नेपाली क्रिकेट वर्ष २०७६ विशेष

गत वर्ष २०७६ को सुरुआत नेपाली क्रिकेटको लागि सुखद थिएन । वर्ष २०७५ को अन्तिम दिन नेपालले यूएईविरुद्ध सामना गर्दै थियो । मलेसियामा जारी आईसीसी यू–९ विश्वकप छनौट प्रतियोगितामा नेपालले यूएईविरुद्धको खेल जिते प्रतियोगिता नै जित्न सक्ने सम्भावना उच्च थियो । पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको फराकिलो जित निकालेको नेपाल हौसिएको थियो ।

५० ओभर पूरै खेलेर नेपालले सम्मानजनक रन पनि बनाएकै हो तर नेपालको भाग्यलाई मलेसियाको मौसमले साथ दिएन । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ब्याटिङ गर्ने क्रममा पानी पर्न थाल्यो । खेल हुन नसक्ने भएपछि डकवर्थ लुईस नियम लागू गरियो र नाटकीय रूपमा यूएईले एक रनले खेल जित्यो ।

त्यसपछि बाँकी रहेका तीनै खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो तर २०७६ सालको एकदिनअघि यूएईविरुद्धको हारले नेपाललाई विश्वकप पुग्नबाट बञ्चित गरायो । वैशाखमा मलेसियामा सम्पन्न यू–१९ विश्वकप छनौट प्रतियोगितको मलेसियाविरुद्धको खेल खेल्दै नेपाली क्रिकेटले वर्ष २०७६ को सुरुवात गर्‍यो । त्यसपछि राष्ट्रिय पुरुष क्रिकेट टोली, महिला राष्ट्रिय टोली र यू–१९ राष्ट्रिय टोलीले २०७६ भरि विभिन्न प्रतियोगिताहरू खेल्यो ।

२०७६ भरि नेपाली क्रिकेट सहभागी भएका प्रतियोगिता, प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन र समग्र नेपाली क्रिकेट क्षेत्रमा यो वर्षभरि के–के भए भनेर हामीले विश्लेषण गरेका छौं ।

राष्ट्रिय पुरुष क्रिकेट

२०७६ भरि नेपालले कूल ३१ अन्तर्राष्ट्रिय खेलहरू खेल्यो । वर्षाको कारण दुई खेल रद्द हुनुबाहेक नेपालले १४ खेलमा जित निकाल्यो भने १५ खेलमा पराजय भोग्यो । असारमा मलेसियामा सम्पन्न मलेसियाविरुद्धको दुई खेलको टी–२० सिरिज क्लिनस्वीप गरेर इतिहास रच्दै पुरुष टोलीले वर्ष २०७६ को सुखद सरुवात गर्‍यो ।

तर लगत्तै आयोजना भएको आईसीसी टी–२० एसिया विश्वकप छनोट प्रतियोगितामा नेपालले आफ्नो प्रदर्शन जारी राख्न सकेन । ६ देखि १२ साउनसम्म सिंगापुरमा सम्पन्न टी–२० विश्वकप २०२० को यात्राबाट नेपाल बाहिरिएको थियो । तुलानात्मक रूपमा नेपालभन्दा कमजोर मानिएका सिंगापुर र कतारसँग प्रतियोगितामा पराजित भएपछि नेपाली क्रिकेट खेलाडीहरूको आलोचना सुरु भएको थियो ।

खराब प्रदर्शन गरेपछि आलोचित बनेको राष्ट्रिय टोलीले असोजमा सिंगापुर र जिम्बाबेसँग क्रिकोणात्मक टी–२० सिरिज खेल्यो । सिंगापुरमा असोजमा सम्पन्न भएको सिरिजमा नेपालको प्रदर्शन औसत मात्र रह्यो । सिरिजमा ४ खेल खेलेको नेपाल जिम्बाबेसँग दुवै खेलमा पराजित भयो भने सिंगापुरलाई दुवै खेलमा जित्यो ।

असोजमा नै ओमानमा आयोजना भएको पाँच राष्ट्र सम्मिलित टि–२० सिरिजमा नेपालले भाग लियो । त्यस सिरिजमा पनि नेपालको प्रदर्शन सोचेअनुरुप भएन । ओमान, आयरल्याण्ड, नेदरल्याण्ड, नेपाल र हङकङ सहभागी भएको सिरिजमा खेलिएका ४ खेलमा दुई खेलमा मात्र जित निकाल्दै नेपाल तेस्रो स्थानमा रह्यो ।

कात्र्तिकमा बंगलादेशमा भएको एसीसी एसिया इमर्जिङ टिम्स एसिया कपमा पनि नेपाल खराब प्रर्दशन गर्दै समूह चरणबाटै बाहिरियो । लगातार हारले निराश बनाएको नेपाली क्रिकेटलाई मंसिरमा घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दै उक्त पीडा बिर्साउने राम्रो अवसर थियो ।

१५ देखि २४ मंसिरसम्म आफ्नै भूमिमा भएको १३औं सागमा नेपाललाई स्वर्ण जित्ने सुवर्ण अवसर थियो । तर सागमा पनि नेपालको खराब प्रदर्शनले निरन्तरता पायो । भारत र पाकिस्तान सहभागी नभएकाले र श्रीलंका र बंग्लादेशको यू–२३ टोली सागमा सहभागी हुने भएकाले नेपालले राम्रो प्रदर्शन गर्ने आशा गरिएको थियो । तर खेलिएका पाँच खेलमध्ये तीन खेलमा मात्र जित निकाल्न सफल नेपालले तेस्रो स्थानसहित कास्य पदकमा चित्त बुझायो ।

नेपालको घरेलु मैदानमा माघमा आयोजित आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपालको प्रदर्शन औसत मात्र रह्यो । दुवै खेलमा ओमानसँग पराजित भएको नेपालले अमेरिकालाई भने दुवै खेलमा हराएको थियो ।

चैतमा थाइल्याण्डमा भएको एसीसी ईस्टर्न रिजन टी–२० प्रतियोगिता जित्दै नेपाललाई एसियाली टेष्ट राष्ट्रहरू एसिया कप टी–२० खेल्ने सुनौलो अवसर थियो । तर सुनौलो अवसरलाई नेपालले नमीठो तरिकाले खेर फाल्यो ।

खेलेको हरेक प्रतियोगिता र सिरिजमा औसत मात्र प्रदर्शन गरेको नेपालको प्रदर्शन ईस्टर्न रिजन टी–२० मा दर्दनाक थियो । हङकङ र मलेसिया जस्ता टोलीसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो र वर्ष २०७६ को दुःखद अन्त्य गर्‍यो ।

राष्ट्रिय महिला क्रिकेट

राष्ट्रिय महिला टोलीले यो वर्ष एउटा मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । नेपालमा आयोजित १३औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा खेलेको चार खेल नै नेपालको वर्ष २०७६ भरि खेलिएको अन्तर्राष्ट्रिय खेलहरू बन्यो । चार खेल खेल्दा दुईमा जित र दुईमा हार बेहोरेको नेपाली महिला टोलीको प्रदर्शन औसत मात्र रह्यो ।

भारत, पाकिस्तान र भुटानले भाग नलिएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्न अपेक्षा गरिएको थियो । तर चार राष्ट्र मात्र सहभागी प्रतियोगितामा नेपालले गतिलो प्रदर्शन गर्न सकेन । प्रतियोगिताकै कमजोर मानिएको टोली माल्दिभ्सलाई दुई पटक हराउनुबाहेक श्रीलंका र बंग्लादेशसामु नेपाल निरीह रह्यो ।

प्रतियोगिताभरि चार खेल खेलेको नेपाल ४ अंक सहित तालिकाको तेस्रो स्थानमा रह्यो । प्रतियोगिताभरि कूल १ सय ९३ रन पछ्याएको नेपालले १ सय ५३ रन बनाउन १९ विकेट खर्चिएको थियो ।

माल्दिभ्सविरुद्ध दुवै खेलमा दस विकेटको शानदार जित निकालेको नेपालले बंग्लादेश र श्रीलंकाविरुद्ध भने ब्याटिङ्ग र बलिङ दुवैमा जादु देखाउन सकेन ।

कमजोर टोली माल्दिभ्सलाई हराउँदै १३औं सागमा कास्य पदक जित्न नै नेपाली महिला टोलीको वर्ष २०७६ को एक मात्र उपलब्धि रह्यो ।

राष्ट्रिय यू–१९ क्रिकेट

नेपाली यू–१९ टिम वर्ष २०७६ मा सात अन्तर्राष्ट्रिय खेलहरू खेल्यो । सात खेलमध्ये ४ खेलमा जित निकालेको नेपालले ३ खेलमा भने हार व्यहोरेको थियो । मलेसियामा सम्पन्न आईसीसी यू–१९ विश्वकप छनौटमा ३० चैत्र २०७५ मा यूएईसँग १ रनको झिने अन्तरले पराजित हुनबाहेक नेपालले खेलेको सबै खेलमा शानदार जितको नतिजा निकालेको थियो । ६ राष्ट्र सम्मेलित उक्त प्रतियोगितामा यूएईसँग डकवर्थ लुइस नियमले गरेर १ रनले पराजय भएको नेपालले विश्वकपसम्मको यात्रा तय गर्न सकेन ।

cric

२० भदौमा श्रीलंकाको कोलम्बोमा आयोजित एसीसी यू–१९ एसिया कपमा नेपाल सहभागी भएको थियो । आठ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल बंग्लादेश, श्रीलंका र यूएईसँगै समूह ‘बी’ मा रहेको थियो । नेपालले समूह चरणमा खेलेको कूल ३ खेलमध्ये यूएईविरुद्धको खेलमा मात्र जित निकाल्न सक्यो ।

यूएईविरुद्ध १ सय ६० रनको विशाल अन्तरको जित निकालेको नेपाल श्रीलंका र बंग्लादेशविरुद्ध भने खासै चल्न सकेन । ३ खेलबाट दुई अंक बनाएको नेपाल समूह ‘बी’ को तेस्रो स्थानमा रहँदै घर फर्कियो ।

यस्तै, नेपाली यू–१९ टोलीले वर्ष २०७६ को अन्तिम खेल भने नेपाल भ्रमणमा आएको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग ३ कात्र्तिकमा कीर्तिपुरस्थित टीयु मैदानमा खेलेको थियो । एमसीसीले दिएको ३ सय ३४ रनको विशाल योगफल पछ्याएको नेपालले ५० ओभर पूरै खेल्दै २ सय ९६ रन मात्र बनाउन सफल भएको थियो ।

प्रशासकीय पक्ष

असोज २७ मा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि तीन वर्षदेखि लगाएको प्रतिबन्ध सर्शत रूपमा फुकुवा गर्‍यो । त्यसलगत्तै क्यानले नयाँ नेतृत्वसमेत पायो । तर आईसीसीको निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै सामाजिक सञ्जालमार्फत नेपालका कप्तान पारस खड्काले राजीनामा दिए । एक दशकदेखि नेपाली क्रिकेटको कप्तानी सम्हाल्दै आएका पारस खड्काको एक्कासी राजीनामा आउनुले नेपाली क्रिकेट क्षेत्र आश्चर्यमा पर्‍यो ।

aa

पारसको राजीनामाले नेपाली क्रिकेटमा हलचल मच्चायो र मथ्थर भयो । त्यसपछि विभिन्न छलफल पछि उपकप्तान ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई नेपाली टोलीको उप–कप्तान बनाइयो ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पट्वालको राजीनामाले पनि नेपाली क्रिकेट क्षेत्रमा केही खल्बली मच्चायो । प्रशिक्षक र क्यानबीचको मनमुटाव भएको धेरै अड्कलबाजीहरू भए ।

प्रशिक्षक पट्वालको राजीनामापछि जगत टमाटाले टोली सम्हाले । तर टोलीले लय समात्न नसकेको स्पष्ट देखिन्थ्यो । त्यसैको कारण नेपालले खेलेको एसीसी ईस्टर्न रिजन टी–२० प्रतियोगिता नेपाली खेलाडीहरूको प्रदर्शन बिर्सनलायक रह्यो ।

विश्व क्रिकेट जगतमा नेपालले २०७६ मा बनाएका कीर्तिमान

वर्ष २०७६ मा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पाँच विश्व कीर्तिमान बनायो । जसले अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटको थोरै भएपनि ईज्जत बचाउँदै चर्चा बटुलिरह्यो ।

असोजमा नेपालले सिंगापुर र जिम्बावेसँग खेलेको त्रिकोणात्मक सिरिजमा कप्तान पारस खड्काले विश्व कीर्तिमान बनाए । पहिलो खेलमा सिंगापुरविरुद्ध लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्दै टी–२०मा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पारस खड्का बने ।

नेपालमा सम्पत्र १३औं सागमा स्पिनर अञ्जली चन्दले माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नदिई ह्याट्रिकसहित ६ विकेट लिँदै टी–२० इतिहासकै उत्कृष्ट प्रर्दशन गर्दै विश्वभरि नै सनसनी मच्चाइन् ।

sdaf

त्यस्तै, आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाउँदै कम उमेरमा अर्धशतक बनाउने खेलाडी कुशल मल्ल बने । मल्लले नेपालकै अर्का खेलाडी रोहितकुमार पौडेलको कीर्तिमान तोड्दै आफ्नो नाम लेखाएका हुन् ।

सोही सिरिजको अर्काे खेलमा अमेरिकालाई १२ ओभरमा ३५ रनमा नै अल आउट गर्दै ओडिआईमा विपक्षी टोलीलाई सबैभन्दा कम योगफलमा रोक्न नेपाल सफल बन्यो । साथै ओडिआईमा सबैभन्दा कम बलमा विपक्षी टोलीलाई अलआउट गर्ने कीर्तिमान पनि नेपालले कायम गर्‍यो ।

नेपाली क्रिकेट वर्ष २०७६ को अर्को सफलता भनेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको आफ्नो ओडिआई खेलहरू कीर्तिपुर स्थित टीयु मैदानमा खेल्नु पनि हो ।

निरन्तरको खराब प्रदर्शन, खेलिएका प्रतियोगितामा पनि निराशाजनक नतिजाको बीच पनि नेपाली क्रिकेटले बनाएका विश्व कीर्तिमानहरूले थोरै भएपनि वर्ष २०७६ को घाउहरूमा मलहमपट्टि लगाउने प्रयास गरेको छ । वर्ष २०७७ मा नेपाली क्रिकेटको सबै खाले समस्या हटोस् र टेस्ट मान्यता प्राप्त राष्ट्र बन्ने यात्रामा नेपाली क्रिकेट अघि बढोस् ।

Loading...