परीक्षाको चिन्ताभन्दा विद्यार्थीलाई कोरोनाको त्रास

बबिता लिम्बू
विराटनगर, ४ वैशाख । सायाबुङ साम्पाङ राई बुढीगंगा–७ मोरङ, स्थित मनमोहन प्रावधिक विश्वविद्यालयमा ‘ईलेक्ट्रोनिक्स ईन्जिनीयरिङ’ विषयको डिप्लोमा तेस्रो वर्षकी विद्यार्थी हुन् २२ फागुनबाट उनको परक्षिा सुरु भएको थियो । कोरोना भाइरसको संक्रमण जोखिमले गर्दा उनको परीक्षा स्थगित छ ।

विराटनगर–२ स्थित सिटी कलेजमा मानविकी संकायकी कक्षा–१२ मा अध्ययनरत विद्यार्थी सुष्मा पौडेलको वार्षिक परीक्षा पनि सुरु हुनुअगावै रोकिएको छ । उक्त परीक्षा ८ वैशाखबाट हुने भनिए पनि लकडाउन बढेकोले हुन पाएन ।

वर्षा लिम्बू बेलबारीस्थित शिक्षा सन्देश स्कूलको कक्षा–१० मा अध्ययनरत विद्यार्थी हुन् । लिम्बू एसईई परीक्षाका लागि स्कूलकै होस्टलमा बसेर तयारी गर्दै थिइन् । तर ६ चैतबाट सुरु हुने भनिएको एसईई परीक्षा सरकारको निर्णयपछि स्थगित भएकाले उनी अहिले घरमै बसेर परीक्षाको तयारी गर्दैछिन् । तर उनलाई परीक्षाको भन्दा पनि विश्वभरि नरसंहार गरिरहेको कोरोना भाइरस संक्रमण्को त्रास धेरै छ ।

सायाबुङ, सुष्मा र वर्षाहरू जस्तै कोरोना माहामारी रोकथामका लागि नेपालभरि लकडाउनले अरु धेरै विद्यार्थीको परीक्षा प्रभावित भएको छ । सबै तयारी पूरा भएर पनि कोराना संक्रमणको जोखिमले गर्दा विद्यालय र विश्वविद्यालयका सबै तहको परीक्षा स्थगित भएपछि विद्यार्थीहरू मानसिक तनावमा परेका छन् ।

केही घरमै बसेर परीक्षालाई अझै राम्रो बनाउनका लागि पढ्ने प्रयास गर्दैछन । तर धेरैमा विश्वभरि नरसंहार गरिरहेको प्राणघातक कोरोना भाइरसको त्रास छ । उनीहरू सबै कोरोना नेपालमा चाँही नफैलियोस् भन्ने कामना गरिरहेका छन् ।

१४ चैतमा सकिनुपर्ने वार्षिक परीक्षा लकडाउनको कारणले अनिश्चतकालका लागि रोकिएपछि विद्यार्थी सायाबुङ निकै चिन्तित छिन् । लकडाउनले परीक्षामा असर पुर्‍याएपछि उनी चिन्तित छन् । तर उनलाई परीक्षाको भन्दा पनि कोरोना भाइरस संक्रमणको बढी त्रास छ ।

घरमा बसेर परीक्षाको थप तयारी गरिरहेकी सायाबुङ भन्छिन्, ‘देशमा कोरोना संक्रमित हुनेको संख्या दिनानुदिन बढेको बढ्यै छ । पढ्नतिर ध्यानै जाँदैन, पढेको कुराहरू पनि बिर्सिने हो कि भन्ने डर छ ।’

अर्की विद्यार्थी वर्षाको अवस्था पनि सायाको जस्तै । उनी लकडाउन चाँडै खुलिदिओस् र परीक्षा सहज रूपले दिन पाउँ भनेर कामना गरिहेकी छन् । एसईई परीक्षा स्थगित भएपछि होस्टलबाट घर गएकी उनी परिवारलाई खेतीको काममा सघाउँदैछिन् ।

लम्बिरहेको लकडाउनले गर्दा अनिश्चित भइरहेको परीक्षाका लागि उनलाई पढ्न ठयाक्कै मन लाग्दैन । विश्वभरि नै कोरोना माहामारी तीब्र रूपमा फैलिरहेको बेला सरकारको लकडाउनको निर्णय उचित भएको विद्यार्थी सुष्मा पौडेल बताउँछिन् ।

उनी रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उचित हुने भएकोले लकडाउनमा सास्ती झेलेरै भएपनि कोरोनालाई जित्नुपर्ने बताउँछिन् । र, सबैले सरकारको निर्णयलाई पालना गनुपर्नेमा जोड दिन्छिन् । उनका अनुसार कोरोनाको त्रासले गर्दा घरमा विद्यार्थीहरूलाई पढ्ने वातावरण पनि छैन ।

सबै विद्यार्थीहरू मानसिक दबाबमा छन् । बरु कोरोना संक्रमण रोकथाम भएको एक महिनापछि सरकराले परीक्षाको मिति तोक्नु उचित हुने उनको सुझाव छ । भन्छिन्, ‘पहिले प्राणघातक कोरोनामाथि विजय प्राप्त होस् परीक्षा त पछि दिँदा पनि हुन्छ नी ।’

Loading...