कोरोना महामारी त्रासले खल्लो भयो नयाँ वर्ष , सुनसान भए पर्यटकिय क्षेत्र

विराटनगर, १ बैसाख । विराटनगर ३ पोखरीयाका निरज कट्टेटले नयाँ वर्षमा काठमाडौं हुँदै पोखरा घुम्न जाने योजना बनाएका थिए ।

सुनसरी चक्रघट्टीका विष्णु मगर पनि चितवनको सौराह जाने तयारीमा थिए । तर कोरोना महामारीका कारण उनीहरु दुबैको योजना रद्द भयो ।

कोरोना भाइरस महामारीको त्रासका कारण उनीहरु मात्र होइन, नयाँ वर्षमा नयाँ काम र घुमघामको योजना बनाएका सबैलाई असर गरेको छ ।

‘काठमाडौं टेक्ने ठूलो रहर थियो ।’ कट्टेल भन्छन् ‘ तर लकडाउनले गर्दा घरबाहिर जान पाइदैन ।’

कोरोना महामारीको सम्भावित जोखिम नियन्त्रण गर्न सरकारले १० चैतदेखि ३ बैशाखसम्म लकडाउन आह्वान गरेको छ ।

छिमेकी देश भारतमा संक्रमण बढिरहेका कारण नेपालको लकडाउन स्वत लम्बिने अवस्था सृजना भएको छ । आइतबार सात प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओलीले लकडाउन लम्बिने बताइसकेका छन् ।


कोरोना भाइरसको विश्वव्यापी महामारी त्रासका कारण आह्वान गरेको लकडाउनले नेपालीहरुले हर्षोल्लाससाथ नयाँ नयाँ ठाउँ घुमफिर गरेर मनाउने नयाँ वर्ष २०७७ यो पाली निरज र बिष्णुको जस्तै खल्लो भएको छ ।

सबैले योजना रद्द गरेर यो पाली घुमफिर गरेर नयाँ बर्ष मनाउनु भन्दा लकडाउनमा घरमै सुरक्षित बसेर कोरोना भाइरस संक्रमणलाई पराजित गर्नु नै उत्तम मानेका छन ।

लकडाउनले प्रदेश १ का पर्यटकिय क्षेत्र सुनसान, होटल बन्द

कोरोना महामारी त्रासका कारण प्रदेश १ का मुख्य पर्यटकिय क्षेत्र सुनसान बनेका छन । पर्यटकिय क्षेत्रमा रहेका होटलहरु त सबै बन्द अवस्थामा छन ।

प्रदेश १ को मुख्य प्राकृतिक पर्यटकिय क्षेत्र धनकुटाको भेडेटार लकडाउनपछि सुनसान छ । यहाँका सबै होटलहरु बन्द अवस्थामा छन ।

नयाँ बर्षमा १० हजार हाराहारी मानिश घुमफिर गर्न भेला हुने र आम्दानी पनि राम्रो हुने सिजनमा कोरोनाको लकडाउन परेपछि उद्यमीहरु निरास भएका छन ।

भेडेटार मात्र हैन धनकुटाको हिले , तेह्रथुमको बसन्तपुर बजार पनि सुनसान छन । लकडाउनले तेह्रथुम , शंखुवासभा र पाँचथरमा पर्ने टिएजे ( गुराँस बन) क्षेत्र पनि प्रभावमा परेको छ । गुराँस फुलेर ढकमक्क भएपनि यसपाली यहाँ हेर्न आउने पर्यटक छैनन ।


यस्तै नयाँ बर्षमा घुँइचो हुने सुनसरीको बराहक्षेत्र , धरानको बिजयपुर खोटाङको हलेसी ,इलामको सानो पाथिभरा जस्ता तीर्थस्थलहरु पनि सुनसान हुनपुगेका छन । हजारौको भीड ओइरिने इलामको कन्याम , अन्तु , फिक्कल र इलाम बजारमा पनि पर्यटक जान पाएनन ।

लकाउनले गर्दा प्रदेश १ सरकाले ५ पुसमा राजधानी विराटनगर स्थित शहिद रँगशालामा हर्षबढाई सहित औपचारिक कार्यक्रम आयोजना गरेर पाँच लाख पर्यटन भित्रयाएर नेपाल भ्रमण बर्ष सफल बनाउने योजना पनि असफल भएको छ ।

कोरोना महामारी त्रासका कारण पर्यटन क्षेत्र तत्काल माथिउठ्न सक्ने अवस्था नरहेको पर्यटन व्यावसायी भविष श्रेष्ठ बताउँछन् । ‘ लकडाउन सुरुहुनु अघि नै पर्यटन क्षेत्र सुनसान थियो ।’ उनले भने ‘ लकडाउन खुले पनि पर्यटन क्षेत्र उठ्नका लागि निकै समय लाग्छ ।’

उनका अनुसार सामान्य अवस्थामा नयाँ वर्षमा प्रदेश १ मा भारतबाट मात्र ५ हजार हाराहारी पर्यटकहरु घुमफिर गर्न आउथे ।‘नयाँ वर्षमा आन्तरिक पर्यकटको पनि ठूलो उपस्थीति हुन्थ्यो ।’ उनी भन्छन् ‘ यो पटक त लकडाउनले सबै सुनसान छ ।’

पर्यटन व्यावसायी पुन्य भट्टराई कोरोना महामारीका कारण यातायात र पर्यटन क्षेत्रमा ठूलो असर परेको बताउँछन् ।

‘नयाँ वर्षमा चहल पहल धेरै हुन्थ्यो ।’ उनले भने ‘ होटलमा कोठा पाउनै मुस्किल पथ्र्याे, तर महामारीले सबै होटल सुनसान छन ।’

नयाँ वर्षमा देशभर पर्यटन क्षेत्रमा २५ अर्ब हाराहारी कारोवार हुने अनुमान भट्टराईको छ । तर महामारी त्रासका कारण सबै क्षेत्र प्रभावित भएका छन ।

‘पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन अझै कतिसमय लाग्ने हो ।’ उनी भन्छन् ‘ महामारी सकिनै वित्तिकै पर्यटन र यातायत क्षेत्र सामान्य अवस्थामा आउन सक्दैनन् ।’

फोटो , फायल गुगल ।

Loading...