कोरोना उपचार गर्न मलेरियाको औषधिको परीक्षण

वासिङ्टन डिसी, २८ चैत । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मलेरियाको औषधि कोरोनाका संक्रमितलाई उपचार गर्न प्रभावकारी हुने बताउदै आएकाछन् ।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिए ।

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने जनाएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ । १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

Loading...