आलोक कुमार सातपुतेका तीन लधुकथा

सहसम्बन्ध
प्रारम्भमा मानिसले मन मनै ईश्वरको उपासना सुरू गऱ्यो। मनुष्यको विकास हुँदै गयो, केही दिन पछि उसले आफ्नो घरमै एक उपासनास्थल बनायो। मनुष्यको विकास अझ पनि हुँदै थियो। केही वर्ष अरू व्यतित भएपछि उसले आफ्नो उपासना सार्वजनिक गऱ्यो, अनि सार्वजनिक स्थलहरूमा ठूलाठूला उपासनास्थलहरू बन्न थाले । मनुष्यको विकास अवरूद्ध भयो।
आज हामी यो पाउँछौँ कि जति ,जति उपासना गृहहरूको आकार बढ्दै जाँदैछ त्यति, त्यति नै मनुष्यको आकार घट्दो छ।
दुवैको बीचमा ऋणात्मक सम्बन्ध स्थापित भएको छ।

हामी सबै एकै हौँ

स्वतन्त्रताको पश्चात त्यस देशमा लागु भएको लोकतान्त्रिक पद्धतिमा सत्तापक्षले राजतन्त्रको जस्तै परम्परा चलाउन थाल्यो, अनि विरोधीहरूले लोकतान्त्रिक पद्धतिबाट बिरोध दर्ता गरे। अनि जनताले विरोधिलाई नै सत्ता हस्तान्तरण गऱ्यो। अनि त अपराधीहरूलाई अपराध गर्ने छुट मिले झैँ भयो। देशमा खुल्लेआम अपराध हुन थाल्यो। रिसले चुर भएर जनताले अर्को पटकको सत्ता हिजडाहरूलाई सुम्पिए।
आज विभिन्न राष्ट्रिय समारोहहरूमा जनताहरू तिनीहरू सबैलाई एक अर्काको हात समाएर “हामी सबै एकै हौँ”को नारा लगाउँदै गरेको देख्दछन्।
सायद अर्को पल्ट जनताले दासत्वलाई नै स्विकार गर्ने हुन् कि ?

भुल सुधार
एक व्यक्तिले ईश्वरको तपस्या गर्दा गर्दै आफ्नो जीवनको यौवनकाल पुरा व्यतीत गऱ्यो। प्रौढावस्था पार गर्दै जब ऊ बृद्धावस्थामा पुग्यो अनि बल्ल ईश्वर ऊसँग प्रसन्न हुनुभयो, अनि उसलाई दर्शन दिँदै सोध्नु भयो – “वत्स भन तिमीलाई के वरदान दिउँ ?”

“प्रभु मेरो मनमा एक नारी देहको कामना मात्र शेष रह्यो अब त ” उसले विनीत भावमा भन्यो।
“अरे मूर्ख , नारी देह त तैलेँ सांसारिक बनेर भनी पाउन सक्थिस्। तैँले यसको लागि तपस्यामा लीन भएर आफ्नो जीवन निरर्थक बनाइस्।” ईश्वरले उसलाई गाली गर्ने अन्दाजमा भन्नु भयो।
“प्रभु मेरो तपको उद्देश्य त केही अरू नै थियो, तर मलाई आफ्नो यो भुलको महसुस भयो कि सांसारिक जीवनबाट पलायन गरेर केही पनि पाउन सकिन्न। त्यसैले प्रभु म आफ्नो भुल सुधार गरेर आफ्नो बचेको जीवन सार्थक बनाउन चाहन्छु।”

नोट , प्रस्तुत कथाहरु चितवनका एकदेव अधिकारीले नेपाली भाषामा अनुवाद गरेका हुन।

Loading...