कञ्चनपुर, २ वैशाख । कञ्चनपुरमा क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः आज क्वारेन्टाइनमा राखिएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई क्वारेन्टाइमा फर्काइएको हो ।
गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताए ।
उनले दुवै जनालाई घरमै फेला पारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेको जानकारी दिए ।
क्वारेन्टाइनको सुरक्षार्थ दुई जना सुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन् ।
क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ । रासस