प्रधानमन्त्रीज्यू , विरोध गर्नेहरू सबै विरोधी होइनन् !

भेषराज पोखरेल

मगध साम्राज्यका अन्तिम शासक धनानन्दको अय्यास चरित्रलाई कूटनीतिमा कुशल चाणक्यले सूक्ष्म अध्ययन गरेका थिए !

नन्द वंशको पतन हुनुमा उनकै कमजोरी प्रमुख कारण बन्यो । चन्द्र गुप्त मोर्यका लागि मगध साम्राज्यमाथि विजय प्राप्त गर्नु असम्भव नै थियो !

नन्दको कमजोरीलाई हतियार बनाएर चाणक्यले उनैमाथि प्रहार गराए फलस्वरूप भारतीय उपमहाद्वीपको सर्वाधिक विशाल साम्राज्यका शक्तिशाली सम्राटको सर्वनाश आफ्नै कारण सम्भव हुन गयो ।

नन्दको दरबारमा भोगविलास सिवाय केही थिएन । सुरा र सुन्दरीमा लम्पट भइ रहनु नै सम्राटको दिनचर्या थियो । उनका सल्लाहकारहरू पनि चाटुकार मात्रै थिए !

राजालाई भोगविलासमा लिप्त हुन दिएर सत्ताको स्वाद लिन पल्किएका मन्त्री र चाटुकारहरूले राज्यको हित कहिले सोचेनन् ।

न त उनीहरूले सम्राट नन्दको नै हित सोचे सोचे त केवल राज्यसत्ताभित्रको आफ्नो हालिमुहाली ।

बाहिरबाट हेर्दा शक्ति र वैभवले सुसम्पन्न देखिए पनि मगध राज्यको आन्तरिक दुर्दशा कहालीलाग्दो थियो ।जनता कुशासनका कारण निराश भइ सकेका थिए ।

राजा र जनताबीचको दूरी यतिसम्म टाढियो कि नन्द वंशको पतन नभई मगध राष्ट्र र मगधवासीको कल्याण सम्भव छैन भन्ने निष्कर्षमा सारा देशबासी पुगि सकेका थिए ।

सुरा र सुन्दरीमा मग्न भएका राजाले देशको चित्र त्यस्तै मात्र देखे जस्तो उनलाई आसेपासेहरूले देखाइ रहे ।

पाटलीपुत्रमा राजा र राष्ट्रको हित चाहने विद्वानहरूको कुनै कमी थिएन तर उनीहरूको विचार सम्राट नन्दसम्म पुग्नै पाउँदैनथ्यो ।

पुगिहाल्यो भनेपनि उनीहरूलाई विरोधी कित्तामा उभ्याइन्थ्यो , राजद्रोहको अभियोग लगाइन्थ्यो अनि मृत्युदण्डको सजाय दिइन्थ्यो ।

चाणक्यले भनेका छन् , ” अर्काको आँखाले हेर्ने , अर्काको कानले सुन्ने , अर्काको बुद्धिले सोच्ने अनि अरुले नै बोल्न लगाएको मात्रै बोल्ने राजाको पतनका लागि अरु कुनै कारण आवश्यक छैन ।”

२०४६ सालको चैत २५ गते देशव्यापी रूपमा जनअन्दोलन उत्कर्षमा पुगेको थियो । मेचीदेखि महाकालीसम्म हजारौं लाखौं जनताहरू ज्यानको पर्वाह नगरी राजतन्त्रको विरुद्ध सडकमा उत्रिएका थिए ।

त्यो बेला पंक्तिकार काठमाडौमै बस्थ्यो । संयोगवश पंक्तिकारलाई एकजना आफन्तले दरबारमा काम गर्ने उच्च पदस्थ व्यक्तिको घरमा पुर्याएका थिए ।

ती व्यक्तिले आन्दोलनको बारेमा यति हलुका टिप्पणी गरे कि मानौँ देशभित्र केही भएकै छैन । यो त जनआन्दोलनका नाममा केही मुट्ठीभर मानिसले चलाएको स्याल हुइय्याँ मात्रै हो ।

राजा वीरेन्द्रका विश्वासपात्रहरूले पनि राजालाई दिने रिपोर्ट सायद यस्तै हुन्थ्यो । तर भोलिपल्ट चैत २६ गते बिहान एउटा अपुष्ट समाचार तिनै आफन्तले सुनाए ।

अघिल्लो दिन राति राजा वीरेन्द्र सर्वसाधारणको भेषमा काठमाडौको अवस्था अवलोकन गर्न निस्किए रे ! उनी भन्दै थिए , ” अब पक्कै देशमा केही हुन्छ । “

२०४६ चैत २६ गते मध्य रातमा कसैले नसोचेको र नपत्याएको शाही सम्बोधन आयो , दलहरूमाथिको प्रतिबन्ध हटेको र जनआन्दोलन सफल भएको ।

म आजको अवस्थामा विचार गर्छु राजा वीरेन्द्रले आसेपासेहरूको कुरा मात्रै नसुनेर आफैंलाई समस्या पार्नबाट जोगाएछन् सही समयमा सही निर्णय लिएर ।

नत्र उनको पनि दुर्दशा रुमानियाका तत्कालीन राष्ट्र प्रमुख चाउचेस्कुको जस्तो हुन सक्थ्यो अर्थात मगध साम्राज्यका नन्दकै जस्तो हुन सक्थ्यो ।

राजा वीरेन्द्रले देशको वास्तविकता आफ्नै आँखाले हेरे, असन्तोषका आवाजहरू आफ्नै कानले सुने अनि स्वनिर्णयले बहुदलीय व्यवस्थाको घोषणा गरे ।

आज हामी पूर्ण लोकतान्त्रिक राज्य प्रणालीको अभ्यास गरिरहेका छौँ अपितु: शासनको बागडोर सम्हालेका सर्वशक्तिमान प्रधानमन्त्री समक्ष हाम्रा आवाजहरू कि त पुग्दै पुग्दैनन् पुगिहाले भनेपनि सरकारको सफलता देखिनसहने कुतत्वको दुस्प्रचारमा परिणत हुन पुग्छन् ।

के इतिहासका ठेलीहरूमा भेटिने जन उपेक्षाको दुस्परिणामका अनगिन्ती उदाहरणबाट हाम्रो नेतृत्वले कदापि पाठ सिक्नु हुन्न ?

वर्तमान सरकार न त कसैको विरोधले ढल्न सक्छ न त कसैको श्रापले हल्लिन्छ । यसो भन्दैमा जनताबाट ५ बर्षका लागि यो दुर्भेद्य वरदान पाएको सरकारले के आफ्ना निर्णयहरूबारे आत्मसमीक्षा गर्नै पर्दैन ?

जनआक्रोशलाई आरिसेहरूको दुस्प्रचार भनेर अर्थ्याउँदैमा सरकार पानीमाथिको ओभानो भइरहन सम्भव छ ?

सरकारका सबै निर्णयहरू सुशासनको कसीमा अब्बल छन् भनेर जनअसन्तोषको आगोमा घिउ थप्नेहरूले यो सरकारको हित गरिरहेछ्न् कि अहित गरिरहेछन् ?

प्रधानमन्त्रीज्यू , जबसम्म सरकारको विरोधमा गुन्जिने आवाजहरूप्रति पनि मैले न्याय गर्नुपर्छ भन्ने चेतना तपाईंमा पलाउँदैनन तबसम्म धमिराहरूले तपाईंकै आडमा तपाईंलाई नै खोक्रो पारिरहने छन् ।

धेरै विवेकशील व्यक्ति र सन्चार माध्यमहरूले पूर्वाग्रहरहित भएर स्वतन्त्र विचार पटक पटक राखिसके , लामो सङ्क्रमण पश्चात् प्राप्त भएको यो सरकार निश्चय नै गणतन्त्रको प्रतिरूप हो ।

यसको सफलता र विफलतामै गणतन्त्रको भविष्य निर्धारण हुने निश्चित छ ।

प्रधानमन्त्रीज्यू , सबै विरोध गर्नेहरू विरोधी हुँदैनन् यसर्थ विरोधको सम्मान गरेर तीन करोड नेपालीको मुटुमा बस्ने कि भक्तिभावमा रमाएर गणतन्त्रकै सर्वनाशको कारक बन्ने ? छनौट तपाईंले नै गर्ने हो ।

Loading...