कोभिड १९ संगको युद्धमा इटालीबाट केही सिकाैं

गिरिजाकुमार भट्टराई

कोरोना भाइरसको उद्गमथलो चीनको बुहानबाट फैलिन सुरु गरेको संक्रमण ३१ जनवरी, २०२० का दिन चाइनाबाट इटलीको रोम शहरमा भ्रमणका लागि गएका दुई पर्यटकमा पहिलोपटक देखियो ।

यसको संक्रमण देखिएपश्चात पनि इटालीको सरकारले यसलाई सामान्य रुपमा लियो ।

यसको एक हप्तापछि, चीनको बुहानमा रहेको एक इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखियो र उनलाई आफ्नै देश फकाईयो ।

संक्रमितको संख्या तीन पुगेसँगै अस्पतालमा उपचार गर्न थालियो । तेश्रो केस इटालीमा देखिँदासम्म पनि त्यहाँका जनताहरुले यसलाई गम्भीर रुपमा लिएनन् ।

दैनिक रुपमा सञ्चालन गरिने सम्पूर्ण क्रियाकलापहरु समान्य रुपमा अघि बढाइयो । यस समयसम्म यो घटना सबैको लागि एक सामान्य समाचार मात्र बनिरहेको थियो ।

गिरिजाकुमार भट्टराई

फेब्रुअरी २१ का दिन लोम्बार्डी भन्ने शहरमा अचानक १६ वटा संक्रमणका केसहरु सामने आइपुग्यो । यस सुन्दर र व्यस्त शहरले कहिले पनि सोचेन कि यो संक्रमण हामीलाई पनि हुनसक्छ भनेर । काम, व्यवसाय, उद्योग, लगानी, मनोरञ्जन, भ्रमण तथा खेल जस्ता कृयकलापहरु नियमित रुपमा हुँदै गए ।

मानिसहरुलाई लाग्न थालेको थियो कि यो अरुलाई भएको संक्रमण हो, हामीकहाँ कहिल्यै पनि आइपुग्दैन । यस प्रकारको सोच आउन पनि स्वभाविक हो किनकि इटाली विश्वकै स्वाथ्य उपचारमा उत्कृष्ट मध्ये एक मुलुक हो ।

यसपछि के भयो ?
कोभिड १९ को संक्रमण अब उत्तर इटालीभर फैलिइसकेको थियो । इटालियन सरकारले यसलाई हट्सपटको रुपमा पहिचान गर्यो ।

जब संक्रमित स्थान पहिचान गर्न थालियो, समय धेरै बितिसकेको थियो । अब पहिचान गरेको स्थानमात्र होइन तर पूरै लोम्बार्डी शरह लकडाउन गर्नुपर्ने स्थिति आयो । ८ मार्चमा इटालीका प्रधानमन्त्री कोन्टीले उत्तरी शहरको १४ स्थानका मानिसहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय गरे ।

सुरुमा सहज रुपमा लिएको संक्रमण यसरी फैलिन थाल्यो कि २१ मार्चमा इटालियन सरकारले सम्पूर्ण व्यवसाय, कलकारखाना, बजार, विद्यालय, भेटघाट र अन्य सबै क्रियालकलाप बन्द गराउने निर्णय गरे । तर ६ अप्रिलसम्म आइपुग्दा इटाली अब विश्वकै कोभिड १९ को परेडस्थल मध्ये एक बन्यो ।

समयमा ध्यान पुर्याउन नसक्दा इटाली सरकारले अतुलनीय क्षति व्यहोर्नुपर्यो । सबै उद्योगहरु बन्द भए, व्यवसायहरु धराशायी भए, क्रियाशील मानिसहरु घरमा बन्द हुन पुगे, अस्पतालमा बिरामीहरु खचाखच भरिन थाले, कहिल्यै नदेखेको मृत्युको भयले मानिसलाई पिरोल्न थाल्यो ।

संसारमा स्वास्थ्य उपचारमा अग्र स्थानमा रहेको इटाली अब घुँडा टेक्नुपर्ने अवस्थामा आयो । कहिल्यै नसुनेका चित्कारहरु सुनिन थाल्यो ।

दैनिक औषत हजारको हाराहारीमा मानिसहरु मर्न थाले । चाइनामा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको थियो भने आजको दिनसम्म इटालीमा १६ हजार ५ सय २३ मानिसहरुको मृत्यु भइसकेको छ । इटालीको रोमको सभ्यता कहिले सुरु भयो भन्ने यकिन इतिहास छैन, त्यस्तो देशलाई यस महामारीले अब थला पार्न थाल्यो ।

अब अस्पतालमा उपचारार्थ, आवश्यक किटको आवश्यकता टड्कारो पर्न थाल्यो । एकै दिनमा हजार्रौ मानिसहरु अस्पतालमा भर्ना हुन थाले । तर उपचारको लागि आवश्यक पर्ने पीपीई सेट, भेन्टिलेटर, टेस्टिङ किट, औषधि र आवश्यक पर्ने बेडको समेत हाहाकार हुन थाल्यो ।

यस अवस्थामा चाइनाबाट मगाएको किट्हरु पनि मापदण्ड अनुसार भएनन्, अब जे कुरा उपलब्ध थियो सोहीको उच्चतम प्रयोग गरी उपचार गर्नुपर्ने अवस्था सृजना भयो । यस कठिन परिस्थितिमा युरोपियन युनियनमा भएको कारणले, यहाँबाट पनि केही सहयोगको अपेक्षा गरिएको थियो, तर सोचेजस्तो प्रतिक्रिया त्यहाँबाट पनि आएन ।

यसको परिणाम सायद इटाली तंग्रिएपछि देखिएला, जसरी बेलायत ईयुबाट पहिले नै अलग भइसकेको छ । यस्तो अवस्था सिर्जना हुँदा डाक्टरहरु तथा नर्सहरु आफैं संक्रमित हुन थाले । ७० जनाभन्दा बढी डाक्टर र नर्सको समेत मृत्यु भयो, तर यस्तो अवस्थामा उपचारमा संलग्न ८ हजार डाक्टरहरु र स्वयंमसेवकहरु भाग्ने काम गरेनन् ।

संक्रमण रोक्ने प्रयास ढिलै भए पनि यहाँको सरकारले आफ्नो नागरिकको सुरक्षाको लागि गर्नुपर्ने सबै दायित्य पूरा गर्दै आयो । २१ दिनको संघर्षपछि पहिलो पटक ५ अप्रिलमा मृतकको संख्यामा कमी आयो र यो निरन्तर कम हुने क्रममा गइरहेको छ । नयाँ संक्रमणको केसहरुमा पनि कमी आएको देखिन्छ ।

संघर्षमा पनि प्राविधिक विकास
नेपाली उखान छ “सबैकुरा खानु तर कहिल्यै हरेस नखानु” । यही उखान इटालीमा प्रचलनमा नभए पनि जीवन र मृत्युको संघर्षमा उभिएका डाक्टरहरुले उपचार प्रविधिमा उल्लेख्य विकास गरेका छन् ।

अहिले जसरी विश्वका धेरै मूलुकहरु भाइरस निको गर्ने औषधि पत्ता लगाउन विविध अनुसन्धान र प्रयोग गरिरहेको छ, त्यसरी नै इटालीका वैज्ञानिकहरुले अनुसन्धान र उपचारलाई निरन्तरता दिएका छन् ।

उपचारमा संलग्न डाक्टरहरुको मृत्यु भएता पनि उपचारलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भनि लागिपरेका छन् । त्यहाँको भयावह अवस्थालाई मध्यनजर गर्दै पहिलो चरणमा स्विस सरकारले ६ वटा रोबर्ट र अन्य उपचारमा आवश्यक सामाग्रीहरु सहयोग गर्यो, जसले गर्दा त्यहाँ कार्यरत डाक्टर र नर्सहरुलाई थप हौसला प्रदान गर्यो ।

अहिलेसम्म २२ हजार ८ सय ३७ जना निको भई घर फर्किसकेका छन् । स्विटजरल्याण्ड सरकारले उपलब्ध गराएको केही रोबर्टहरु टाउकाबिहीन छन् जसमा ६ वटा चक्काहरु जडान गरिएका छन् ।

यी रोबर्टहरुलाई इन्टेन्सिभ केयर युनिटमा प्रयोग गरिएको छ । यसको प्रयोगले उपचारको समयमा संक्रमण फैलिन सक्ने जोखिमलाई केही हदसम्म न्यूनीकरण गरेको छ । यस रोबर्टले बिरामीमा देखा परेका विभिन्न संकेत तथा विवरणहरु पेश गर्दछ ।

यसरी विवरण रोबर्टले नै सम्प्रेषण गर्ने हुँदा डाक्टर–बिरामीको सम्पर्कमा बारम्बार जानु पर्दैन । अहोरात्र खटिएका डाक्टरहरुमा यस सहायताले उनीहरुको मुहारमा मुस्कान फर्काएको मात्र होइन, उनीहरुमा हौसलासमेत बढाएको छ ।

सबैलाई दिएको शिक्षा
यस घटनाबाट इटाली सरकार निकै सजग भएको छ । सारा संसारले यसबाट राम्रो पाठ सिक्न सकेको छ कि हामी सबै एउटै डुंगामा छौं ।

एक कुना त डुबेको हो नि हाम्रोतिर केही पनि भएको छैन भन्ने सोचाइलाई यो संक्रमणले मुक्का हानेको छ । सुरुमा चाइनामा मात्र फैलिएको हो हामी कहाँ आउन सक्दैन, आइहाले यसलाई हामी सहजै निदान गर्र्छौ भन्ने भ्रमलाई यसले चिरिदिएको छ । तर इटाली सरकार गम्भीर रुपमा यसलाई निदान गर्न लागिपरेको छ ।

यहाँको सरकारले अहिलेको अवस्थालाई मध्यनजर गर्दै हाल गरिएको लकडाउन अझ केही समयलाई लम्ब्याउने तय गरेको छ । अर्थतन्त्रभन्दा पनि मानव अस्तित्व ठूलो हो भन्नेकुरा स्पष्टसँग बुझेको छ ।

Loading...