सामाजिक दूरी अपनाउँदै ‘प्रेमगीत ३’ टिमको रक्तदान

विराटनगर, २८ चैत । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्नका लागि नेपाल अहिले लकडाउन छ ।

लकडाउनका कारण अन्य रोगसँग लडिरहेका बिरामीहरूमा जटिल असर पर्न थालेको छ ।

त्यसको मुख्य कारण रगत बैंकमा रगतको अभाव । देशमा रगतको अभावलाई मध्यनजर गर्दै फिल्म ‘प्रेमगीत ३’ को टिमले बिहीबार रक्तदान गरेको छ ।

फिल्मसँग जोडिएका ४० जना मानिसहरूले रक्तदान गरेको फिल्मका निर्देशक, कलाकार तथा निर्माता सन्तोष सेनले आफ्नो औपचारिक फेसबुकमार्फत् जानकारी दिएका हुन् ।

उनले अहिले लागु गरिएको लकडाउनका कारण यो समय रक्तदान गर्न असम्भव भएपनि सरकारले गरेको बन्दाबन्दीलाई मध्यनजर गर्दै “प्रेम गीत ३” परिवार का ३५ देखि ४० जनाले भीडभाड् नगरी सामाजिक दूरी अपनाउँदै २ जना २ जना गरी पालो पालो गरेर रगत दान गरेको बताएका छन् ।

निर्माता सेनसँगै फिल्मका अभिनेता प्रदीप खड्का, नव-अभिनेत्री क्रिस्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, नव-अभिनेता मनिष राउतलगायतले राजधानीमा रहेको ग्रिनसिटी हस्पिटलमा पुगेर रक्तदान गरेका हुन् ।

आफूहरूले गरेको रगत देशभर पुग्न नसके पनि सबैले एउटा समूह बनाएर भीडभाड नगरी रक्तदान गर्न सके विभिन्न रोगसँग लडिरहेका बिरामीलाई जीवनदान मिल्ने हुँदा सेनले सबैलाई आ-आफ्नो स्थानबाट सकेको प्रयास गर्न पनि आग्रह गरेका छन् ।

यसअघि ‘प्रेमगीत ३’ टिमले ११ हजार मास्क वितरण गरेको थियो । ‘प्रेमगीत ३’ फिल्मको प्रदर्शन कोरोनाका कारण अनिश्चितकालका लागि अहिले स्थगित गरिएको छ ।

Loading...