठ्यारो स्थितिमा रहेका गर्भवती र सबै सुत्केरी महिलाहरुका लागि सबै अस्पतालमा आवश्यक सेवा उपलब्ध गराउन माग गरेका छन ।

लकडाउनको समयमा खासगरि निजी अस्पतालहरुमा गर्भवती र सुत्केरी महिलाहरु उपचारबाट बंचित भैरहेको भन्दै सबै अस्पतालमा उनीहरुलाई उपचार सेवा उपलब्ध गराउन महिला मानव अधिकार रक्षकहरुले माग गरेका हुन ।

लकडाउनको समयमा सबै अस्पतालहरुको प्रसुती बिभाग सुचारु हुनुपर्ने चिकित्सक र नर्सहरुको उचित व्यवस्था गरिनुपर्ने , अप्ठ्यारो स्थितिमा आएका गर्भवती र सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिने हेल्चेक्राई गर्ने अस्पतालहरुलाई तुरुन्त कारवाही गर्न पनि महिला मानव अधिकार रक्षकहरुले माग गरेका छन ।

साथै मधुमेह, किड्नीको उच्च रक्तचाप जस्ता दिर्घरोगिहरुको स्वास्थ्य उपचारको निरन्तरता सुनिश्चित गरिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन ।

सबै क्वारेन्टाइन स्थलहरुमा मनो–सामाजिक परामर्शकर्ताको व्यवस्था गरिनुपर्ने , बालिका र लैगिंक तथा यौनिक पहिचान भएका व्यक्तिको लागि छुट्टै बस्ने र चर्पी एवं नुहाउने ठाउँको व्यवस्था हुनुपर्ने , सबै स्थानीय निकायमा कुनै पनि हिंसा प्रभावित वा कुनै पनि प्रकारको अप्ठ्यारोमा परेका महिलाले फोन गर्दा २४ घण्टाभित्र नै प्रतिक्रिया दिने, कुरा सुन्ने, सुझाव दिने व्यवस्था सहितको हट लाइनको व्यवस्था गरिनुपर्ने माग पनि मानव अधिकार रक्षकहरुको छ ।

घर, टोल, सबै ठाउँमा कोरोना बिरुद्धको सचेतना जगाउँदा, महिला र बालिकामाथि हुने हिंसा बिरुद्धको सचेतनालाई पनि संगै लिएर जानुपर्ने लकडाउनको समयमा घरभित्रको काम सबै सदस्यहरुले बाँडेर गर्न पनि महिला मानव अधिकार रक्षकहरुले आग्रह गरेका छन ।

गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा जेष्ठ नागरिकको लागि क्वारेन्टाइन स्थलदेखि नै बिशेष व्यवस्था र राहत वितरण गर्दा पौष्टिक खानेकुराको विशेष ख्याल गर्न पनि माग गरेका छन ।

अपाङ्गता भएका महिलाहरुलाई बिशेष ध्यान दिन , दैनिक गरिखाने गरिब महिलाहरुको संरक्षण गरिनुपर्ने पनि महिला रक्षकरुको माग छ ।

Loading...