नयाँ वर्षमा रणनीति र कार्यान्वयन प्रकृया बदलौं, हामी देश बदल्न सक्छौं

कोरोना भाइरसको प्रकोप विश्वव्यापी बनिरहेको बेला सानो आर्थिक हैसियत भएको र बहुसंख्यक नागरिकहरूको जीविकोपार्जनको एउटा श्रोत कृषि पेशा भएको नेपाल कृषि पेशाकै वरिपरि श्रृजित समस्याहरूसँग जुधिरहेको छ । यो बेला पहिला लगाएका हिउँदे बालीहरू भित्र्याउने र नयाँ वसन्ते (वर्षे) बालीहरू लगाउने बेला हो । यी सबै कामहरू सहजसँग भइरहेका छैनन् । सबैजसो मानिसहरू, अझ बढी कृषिवस्तु उत्पादक किसानहरू वर्तमान परिस्थितिबाट सबैभन्दा बढी पिल्सिएका छन् । हामी हाम्रा किसानहरूका कामहरूमा सहजीकरण गर्ने उद्धेश्य बोकेका कार्यालयहरू र मान्छेहरू आफ्नो विवशतामा पिल्सिएर आफैं निरीह बनेका छौं ।

डा. राजेन्द्र उप्रेती

हामीले दैनिक पढ्ने र सुन्ने समाचारहरूमा कोरोना भाइरसका समाचारपछि सबैभन्दा धेरै समाचार सायद कृषि वस्तु उत्पादन र बजार व्यवस्थापनकै होलान् । दूध सडकमा पोखिएका र डेरी उद्योगहरू बन्द हुँदै गएका, तरकारी खेत-खेतमै जोतिएका, कुखुराहरू मार्दै पुरिएका, कृषि वस्तु उत्पादन गर्ने ससाना उद्योगहरू बन्द हुँदै गएका समाचारहरू देशका सबै क्षेत्रहरूबाट दैनिक आइरहेका छन् । आज आधुनिक र औधोगिक रूपमा विकसित भनाउँदा देशहरूमा बेरोजगारी समस्या सबैभन्दा धेरै चर्को रूपमा देखा परेको छ । राज्यले नसम्हाल्ने हो भने त्यहाँ भोकमरीको अवस्था आउन सक्छ । त्यो अवस्थासँग तुलना गरेर हेर्ने हो भने हामी तुलनात्मक रूपमा राम्रो अवस्थामा रहेछौं भन्ने भान हुन्छ । कृषिमा आधारित जीविकोपार्जन भएका संसारका सबैजसो देशहरू विश्वव्यापी रूपमा समयसमयमा देखापर्ने यस्ता आर्थिक संकटहरू झेल्ने कुरामा बढी सक्षम देखिएका छन् । त्यसैले पनि व्यवस्थित गर्नसक्ने हो भने कृषि क्षेत्र दिगो जीविकोपार्जनका लागि भरपर्दो क्षेत्र हो भन्न सकिन्छ ।

यसो भनिरहँदा फेरि हाम्रो वर्तमान परिवेश कस्तो छ त ? केही दिन अगाडि एक जना भाइले हाम्रो सूचनामा एउटा कमेन्ट गर्नुभयो“किसानलाई सहज रूपमा मल, त्यो पनि किन्नको लागि त दिन नसक्ने निकम्मा सरकार कृषि प्रधानको कुरा गर्छ । लाजको पसारो।” यी र यस्ता धेरै टिप्पणीहरू आजभोलि हामीले हरेक दिन सुन्नु परिरहेकोछ । यसका लागि केही हामीहरू पनि जिम्मेवारी हौंला¸केही हाम्रा असंगठित कृषि कर्महरू जिम्मेवार होलान् तर सबैभन्दा ठूलो जिम्मेवारी भनेको कागजमा फेरिइरहने तर वास्तविकतामा कहिल्यै नफेरिने हाम्रो कार्यान्वयन पद्धति नै हो । हामी कागजमा ठूला ठूला सपना बाँड्छौं अनि झन्झटिलो कार्यविधिको चक्रब्यूहमा जेलेर कार्यक्रमको ध्यान उपलब्धि प्राप्त गर्ने होइन कि कागजी प्रकृया पूरा गर्नमा सीमित पारिदिन्छौं । हाम्रो कार्यविधि वा नियम कानून बनाउने प्रकृयाको सुरुआतनै कार्यक्रममार्फत् प्राप्त गर्न सकिने उपलब्धि केन्द्रित हुनुको बद्ला कार्यक्रममार्फत भ्रष्टाचार हुनेगर्छ, त्यसैले यसलाई कसरी रोक्ने भन्ने मानसिकताबाट सुरु हुन्छ । अनि हामी हाम्रा कार्यविधिहरूमा यति धेरै शब्दजाल र नियमहरू जोड्छौं कि ती कार्यक्रमहरूका चक्रव्यूह सर्वसाधारण किसानले पारगर्नै सक्दैनन् ।

नयाँ वर्ष २०७७ पनि सुरु भएको छ । यो बेलामा हामीले नयाँ संकल्प तथा नयाँ सुरुआत गर्न सक्छौं । आगामी वर्षका लागि कार्यक्रम बनाउने कामहरूको सुरुआत भइसकेकोछ । गएको आइतबार मात्र प्रदेश योजना आयोगमा आगामी वर्षमा गर्न सकिने कृषि कार्यक्रमहरू र हामीले अपनाउने रणनीतिहरूका बारेमा छलफल भयो । केही राम्रा सुझावहरू आएका छन् । हामीले अहिलेको विश्वव्यापी कोरोना भाइरस श्रृजित आर्थिक र सामाजिक संकट¸ रेमिट्यान्सको ठूलो भरथेग भएको हाम्रो अर्थतन्त्रमा देखिन सक्ने प्रभाव र देशको कृषि वस्तुहरुको आयात निर्यातको अवस्थालाई दृष्टिगत गर्दा कृषि क्षेत्रमा गर्न सकिने सकारात्मक रुपान्तरणबाट हामीले ग्रामिण क्षेत्रहरूको जीविकोपार्जन¸ देशको खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्छौं । तर यसको लागि हामीमा रहेको कार्यक्रम बनाउने परम्परागत सोच¸ नकारात्मक मानसिकताबाट श्रृजित कार्यविधिको चक्रव्यूह र सानो स्वार्थ समूहको हित केन्द्रित कार्यक्रम बनाउने प्रकृयालाई तोड्न जरुरी छ । प्रारम्भ गर्नका लागि तल उल्लेखित थोरै परिवर्तनहरूबाट सुरु गरौं ।

१. कृषि सामाग्रीहरुको नियमित र विश्वासिलो आपूर्ति गरौं:  हालै कृषि तथा पशुपन्छीविकास मन्त्रालयका माननीय मन्त्रीज्यूबाट प्रेषित लेखमा पनि यो कुरा उल्लेख छ । तर कसरी हुन्छ त्यो देखिँदैन । हाम्रो रासायनिक मलको वार्षिक माग सालाखाला ७ लाख मेट्रिक टन हो, तर विगत केही वर्षदेखि आपूर्ति भने आधा मात्र भइरहेकोछ । त्यो पनि चाहिएको मल चाहिएको समयमा भइरहेको छैन । त्यसैले खेतीको समयमा मलको हाहाकार सधैंजसो हुन्छ । समयमा भनेको मल नपाउने र पर्याप्त मात्रामा नपाउँदा त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा परिरहेको छ । सबैको स्वार्थरहित चाहना हुँदाखेरि यो अवस्था सजिलै हटाउन सकिन्छ । वर्षभरि चाहिने मलको अनुदान व्यवस्था गरेर र अघिल्लो वर्षनै टेन्डरका प्रकृया टुङ्ग्याएर यसको नियमित आपूर्ति गर्न सकिन्छ । हाल कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेसन मात्र सहभागी भएको मल आयात प्रकृयामा निजी क्षेत्रलाई पनि सहभागी गराएर यो समस्या सजिलै हल गर्न सकिन्छ । तर मल चाहिने बेलामा सधैं टेन्डरका प्रकृयामा अल्झिँदा समयमा मल आपूर्ति भइरहेको छैन । यसको अर्को विकल्प भनेको सबैलाई मल आयात गर्न खुल्ला गराएर मल आयातकर्तालाई होइन उपभोक्ता किसानहरूलाई उनीहरूले प्रयोग गरेको मलमा अनुदान दिने प्रकृया हो । यो तरिका संसारका विभिन्न देशहरूमा सहजतापूर्वक सञ्चालन भइरहेको छ ।

मलपछि समस्या देखिएको क्षेत्र भनेको गुणस्तरीय बीउ बेर्ना र ब्रिडको आपूर्ति हो । हाल किसानहरूले देशभित्रै उत्पादन हुने र आयातित वर्णशंकर बीउ बेर्ना र ब्रिडहरू प्रयोग गरिरहेका छन् । यस्ता श्रोत बीउ बेर्नाहरुको उत्पादन देशभित्रै गर्नसके ठूलो राहत हुनसक्छ र आपूर्तिमा सहजता आउनसक्छ । तर विभिन्न स्वार्थ समूहहरूको अवरोधका कारण विश्वका विश्वासिला कम्पनीहरूको सहकार्यमा हामीलाई आवश्यक बीउ बेर्ना र ब्रिडहरूको उत्पादन र आपूर्ति हामीले नेपालमै गर्नसकिरहेका छैनौं । निर्णय गर्नेहरूले किसानको माग र स्वार्थलाई ध्यान दिएर अरु अवरोधहरू हटाउने हिम्मत गर्दा यो परिवर्तन सहजै गर्न सकिन्छ । त्योबाहेक नेपालमा आफूलाई विकसित र व्यवस्थित गर्दै लगिरहेका स्थानीय बीउ उत्पादक समूह तथा सहकारीहरूलाई राष्ट्रिय बीउ बिजन कम्पनीलाई जोगाउने नाममा कम्पनीले बिक्री-वितरण गर्ने बीउमा मात्र अनुदान दिएर धारासायी बनाइयो । यो गलत नीतिलाई तुरुन्त बदल्दै स्थानीय बीउ उत्पादक समूह तथा सहकारीहरुलाई अगाडि बढाउन जरुरी छ । यो चाहँदा सजिलै गर्न सकिने कार्य हो । यसरीनै फलफूलका गुणस्तरीय बेर्ना र पशुबस्तुका ब्रिडहरू किसानहरूले खोजेको बेला पाउन सकिरहेका छैनन् । स्थानीय रूपमा बीउ बैङ्क, बेर्ना नर्सरीहरू र पशुबस्तुका श्रोत केन्द्रहरू स्थापना र व्यवस्थापन गरेर यो समस्या समाधान गर्न सकिन्छ । प्रदेश १ ले आगामी वर्षको कार्यक्रममार्फत यसलाई अगाडि बढाउँदैछ ।

२. सिंचाइका सबै विकल्पहरू सदुपयोग गरौं: प्रदेश १ पानीका उपलब्ध श्रोतहरूका हिसावले धनी छ । वर्षैभरि बगिरहने खोलाहरू हाम्रै जमिननजिक भएर बगिरहेका छन् तर त्यो पानीले न हाम्रो कृषि उत्पादन बढाउन सकेको छ न त बाली सघनतानै । जमिनभन्दा केही फिट तलबाट बगिरहेका धेरै खोलानालाका पानीहरू ठूला बाँधहरू नबनाई सहजै जमिनसम्म लैजान सकिन्छ । बिजुलीबाट वा सौर्यशक्तिबाट सञ्चालित पम्पहरुको प्रयोगबाट तुरुन्तै र कम खर्चमा खोलाको पानीपम्प गरी जमिनमा लगेर सिंचित क्षेत्रफल¸ बाली सघनता र कृषि उत्पादन बढाउन सकिन्छ । पछिल्लो अवस्थामा देशमा उत्पादन भइरहेको बिजुलीको उपयोग कसरी गर्ने भनेर छलफल भइरहेको बेला हाम्रो यो रणनीतिले एक तीर, दुई शिकार गर्न सकिन्छ । यो कार्यबाट माथि उल्लेखित उपलब्धिहरूसँगै हाम्रो भूमिगत जलभण्डारलाई रिचार्ज गर्ने काम पनि सँगसँगै हुनेछ ।

३. माटो सुधार र माटोको खाद्यतत्व व्यवस्थापनमा अभियान श्रृजना गरौं: हाम्रो परम्परागत खेती प्रणाली एकीकृत प्रकारको थियो । बाली र पशुपालन एकै ठाँउमा हुँदा स्थानीय रूपमा उपलब्ध सबै प्रकारका प्राङ्गारिक पदार्थहरू मलको रूपमा खेतबारीमा प्रयोग हुनेगरेका थिए र हाम्रो खेती प्रणाली उर्वर र दीगो थियो । त्यो कुरा परिस्थितिले र हामी आफैंले मास्दै गएका छौं । हामी फेरि पुरानै रूपमा फर्किन नसके पनि गड्यौले मल¸ वेष्ट डिकम्पोजर¸ जैविक युरिया जस्ता विविध प्राङ्गारिक मल बनाउने तरिकाहरू सहजै अपनाउन सक्छौं। यो कार्यबाट हामीले किसानकहरूले उत्पादन गर्ने मल बिक्रीबाट उनीहरूको आम्दानी बढाउनका साथै माटोमा प्राङ्गारिक पदार्थ र सुक्ष्म जिवाणुहरूको गतिविधि बढाउन सक्छौं । कालान्तरमा हाम्रो यो अभियानले प्रदेशलाई प्राङ्गारिक प्रदेशको रूपमा रुपान्तरण गर्ने सपनालाई साकार रूप दिनेछ¸ रासायनिक मलको निर्भरतामा कमी ल्याउनेछ र दिगो कृषि विकासको हाम्रो सपनालाई साकार पार्न सघाउनेछ ।

४. किसानहरूका उत्पादनलाई बजारसँग जोडौं: हाम्रा प्रायः किसानहरू साना छन्¸ संगठित छैनन् र बजारसँग राम्ररी जोडिएका छैनन् । त्यसैले उनीहरूले उचित बजार¸ मूल्य र मुनाफा पाइरहेका छैनन् । कृषि वस्तुहरूको परिमाण नबढाइकन यिनीहरूलाई ठूला बजारहरूसँग  जोड्न सकिँदैन¸ बजार नजोडी मूल्य र मुनाफा बढ्दैन । साना किसानहरूको उत्पादनलाई एकीकृत गर्दै कृषि उत्पादनहरूको परिमाण बढाऊँ । यो कार्यको लागि निजी उत्पादन र सामूहिक बजारीकरण एउटा राम्रो रणनीति हुनसक्छ । जसका लागि कृषक समूह¸ सहकारी वा स्थानीयतहका सरकारहरूले उल्लेखनीय भूमिका खेल्न सक्छन् र प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सक्रिय साझेदारको भूमिका निभाउन सक्छ । किसानका उत्पादनहरूले बजार र मूल्य पाएपछि त्यस्ता वस्तुहरूको उत्पादनमा सक्रियता आउनेछ र बाँझो गाउँहरू फेरि हाम्रा कृषि उत्पादनका सक्रिय एकाईहरू बन्ने छन् । नत्र बाँझो जमिन राख्नेलाई जरिवाना गर्ने कानून बनाएर समस्याको हल हुँदैन । किसानहरूले आफ्नो जमिनमा खेती किन गरिरहेका छैनन् भन्ने कारणको खोजी र समाधान उचित बाटो हो । किसानहरूलाई बजार उपलब्ध गराउन र उनीहरूको परिश्रमको उचित मूल्य दिलाउन सकिएको खण्डमा यो एउटै कामले हामीले नसोचेको प्रतिफल दिनसक्छ ।

५. आवश्यक प्रविधिको पहुँच बढाउन सबैको सहकार्य बढाऊँ: अबको कृषि विकास भनेको सरकारी¸ गैरसरकारी संस्थाहरूको बलबुतामा मात्र सीमित रहेन । कृषि विकासका कुरा गर्दा यी दुई परम्परागत सेवा प्रदायक संस्थाहरूभन्दा धेरै भूमिका आजका निजी क्षेत्रले खेलिरहेको कुरा भन्न अब धक मान्नु पर्दैन । त्यसैले कृषि क्षेत्रमा भूमिका खेलिरहेका तथा भूमिका खेल्न सक्ने सरकारी¸ गैरसरकारी¸ सहकारी¸ निजी क्षेत्र सबैसँग उनीहरूको दख्खल भएको क्षेत्रमा र योगदान गर्नसक्ने क्षेत्रमा सहकार्य बढाऊँ । कृषि विकासलाई तेरो-मेरो होइन हाम्रो काम बनाऊँ । प्रदेश १ ले केही सुरुआत गर्न पहल गरिरहेको छ । आगामी वर्षको कार्यक्रममा यो क्षेत्रलाई हामीले समेट्ने छौं ।

यो अलावा प्रविधिले माग गर्ने सामाग्रीहरू र भौतिक पूर्वाधारहरूको सहज उपलब्धतामा हामीले काम गर्नु परेको छ । भारतीय किसानहरूले सहज पाइरहेका ग्रीन हाउस¸ नेटहाउस¸ सिंचाइ उपकरणहरू¸ कोकोपिट¸  लिक्विड फर्टिलाईजर¸ मल्चिङ्ग सामाग्रीहरू¸ बीउ र ब्रिडहरू हाम्रा किसानहरूले पाइरहेका छैनन् । भन्सारमा ती वस्तुहरू कृषि सामाग्रीहरूको आयात लिष्टमा नहुनु र १ प्रतिशत भन्सार शुल्क तिरेर सहजै पाउनुपर्ने ती वस्तुहरू ४० देखि ५० प्रतिशत भन्सार शुल्क तिरेर आयात गर्नुपर्ने हुँदा त्यसको प्रत्यक्ष मार उत्पादक¸ उत्पादन खर्चमा पर्न गएर हाम्रा किसानहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ । यस्ता कुराहरू केन्द्रले चाहँदा तुरुन्त र सजिलै हल गर्न सकिन्छ । तर यिनै कुराहरू जति कराए पनि वर्षौंदेखि भइरहेका छैनन् । रुपान्तरणको चाहना हुँदा यी कुराहरू तुरुन्त कार्यान्वयन हुनुपर्छ ।

६. कृषि उत्पादनको भण्डारण क्षमता विस्तार: किसानहरूलाई सहज भण्डारण सुविधा उपलब्ध नहुदाँ उनीहरूले आफ्ना उत्पादनहरू बाली कटानीपछि तुरुन्तै कम मूल्यमा बिक्री गर्नुपरिरहेको छ । उनीहरूको उत्पादनको सहज भण्डारण हुनसके र त्यसरी भण्डारण गरेका कृषि वस्तुहरूको जमानतको आधारमा सहज कृषि ऋणको व्यवस्थापन गर्नसके किसानहरूले आफ्ना उत्पादनहरू उचित मूल्य आएपछि बिक्री वितरण गर्नसक्ने थिए । स्थानीय रूपमा भएका अध्यनहरूले पनि कृषि वस्तुहरू बालीकटनीको केही महिनापछि बिक्री वितरण गर्दा सहजै १५ देखि २५ प्रतिशत आम्दानी बढाउन सकिने देखिएको छ । यो कार्यारम्भका लागि कृषि सहकारी¸निजीक्षेत्र¸ बैङ्क र सरकारी क्षेत्रको साझेदारी फलदायी हुनसक्छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी वर्षको कार्यक्रममा यो क्षेत्रलाई पनि समेट्ने प्रयास गरिरहेको छ ।

७. कार्यविधिको चक्रव्यूहमुक्त कार्यान्वयन रणनीति: माथि उल्लेख गरिएका सुरुआती कुराहरू हामीले थाल्न सक्छौं । तर फेरिपनि हाल देशभरि प्रयोग भइरहेको कृषि कार्यक्रमहरूको सञ्चालन कार्यविधिको चक्रव्यूह कायम राख्ने हो भने कृषि उत्पादनको केन्द्रमा रहेका बहुसंख्यक किसानहरू सरकारी सहयोगको पहुँचबाट टाढा नै रहनेछन् । उपलब्धि केन्द्रित कार्यविधि बनाएर प्राप्त उपलब्धिलाईनै केन्द्रित गरेर गरिने अनुगमन र मूल्याङ्कन प्रकृया नथालेसम्म हामी फेरिपनि हाम्रा उद्धेश्यहरू प्राप्त गर्ने कुरामा टाढा नै रहनेछौं । किसानहरूले आफ्ना कृषि कर्ममा सरकारले दिने सेवासुविधा सहजरूपले र झन्झटिला कागजी प्रकृयाविना पाउन सक्नुपर्दछ । हामीले केही सुरुआत गरेका छौं र आगामीवर्षको कार्यक्रमहरूमा यी कुराहरू अझ बिस्तृत रूपमा आउनेछन् । तर प्रदेश मन्त्रालयका इच्छाले मात्र हामीले चाहेका धेरै कुराहरू सम्भव छैनन् । यसका लागि संघीय मन्त्रालयबाट गरिँदै आइरहेका तर स्थानीय किसानहरूका दैनिक आवश्यकतासँग जोडिएका कुराहरूको समाधान गर्ने अधिकारसहितको जिम्मेवारी प्रदेशहरूमा हस्तान्तरण भएर आउन जरुरी छ ।

निष्कर्ष

कोरोना भाइरसको संक्रमणबाट उत्पन्न वर्तमान परिस्थितिले हामीलाई नयाँ संकटको साथसाथै देशभित्रै दीगो जीविकोपार्जनका अवसरहरु श्रृजना गर्न तथा कृषि क्षेत्रमा रहेको ठूलो सम्भावनालाई वास्तविकतामा रुपान्तरण गर्न मौका पनि दिएको छ । जसका लागि माथि उल्लेख गरिएका केही मुख्य कामहरुबाट हामीले थालनी गर्नुपरेको छ ।

जसका लागि तीनै तहका सरकारहरूबीच दरिलो सहकार्य र समन्वय चाहिएको छ । यसरीनै किसानहरूका आवश्यकताहरूलाई तुरुन्त समाधान गर्ने तदारुकता¸ अवरोधक र अपुग नीति-नियमहरूको समयसापेक्ष परिमार्जन जरुरी रहेकोछ । त्यस अलावा किसानहरू¸उत्पादक कृषकसमूहहरू र सहकारीहरू¸ बैङ्क तथा वित्तीय संस्थाहरू¸निजीक्षेत्र¸ गैरसरकारी क्षेत्र र सरकारी निकायहरूले कसिलो र पारदर्शी सहकार्य बढाउनुपर्ने जरुरी छ  । यो सुरुआत हुनसक्छ, अनि हामीहरूले सहकार्यका तहहरू बढाउँदै लानसक्छौं । आउनुहोस् नयाँ वर्षको यो सुरुआतमा हामी पनि एकजुट हुनसकौं र कृषि रुपान्तरणका हाम्रा सपनालाई साकार पार्न योगदान गरौं । कुराहरूबाट होइन, कामहरूबाट सुरुआत गरौं । नयाँ वर्ष सबैको लागि उपलब्धिमूलक र सुखद बनोस् । सबैमा नयाँ वर्षको शुभकामना ।।

Loading...