यावत यायावरहरूको यादमा

dfg
रामप्रसाद पौडेल

सम्पूर्ण ब्रम्हाण्ड नै हात पारुँलाझैं गरी
जिन्दगीको दौडमा अरुलाई खोचे थाप्दै/पछार्दै
आफू छिटो छिटो कुद्ने गजाधर कोइरालाहरू
सुन्दैछु आँखाले देख्न नसकिने एउटा अमुक जीवसँग
अस्पतालको शैय्यामा लडाईं लडिरहेका छन्


छिमेकी मस्त निदाएको रातमा
कोदाली बोकेर साँधको आली ताछ्न निस्कने बस्नेत काजीहरू
साँझ छिप्पिएपछि साधुराम चौधरीको करेसाबारीबाट
लौका टिपेर बिरालाको चालमा भान्सा पस्ने शकुन्तला काकीहरू
विदेश पठाइदिने प्रलोभनमा पारी
राजिन्दर बेस्राहरूको गाँस खोसेर
आफू मदिरा–मन्दिराहरूमा विलिप्त हुने दौलतविक्रम जमरकट्टेलहरू
सबका सब सुस्ताएका छन् यतिखेर

उनीहरूले कुदाइरहेको जिन्दगीको यानलाई
एकाएक ब्रेक मारेर, जिन्दगी आफैंले नयाँ परिभाषा खोज्न थालेपछि
जनताको छातिमाथि उभिएर बेजोड भाषण छाँट्ने
काला मन भएका राता मान्छेहरू
निधारमा आस्थाको खरानी धसेर
समाधी–काखमाअप्सरा खेलाउने गिरी, पुरी र उपाध्यायहरू
बेसारमा इँटाको धुलो मिसाएर बेच्ने गुप्ताहरू
तराजुको काँटा बंग्याउने वंशलहरू
र ढकको चाक चोइट्याउने अग्रवालहरू
बाख्रीको कल्चौंडो ताछेर
बोकाको अण्डकोष टाँस्ने कादिर हुसेनहरू
मस्याङको बोरामा
काउसोको दाना मिसाएर बेच्ने गुभाजुहरू
मरेको मान्छेको नाउँमा
वृद्धभत्ता हसुर्ने काट्टे जनप्रतिनिधिहरू
मूर्छा परि पछारिएका छन् आफ्नै घरको चौघेराभित्र

यतिखेर उनीहरूको जीवनको हिसाबकिताब फेल खाएको छ
उनीहरुले पढेको अंकगणित पछारिएको छ आफ्नै शुत्रहरूमा
जीवनको कंकाल त्रासको पिँजडाभित्र कैद भएको छ
आफ्नै कूकृत्यहरूको करेण्ट लागेर पछारिएको अस्थिपञ्जर
मान्छे नामको अज्ञानी, अदूरदर्शी र घमण्डी जीव
मनमा कटकटिएको मैलो यथास्थितिमा छोडेर फेरि उभिने प्रयत्नका साथ
आशाको त्यान्द्रो समाउँदै
हरेकआधा घण्टामा हात धोइरहेको छ !

मनहरी–१, मकरी मकवानपुर
हाल : विराटनगर

Loading...