फोर्ब्सले सार्वजनिक गर्‍यो विश्वका सर्वाधिक धनी क्लबका मालिकहरूका सूचि

एजेन्सी, २८ चैत । फोर्ब्सले यसै साता विश्वकै सर्वाधिक धनी क्लबका मालिकहरूको सूचि सार्वजनिक गरेको छ । सूचिमा नेशनल बास्केटबल एशोसिएसन (एनबीए) क्लब, लस एन्जेलस क्लिपर्सका मालिक स्टीव बाल्मर शीर्ष स्थानमा रहेका छन् ।

अघिल्लो वर्ष पहिलो स्थानमा रहेका भारतीय क्रिकेट क्लब मुम्बई इन्डियनका मालिक मुकेश अम्बानी यस वर्ष भने दोस्रो स्थानमा झरेका छन् । सूचिको पहिलो स्थानका बाल्मर सेफ्टवेयर कम्पनी माईक्रोसप्टका पूर्व सिईओसमेत हुन् ।

फोर्ब्सका अनुसार अघिल्लो वर्षको सूचिमा दोस्रो स्थानमा रहेका बाल्मरले आफ्नो कुल सम्पत्ति २८ प्रतिशतले वृद्धि गरेर ५२.७ विलियन डलर पुर्‍याउँदै पहिलो स्थानमा उक्लिएका हुन् । सन् २०१४ मा डोनाल्ड स्टर्लिगंसँग दुई विलियन डलरमा बास्केटबल क्लब क्लिपर्स खरिद गर्दै बाल्मर खेलकूद जगतमा प्रवेश गरेका थिए । क्लिपर्स खरिद गरेपश्चात उनले क्लबका लागि ठूलो लगानी गर्दै आइरहेका छन् ।

फोर्ब्र्सका अनुसार विश्वमा हाल ६० अर्बपतिहरू छन् जसले ८० वटा विभिन्न क्लबहरूमा लगानी गरेका छन् । विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण खेल क्षेत्रमा लगानी गरेका अर्बपतिहरूको आम्दानीमा भारी गिरावट आएको छ । फोब्र्सका अनुसार उनीहरूको सम्पत्तिको कुल मूल्य ४ सय ५५ विलियन डलरबाट घटेर ३ सय ८३ मिलियन डलरमा झरेको छ ।

विश्वका सर्वाधिक धनी क्लबका मालिक र उनीहरूको क्लब यस प्रकार रहेको छः

स्टीभ बाल्मार

अमेरिकी अर्बपति व्यापारी स्टीभ बाल्मार बास्केटबल क्लब लस एन्जलस् क्लिपर्सका मालिक हुन् । फोर्ब्सका अनुसार अघिल्लो वर्षको कूल सम्पत्तिमा २८ प्रतिशतले वृद्धि हुँदै यो वर्ष उनको कूल सम्पत्ति ५२.७ विलियन अमेरिकी डलर पुगेको छ ।

स्टीभ बाल्मार विश्वचर्चित कम्पनी माईक्रोसफ्टमा सन् २००० जनवरीदेखि २०१४ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

मुकेश अम्बानी

एशियाकै धनी व्यक्ति अम्बानी भारतीय क्रिकेट क्लब मुम्बर्ई इंन्डियन्सका मालिक हुन् । सूचिको दोस्रो स्थानको अम्बानीको कूल सम्पत्ति ३६.८ विलियन डलर रहेको छ । फोर्ब्सका अनुसार रिलायन्स ईन्डस्ट्रीज लिमिटेडका मालिक अम्बानी अघिल्लो वर्षको सम्पत्तिमा २६ प्रतिशतको भारी गिरावट आएपछि सूचीको दोस्रो स्थानमा चिप्लिएका हुन् ।

फ्रान्सेइस पिनोल्ट र परिवार

फ्रान्सेली फुटबल क्लब स्टयाडे रेनाइसका मालिक फ्रान्सेइस पिनोल्ट फ्रान्सका अर्बपति हुन् । केरिङ र आर्टेमस जस्ता कम्पनीका मालिक पिनोल्टको कूल सम्पत्ति २७ विलियन डलर रहेको छ ।

डाइट्रिच मातेसिट्ज

अस्ट्रेलियन अर्बपति डाइट्रिच दुई भिन्न क्लबका मालिक हुन् । अमेरिकी फुटबल क्लब न्यूयोर्क रेड बुल्स र बेलायतको फर्मुला वान रेसिङ क्लब, रेड बुल रेसिङमा उनको ठूलो लगानी छ । विश्वचर्चित ईनर्जी ड्रिंक रेडबुल उत्पादक कम्पनीको सह–संस्थापक डाइट्रिचको कुल सम्पत्ति १६.५ विलियन डलर रहेको छ ।

हासो प्लाटनर र परिवार

क्यालिफोर्नियास्थित व्यवसायीक आईस हक्की क्लब हो सान जोस सार्क र सार्क क्लबका मालिक हुन् हासो प्लाटनर । जर्मन व्यवसायी, अर्बपति एवम् सफ्टवेयर कम्पनी साप्सेका सह–संस्थापक हासो प्लाटनरको कूल सम्पत्ति १२.४ मिलियन डलर रहेको छ ।

डेभिड टेपर

अमेरिकी अर्बपति व्यवसायी हुन् डेभिड टेपर । अमेरिकी फुटबल क्यारोलिना प्यानथरका मालिक डेभिडको कूल सम्पत्ति १२ विलियन डलर रहेको छ । क्यारोलिना प्यानथरबाहेक नाम नखुलाईएको अर्को क्लबमा समेत उनको लगानी रहेको छ ।

रोमन अब्रामोविच

अब्रामोविच इजरायली–रसियन अर्बपति व्यवसायी हुन् । उनी मिलीहाउस एलएलसी नामक लगानी कम्पनी चलाउँछन् । विश्वचर्चित इंग्लिस फुटबल क्लब चेल्सीका उनी मालिक हुन् । फोब्र्स अनुसार उनको कूल सम्पत्ति ११.३ विलियन रहेको छ ।

फिलिप अन्सचुट्ज

अमेरिकी व्यवसायीक आईस हकी क्लब लस एन्जसल किंग्स र व्यवसायीक फुटबल क्लब एल ए ग्यालेक्सीका मालिक हुन् फिलिप अन्सचुट्ज । अमेरिकी अर्बपति अन्सचुट्ज व्यवसायीक विविधताको लागि परिचित छन् । उनी खेलकूद, ऊर्जा, रेल मार्ग, चलचित्र, थिएटर र रियल इस्टेटको व्यवसाय गर्छन् । उनको कूल सम्पत्ति ११ विलियन डलर रहेको छ ।

स्टेन क्रोएन्के

फोब्र्सले सार्वजनिक गरेको सूचिमा सबैभन्दा धेरै क्लबमा लगानी गरेको अर्बपति हुन् स्टेन क्रोएन्के । अमेरिकी अर्बपति व्यापारी क्रोएन्केको पाँच क्लबमा लगानी रहेको छ । विश्वचर्चित इंग्लिस फुटबल क्लब आर्सनल, अमेरिकी सकर क्लब कोलोराडो ¥यापिड, अमेरिकी बास्केटबल कम्पनी डेन्वर नग्जेट्स र अमेरिकी फुटबल क्लब लस एन्जलस रम्सका मालिक क्रोएन्के हुन् । फोब्र्सका अनुसार उनको कूल सम्पत्ति १० विलियन डलर रहेको छ ।

जोसेफ साई

स्टेन क्रोएन्के जति नै समान सम्पत्ति भएपनि फोर्ब्र्सले जोसेफ साईलाई सूचीको १०औं स्थानमा राखेको छ । साई क्यानेडियन अर्बपति व्यापारी हुन् । ताईवानमा जन्मेर उच्च शिक्षा अमेरिकामा ग्रहण गरेका साई चिनियाँ बहुराष्ट्रिय कम्पनी अलीबाबाका सह–संस्थापक हुन् । अमेरिकी बास्केटबल क्लब ब्रुकलिन नेट्सका मालिक जोसेफ साईको कूल सम्पत्ति १० विलियन डलर रहेको छ ।

Loading...