स्वास्थ्य सामाग्री चीन र भारतबाट किन्ने तयारीमा सेना

काठमाडौं । छिमेकी भारत र चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सकिने लिखित जवाफ जंगी अड्डालाई दिएका छन्।

भारतले ६० प्रकारका औषधि दिन सकिने जवाफ दिएको छ। उसले स्वास्थ्य सामाग्री भने दिन नसकिने बताएको छ। भारत स्वयं कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ। चीनले औषधि र स्वास्थ्य सामग्री दुवै दिन सकिने भनेको छ। भारत र चीन दुवैले तत्काल उपलब्ध गराउन सकिने औषधि र स्वास्थ्य सामाग्रीको सूची पठाएको हो।

उनीहरूले सबै सामाग्री एकै पटक पठाउन नसकिने भनेका छन्। भारत र चीन दुवै मुलुकले तत्काल उपलब्ध गराउन सकिने र पठाउन केही समय लाग्ने औषधि तथा स्वास्थ्य सामाग्रीको सूची जंगी अड्डालाई पठाएका हुन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ । सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

ढुकुटीमा रकम थुप्रिए पनि सरकारले वैदेशिक ऋणको साँवा र ब्याज तिर्ने समय बढाइदिन विकास साझेदारहरूसँग आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघ मसान्तमा केन्द्रिय बैंकमा रहेका सरकारका विभिन्न खातामा स्थानीय तहको खातामा रहेको ६० अर्ब ७ करोडसमेत कुल २ खर्ब ४१ अर्ब ३१ करोड नगद मौज्दात रहेको छ ।

साथै, वैदेशिक मुद्रा संचिती पनि आगामी ८ महिनाको बस्तु तथा सेवा आयातको लागि पुग्ने राष्ट्र बैकको तथ्यांकले देखाउँछ । यस्तै, माघयता सरकारले राजस्व परिचालनको लक्ष्य पूरा गर्न नसकेजस्तै आफ्नै लक्ष्यअनुरुप खर्च पनि गर्न सकेको छैन । तर, अन्तर्राष्ट्रिय विकास साझेदार प्रतिनिधिसँगको शुक्रबारको छलफलमा अर्थ तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले ऋण चुक्ता गर्ने समय थप मागेका छन् । आजको कारोवार दैनिकमा खबर छ ।

Loading...