स्वस्थ देखिने मानिसबाट पनि सर्छ कोरोना

एजेन्सी, २८ चैत । स्वस्थ देखिने मानिसहरूबाट नै कोरोना भाइरसको संक्रमण फैलिन सक्ने थप प्रमाण निकाल्दै वैज्ञानिकहरूले उक्त कुराको दाबी गरेका छन् ।

एपी न्यूजका अनुसार नयाँ तथ्यबारे जानकारी दिँदै वैज्ञानिकहरूले स्पष्ट लक्षण नदेखिएका व्यक्तिहरूको माध्यमबाट कोरोनाको संक्रमण फैलिने गरेको बताएका छन् ।

साथै संघीय सरकारले समेत भाइरसको सम्पर्कमा आएको जो कोहीबाट पनि संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

हालै गरिएको सिंगापुरको एक अनुसन्धानले नयाँ संक्रमणमध्ये करिब १० प्रतिशत स्वस्थ देखिने मानिसहरूको माध्यमबाट भाइरस फैलिएको देखाएको छ भने उनीहरूमा भाइरसको संक्रमण भए पनि फ्लु जस्तो कुनै पनि मुख्य लक्षण भने नदेखिएको बताइएको छ ।

उक्त अध्ययन र अन्य केही अध्ययनको आधारमा अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) ले संक्रमणको जोखिमको परिभाषा नै परिवर्तन गरेको बताएका छन् ।

सिडिसीले संक्रमितसँग सम्पर्कमा आएका तर पूर्ण रूपमा भाइरसको लक्षण नदेखिएका व्यक्तिहरूलाई मुख्य जोखिम मान्दै लक्षण देखिएका तथा नदेखिएका जो कोही पनि भाइरस फैलाउने माध्यम बन्न सक्ने बताएको छ ।

नयाँ तथ्यहरूले कोरोना भाइरस नियन्त्रणका प्रयासहरूमा जटिलता थपिदिएको छ भने संक्रमण फैलिन नदिन सामाजिक दूरी तथा अन्य उपायहरू महत्त्वपूर्ण रहेको थप पुष्टि गरेको छ ।

टेक्सस युनिभर्सिटीकी प्रोफेसर लरेन मेयर्सले हेर्दा पूर्ण रूपमा स्वस्थ देखिने मानिससँग पनि दूरी कायम गर्ने कुरामा निकै चनाखो हुनुपर्ने कुरामा जोड दिएकी छिन् ।

सिडिसीले प्रकाशित गरिएको सिंगापुरको अध्ययनमा मुख्य लक्षण नदेखिएका संक्रमित व्यक्तिहरूले विभिन्न सात समूहमा संक्रमण फैलाएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

जुन स्थानीय संक्रमणको ६ प्रतिशत रहेको छ ।

त्यसअघि कोरोना भाइरसको उद्गम विन्दु मानिएको चीनमा गरिएको अध्ययनमा लक्षण नदेखिएका संक्रमितहरुका कारण १० प्रतिशतभन्दा बढी संक्रमण फैलिएको पाइएको थियो ।

कोरोना भाइरसको लक्षण नदेखिएका तर संक्रमण फैलाउन सक्ने मानिसहरूलाई ‘प्री-सिम्प्टोम्याटिक’ (जसमा केही दिनपछि मात्रै लक्षण देखिन्छ), ‘एसिम्प्टोम्याटिक’(जसमा लक्षण नै देखिँदैन) र ‘पोस्ट-सिम्प्टोम्याटिक’ (रोगबाट निको भए पनि संक्रमण फैलाउन सक्ने) गरी तीन प्रकारमा विभाजन गरिएको छ ।

सिंगापुर र चीनमा गरिएको धेरैजसो अध्ययनहरू ‘प्री-सिम्प्टोम्याटिक’मा केन्द्रित भएर गरिएको छ ।

Loading...