विराटनगर, ३ वैशाख । केही दिनअघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै अभिनेता पल शाहले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

पलले नयाँ वर्षको अवसर पारेर आफूले गरेको बाचा पूरा गरेका छन् ।
एकमुष्ठ सहयोग कसैलाई दिएँमा कहाँ जान्छ भन्ने चिन्ता रहेका कारण विपन्न तथा आर्थिक स्थिति कमजोर बनेका प्राविधिकलाई आफैंले भेटेर उनले पाँच लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
चलचित्र प्राविधिक सङ्घ नेपालका प्रमुख पुष्कर लामाको उपस्थितिमा पलले पाँच हजार किलो चामल, चार सय लिटर तेल, दुई सय दर्जन बिस्कुट,पाँच सय किलो कालो दाल, चार सय किलो आँटालगायत खाद्यान्न वितरण गरेका छन् ।
सङ्घर्षका दिन सम्झिदै उनले आफूले यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनी आफूले गरेको सहयोगले मात्र प्राविधिकहरूको समस्या समाधान नहुने बताउँछन् ।
त्यसैले हरेकले आफ्नोतर्फबाट सहयोग गरिदिन उनले अपिल गरेका छन् ।