कोरोना : चुनौती मात्र हैन अवसर पनि हो

जीवन खड्का

करिब तीन महिना अगाडि विश्वको शक्तिशाली राष्ट्रहरूमध्ये चीनको वुहान शहरबाट एक अप्रत्यासित समाचार सुन्नमा आयो । एउटा सानो, आखाले देख्ने नसकिने सुक्ष्म भाइरसले मानिसहरूको एकपछि अर्को गर्दै ज्यान लिइरहेको छ रे । कस्तो अचम्म, कृत्रिम चन्द्रमा बनाउन तयार रहेको राष्ट्रले जाबो एक किसिमको भाइरसलाई परास्त गर्ने औषधि बनाउन सकेको छैन रे ।

विश्व हाँक्ने लडाकुहरूको घरको एक कुनामा लुकेर बसेका छन् रे । यस्तै ‘रे’ हरू सुन्दै आइरहेका छौं हामीले र समाचारमा विश्वका अनेक भिडियोहरू हेर्दा एकछिन भावुक भएपनि टिभी बन्द गरेपछि भने हामी आफ्नै दुनियाँमा फर्किन्छौं । हामीलाई लाग्छ त्यो भाइरस त हाम्रो देशको अग्लाग्ला हिमाल पारीको देशहरूमा मात्र छ । यहा आइपुग्ने त सम्भावना नै छैन ।

छोटो अवधिमै चीनदेखि युरोपका सयौं मुलुकहरूमा यसले आफ्नो भ्रमण तय ग¥यो र इटालीलाई ध्वस्त बनायो, फ्रान्सलाई रुवायो, अमेरिकाको खुट्टा कमाइदियो र भारतलाई यसले दक्षिण एसियाकै इपिसेण्टर बनाउने जमर्को यसले गरिरहेको छ । हामी त छुटै संसारमा बस्छौं र हाम्रो देशलाई कोरोना प्रोटेक्टिभ शिलले घेरेको झैँ गरी साथी भइ भेट्ने, कार्यालय जाने, बजार डुल्ने, पार्टी गर्ने जस्ता क्रियाकलापले गर्दा हामी यसबाट अछुतो रहन सकेनौं ।

आज मुलुक लकडाउनमा गुज्रिरहेको छ । हाम्रो अर्थतन्त्र लकडाउनमा छ, हाम्रो बसाइ–उठाई लकडाउनमा छ भने धेरैको तन र मननै लकडाउनमा छ । कोरोनाको कारणले गर्दा उत्पन्न भएको मनोवैज्ञानिक त्रासले गर्दा मानिसको तन र मन लकडाउनमा जाने अवस्था छ । हामी अत्यन्तै भयवित भएका छौं ।

हामीलाई निन्द्रा लाग्दैन, रुन मन लाग्छ र यस्तै असामान्य तरिकाले हाम्रो दैनिकी बितिरहेको अवस्था छ । पक्कै पनि कोरोना एक ठूलो समस्या र चुनौती हो । संसारको मानिसको जीवनको अस्तित्व नै मेटाउने हो कि भन्ने सवाल यसले उठाएको छ । तर अर्कोतिर यसलाई परास्त गर्नलाई हामी डटेर, खटेर यसको सामना गर्नुपर्छ भन्ने कुरा पनि सत्य हो ।

हरेक अँध्यारा रातहरूले सुनौंलो बिहानीको भविष्यलाई बोकेको हुन्छ भनेझैँ यस कोरोनाको कहरले हाम्रो जीवनलाई अझै धेरै निखारिएर प्रस्तुत गराउने कुरा पनि पक्का छ । यो कसरी सम्भव छ त भन्दा आज हामीले हाम्रो अत्यन्तै व्यस्त दैनिकीबाट छुट्कारा पाएका छौं ।

बिहान बेलुकाको धुलो धुँवाबाट मुक्ति पाएका छौं । आफ्ना प्यारा मान्छेसँग दिन बिताउन पाएका छौं । हामीलाई यस्तो फुर्सदको मौका जीवनले सधैं दिँदैन । यसलाई हामीले अवसरको रूपमा किन नलिने ? के समस्या आयो भन्दैमा आफ्नो जीवनलाई हानी गरेर आफूलाई डिप्रेशनको शिकार बनाउने या आत्महत्या गर्ने ? धेरैले हरदिन गुनासो गरिरहेका छन् र के गर्ने ? कसरी दिन काट्ने र कोही चामल, दाल, तोरीका दाना, झुलामा भएका प्वाल गन्न थालिसके ।

के यस्तै दिक्क लाग्दो समय छ त अहिले ? अवश्य पनि छैन । यस समयलाई सदुपयोग गरी कसरी जीवन सुन्दर र उर्जावान बनाउने र यसलाई कसरी अवसरमा परिणत गर्ने भन्ने विषयामा सोचौं । त्यसमध्ये केहीलाई बुँदागत रूपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ः

हिजो स्कुल, कलेज, कार्यालय जाँदा मैले योग, ध्यान, प्रणायाम गर्न भएको थिइनँ । यो फुर्सदको समयमा यस्ता क्रियाकलाप आफू गर्छु र अरुलाई सिकाउछु भनेर प्रण गरौं ।

  • आफूलाई मनपर्ने पाठ्यक्रमभित्रका र बाहिरका पुस्तकहरू पढौं ।
  • मनपर्ने खाने परिकारहरू बनाउन सिकौं ।
  • घर तथा आँगन सरसफाइ गरौं ।
  • आफूलाई मनपर्ने गीत, भजन, संगीत सुनेर आनन्दी भएर गाऔँ र नाचौँ ।
  • आफ्ना रुचिहरूलाई पुनः जागृत गराऔँ ।
  • गीत गाऔँ, नाचौँ, अभिनय गरौँ र त्यसलाई रेकर्ड गरेर शेयर गरौँ ।
  • आफ्नो र परिवारका स्वास्थ्यलाई कसरी सधैका लागि मजबुत बनाउन सकिन्छ भनेर खोज र अनुसन्धान गरौँ ।
  • घरमा आफूभन्दा ठूला आमाबुबा, हजुरबा आमासँग कुराकानी गरौँ र उहाँहरूको जीवनकथा सुनेर आफूलाई प्रेरित गरौँ ।
  • आफ्ना बालबालिकाहरूलाई कसरी सही मार्गमा हिँडाउने, के–के सिकाउने तय गरेर त्यसलाई तुरुन्त सिकाउन थालिहालौँ ।
  • हामीले बिर्सेका पुराना खेलहरू खेलौँ, आफ्ना बालबच्चाहरूलाई सिकाऔँ ।

यस्ता प्रकारका अन्य थुप्रै क्रियाकलापहरू गरेर यस लकडाउनलाई सदुपयोग गर्न सकिन्छ जसले गर्दा लकडाउनपछिका दिनहरूमा हामीमा सकारात्मक परिवर्तन भएको महशुस गर्न सक्दछौँ । अन्त्यमा बेलाबेला साबुनपानीले मिचिमिची २० सेकेण्डसम्म हात धोऔँ । आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ र कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ ।

Loading...