कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति, संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक आज

काठमाडौं, २ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका छन्।

मन्त्री ढकालले नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिनुहुँदै कोरोना नियन्त्रणका लागि ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको जानकारी दिए। उनका अनुसार विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरूको ट्राभल हिस्ट्रीसहित अनिवार्य क्वारेन्टाइनमा राख्ने, उनीहरूको नमुना परीक्षण गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षणको दायरामा ल्याइने छ ।

त्यसैगरी सम्भावित सङ्क्रमित आवतजावत भएको स्थानको यकिन गरी आइसोलेसनमा राख्ने र अनुगमन गरिने छ । त्यस्तै, सङ्क्रमितको उपचार गर्ने र कोरोना सङ्क्रमणको सम्भावित महामारी रोक्न सबै क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने रणनीति लिइएको मन्त्री ढकालले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा खबर छ ।

मुलुक लकडाउनमा छ । राज्यका अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द छन् । जनप्रतिनिधिमूलक संस्था संसद् ‘लकडाउन’मा छ । कोरोना भाइरस (कोभिड–१९) कहरकै कारण अधिवेशन अघिल्लो साता अन्त्य गरिएको छ । तर विपद्को समयमा संसद्को भूमिका आवश्यक रहेको भन्दै मिनी संसद् सञ्चालनको माग भइरहेको छ । संसदीय प्रणाली अवलम्बन गरेका कतिपय देशले यस्तो अभ्यास गरिरहेका छन् ।

‘भर्चुअल संसद्’को माग बढेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार समिति सभापतिहरूसँग परामर्शसमेत गरेका छन् । अघिल्लो साता नै प्रतिनिधि सभाको अर्थ समितिले अनौपचारिक रूपमा यो अभ्यास प्रारम्भ गरेको थियो । औपचारिक बैठक राख्ने तयारी भए पनि नियमावलीका प्रावधान लगायतमा प्रश्न उठाइएपछि औपचारिक बैठक अगाडि बढ्न सकेन । गोरखापत्र दैनिकमानै खबर छ ।

Loading...