लकडाउनमा मोरङका उद्योगीहरूको रुटिन : जिम्मेवारी अझै बढी बोध गराएको छ

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वको अर्थतन्त्र गिर्दो अवस्थामा छ । कोरोनाको महामारीको कारण विश्वको धेरै उद्योग तथा कलकारखाना बन्द भएका छन् । यसबाट नेपाल पनि अछुतो छैन ।

कोरोनाको कारण नेपालका खाद्यान्न तथा अति आवश्यक वस्तु उत्पादन गर्नेबाहेक अन्य उद्योग, कलकारखानाहरू बन्द छन् । मोरङ नेपालको ठूलो औद्योगिक क्षेत्र हो । यहाँका धेरै उद्योगहरू यतिबेला सुनसान छन् । र, उद्योगीहरू पनि लकडाउनको पूर्णपालना गरिहेका छन् । यस्तो छ लकडाउनमा मोरङका उद्योगीहरूको रुटिन ।

नवीन रिजाल : रिजालको पोलिटेक इण्डष्ट्रिज प्रालि

पहिलाको जस्तो रेगुलर रुटिन फलोअप भएको छैन । हाल ग्यासको व्यवस्थापन गर्नको लागि नै प्रायः समय बितिरहेको छ । सप्लायर तथा डिलरलाई फोन गर्ने, रिसिभ गर्ने, उद्योगको निरीक्षण गर्ने, कामदारहरूको अवस्था बुझ्ने, कहाँ के अभाव वा कस्तो अवस्था छ भनेर निरन्तर सोधपुछमा समय बितिरहेको छ ।

अहिलेको अवस्थामा अत्तिआवश्यक वस्तुहरू जुनै हालतमा नि उपलब्ध गराउनु नै हाम्रो लागि चुनौती र अवसर पनि हो । यसको लागि रातदिन खटिरहेका छौं । अन्य उद्योग पूर्ण रूपमा बन्द भएपनि खाद्यान्न तथा ग्यासको व्यापार रोकिएको छैन । यो रोकिए फेरि नागरिकमा अर्को समस्या खडा हुनेहुँदा जसरी भएपनि यसको व्यवस्थापनमा लागि रहेका छौं । तरपनि भनेको समयमा आपूर्ति नहुँदा केही कठिनाइ छन् ।

मार्च महिनासमा ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र यस महिना पनि ६० देखि ७० प्रतिशत आपूर्ति हुने सम्भावना रहेको छ । त्यस्तै लकडाउनले गर्दा पर्याप्त कामदारहरू उपस्थिति हुन नसके पनि अटोमेसन प्रणालीले गर्दा खासै धेरै समयसा परेको छैन । साथै यसै अवस्थालाई मध्यनजर गरी कामदारहरू बस्ने क्वार्टर उद्योगभित्रै निर्माण गरेका छौं जसले गर्दा सामाजिक दूरी कायम गर्न सहज भएको छ ।

हामीजस्ता उद्योगी जनतालाई अत्यावश्यक सामानहरूको अभाव नहोस् भनेर खटिरहेका छौं । सरकारले निम्नस्तरको जनता र भविष्यमा आउने भोकमरीको अवस्थालाई नजिकबाट नानियालेको पाएको छु । सरकारले गुरुयोजना बनाएर तत्काल अगाडि नबढे केही दिनमा भोकमरी तथा अभावको स्थति सृजना नहोला भन्न सकिँदैन ।

यो समयमा सरकार तथा हामीजस्ता व्यवसायी आफ्नो फाइदाभन्दा पनि जनताको समस्यालाई बुझ्नुपर्ने छ । हालको अवस्था हाम्रो लागि एउटा परीक्षाको घडी हो । यसलाई हामी सबै मिलेर जसरी नि पार गर्नुपर्ने हुन्छ । यस महामारीले उद्योग कसरी सञ्चालन गर्ने, कामदार म्यानेजमेन्ट जस्ता अन्य धेरै कुराहरू सिकाएको छ ।

नन्दकिशोर राठी : पशुपति पोली प्रोपलिन इण्डष्ट्रिज प्रालि

अहिले सबैजना लकडाउनमा रहेको अवस्थामा मेरो पनि घरमै क्वारेन्टाइन दिनहरू बितिरहेको छ । खाद्यान्नबाहेकका सबै उद्योग बन्द रहेको छ । खाद्यान्न उद्योगमा पनि कामदारहरू उपस्थिति नहुन नसकेको कारणले केही समस्या परिरहेको छ । उद्योगकै वरपर रहने कामदारको उपस्थितिमा खाद्यान्नको केही काम अगाडि बढिरहेको छ, जुन भविष्यको यहि स्थितिलाई धान्नको लागि पर्याप्त छैन । कामदारको सुरक्षामा हामी एकदमै सचेत छौं ।

उनीहरूलाई सामाजिक दूरी कायम गरी मास्क, सेनिटाइजरजस्ता सुरक्षाको सामाग्री प्रयोग गरी कार्य गर्न प्रोत्साहन र पालना भैरहेको छ । खाद्यान्न उद्योग पनि बन्द भए जनाताहरूमाझ खाद्यान्न उपलब्ध गराउन नसकिने चिन्ता झनै धेरै छ । खाद्यान्न आपूर्तिहरूमा दिनदिनै समस्या आइरहेको छ ।

स्थानीय क्षेत्रहरूबाट पनि उद्योगलाई चाहिने कच्चा पदार्थ आपूर्ति नहुँदा आउने दिनमा पनि यही अवस्था रहे खाद्यान्न उत्पादनमा संकट पर्नसक्ने सम्भावना रहेको छ । हालसम्म पुरानो स्टकले हामीले जनतामाझ खाद्यान्न पुर्‍याइरहेका छौं ।

त्यसैले सरकारले अहिले अन्य कार्यलाई थाती राखेर खाद्यान्न अभाव हुन नदिने कुराहरूमा बढी जोड दिनुपर्ने आवश्यकता रहेको छ । खाद्यान्न उद्योग सञ्चालन हुनसक्ने सुरक्षित वातावरण उपलब्ध गराउन सरकारले ध्यान पुर्‍याउनु पर्दछ । अहिले आफ्ना उद्योगका कर्मचारीलाई मात्र नभएर समस्यामा परेका सबैको लागि सोच्नुपर्ने उद्योगी व्यवसायीहरूको दायित्व हो ।

त्यसैले हामीले उद्योग संगठन, व्यापार संघ तथा महानगरपालिका र अन्य संस्था तथा व्यक्तिको सहकार्यमा राहत वितरण कार्यलाई तीव्र बनाएका छौं ।

भोलेश्वर दुलाल : पूर्वाञ्चल ल्यूब आयल प्रालि

सरकारले अनुरोध गरेको र आफ्नो तथा अरुको सुरक्षाको लागि पनि यो अत्यन्त आवश्यक कुरा भएको कारण धेरैजसो समय घरमै बसेर बिताउने गरेको छु । तर उद्योगी व्यवसायीले यस समयमा जनताको समस्यालाइ मध्यनजर गरी सामाजिक दायित्व पूरा गर्नुपर्ने समय पनि रहेको कारणले गर्दा राहत वितरण तथा अन्य सामाजिक कार्यहरूमा केही समय दिएको छु ।

व्यापारको स्थिति शून्य जस्तै भएको अवस्था छ । उद्योग बन्द भएपनि कर्मचारीसँग उनीहरूको अवस्था बुझ्ने कार्य भइरहेको छ । सबै कर्मचारी सुरक्षित भएर बसून भन्ने हेतुले निरन्तर फोन वा सामाजिक सञ्जालमार्फत सम्पर्क बढिरहेको छ । यस परिस्थितिमा हामीजस्ता उद्योग, व्यवसायीहरू पनि कोही पनि नागरिक भोकै बस्न नपरोस् भनेर चिन्तित छौं ।

यसका लागि हामीले सक्ने जस्तोसुकै सहयोग गर्न तयार छौं । हालसम्म परिस्थिति भयावह नभएपनि धेरैदिनसम्म यस्तै अवस्था रहे भोकमरी र अभावको अवस्था सृजना हुन सक्दछ । त्यसैले यस्तो हुन नदिन सरकारले गम्भीर भएर समाधानमूलक र सुरक्षित विकल्पहरू खोज्न पर्दछ । सरकार र नागरिकको सहयोगको लागि हामी सदैव तयार छौं ।

सुयष प्याकुरेल : एमएम प्लास्टिक उद्योग प्रालि र एमएम पोलिमर्स प्रालि

लकडाउनको पहिलो हप्ता त के गर्ने कसो गर्ने भनेर अन्यौलमा परियो । त्यसपछिका दिनहरू हाम्रा कर्मचारी, ग्राहक तथा अन्य उद्योगी व्यवसायीसँग अनलाइन मेटिङ, भिडियो कन्फरेन्स गरेर दिन बितिरहेको छ । विश्व नै लकडाउन रहेको अवस्थामा हामी पनि यसबाट अछुतो रहन सकेनौं । यस अवस्थामा व्यापार शून्य जस्तै छ ।

त्यैपनि आउने दिनहरूमा के कसरी अगाडि बढ्ने भनेर निरन्तर अनलाइन बैठक भइरहेको छ । कर्मचारीहरूलाई जबर्जस्त काम गर्न बोलाउनुभन्दा पनि सबैभन्दा पहिला यस महामारीबाट बाँचेर आउने दिनमा कसरी अगाडि बढ्ने भनेर भविष्यको योजनाहरू बनाउँदै छौं । समस्यामा रहेका कर्मचारीको अभाव पूर्ति गर्ने कार्यहरू भइरहेको छ ।

कर्मचारीको सुरक्षा नै हाम्रो उद्योगको सुरक्षा भएको कारणले गर्दा उनीहरूलाई सुरक्षित रहन सल्लाहसुझावहरू दिइरहेका छौं । लकडाउन हाम्रो लागि चुनौती मात्र नभएर यसले धेरै अवसरहरू पनि प्रदान गरेको छ । यसै अवसरलाई सदुपयोग गर्दै परिवारलाई धेरै समय दिन पाइएको छ । साथै उद्योगीको नाताले यस बेला सामाजिक दायित्व पूरा गर्नुपर्ने अवसर पनि लकडाउनले प्रदान गरेको छ ।

महेश कुमार जाजु : एसियन बिस्कुट एण्ड कन्फेक्शनरी प्रालि

हाल परिवारसँगै दिन बिताउने कार्य भइरहेको छ । इण्डुवर गेम खेल्ने, टिभी हेर्ने, भान्सामा परिकार पकाउने तथा नया परिकार पकाउन सिक्ने काम गरेर उत्प्रेरित भइरहेको छु । खाद्यान्न तथा सेनिटाइजरको उद्योग निरन्तर चलिरहेको छ ।

सम्पूर्ण कर्मचारी उपस्थिति नभएपनि उद्योग वरपर रहेका कर्मचारी सुरक्षित भएर काम गरिरहेका छन् । खाद्यान्न तथा सेनिटाइजरको उत्पादनमा कमी हुन नदिन सक्दो प्रयास गरिरहेका छौ । सामान आपूर्ति तथा ढुवानीमा केही समस्या रहेको छ ।

हाम्रो पहिलो प्राथमिकता जनतालाई यस अवस्थामा आवश्यक पर्ने सामानहरू उपलब्ध गराउनु नै रहेको छ । यसको लागि सुरक्षित ढंगले अति आवश्यक कार्यलाई निरनतरता दिनको लागि सबैको तर्फबाट सहयोग हुनु पर्दछ । सरकारले पनि खाध्य तथा अति आवश्यक वस्तुको आपूर्तिलाई कसरी सहज बनाउन सकिन्छ भनेर गुरु योजना बनाएर कार्यान्वयन गर्नु र गराउनु पर्दछ ।

यो समय भनेको आर्थिक लाभभन्दा पनि आफूले सक्ने सेवा र सहयोग प्रदान गर्नुपर्ने समय भएको कारणले गर्दा जनताको दुःखलाई झन् नजिकबाट नियाल्नु पर्दछ ।

सुबोध कोइराला मेघा मेटल क्राफ्ट्स प्रालि र फुजिमा आयल कम्पनि प्रालि

लकडाउनमा उद्योग व्यवसाय सबै बन्द भएको अवसरमा परिवारसँग बसेर दिन बितिरहेको छ । त्यसका साथै आफूसँग जोडिएका कर्मचारी, डिलर, मार्केटिङ, अन्य व्यवसायीसँग हालखबर बुझ्न दिनको २–३ घण्टा छुट्याएको छु ।

उहाँहरूसँग फोन तथा अनलाइनको माध्यामबाट निरन्तर सम्पर्क गरिरहेको छु । लकडाउनले गर्दा परिवारको महत्त्व र परिवारलाई हाम्रो महत्त्व के रहेछ भनेर बुझाएको छ । सुरुको दिनहरूमा धेरै सुतियो जसले गर्दा शरीरले कति धेरै थामेर बसेको रहेछ भनेर नि भान भयो ।

यस अवस्थामा एकले अर्काको सहायता गर्दै अगाडि बढ्नुको अन्य विकल्प नरहेकोले के कस्ता समस्या छन् भनेर निरन्तर पत्रपत्रिका तथा अनलाइन माध्यामबाट समाचार हेर्ने र आफ्नो सामाजिक दायित्व पूरा गर्ने कार्य पनि भइरहेको छ । कर्मचारीको समस्याहरू बुझ्ने कार्य निरन्तर भइरहेको छ ।

अभिनाष बोहोरा : बोहोरा ग्रुप प्रालि

आफ्नो साथै अरुको सुरक्षाको लागि भए पनि घरमा परिवारसङ बसेरै दिन बितिरहेको र खाद्य उद्योगहरू सञ्चालनमा आइरहेको कारणले आवश्यक परेको खण्डमा उद्योग निरीक्षण पनि गर्ने गरेको छु । यस उद्योगलाई चाहिने केमिकल, प्याकिङ्ग सामाग्री जस्ता सामाग्री आपूर्तिमा समस्या परेकोले केही कष्ट भइरहेको छ । त्यसका साथै कर्मचारी अभाव पनि छँदै छ ।

यस्तो अवस्थामा भएपनि खाद्यान्न संकट हुन नदिन हामीले सक्दो प्रयास गरिरहेका छौं । हालसम्म हामीले उत्पादन गरेको पुरानो स्टक बजारमा पुर्‍याइरहेको छौं । तर यस्तै अवस्था रहे खाद्यान्न र अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योग संकट पर्ने अवस्था सृजना हुन सक्छ । यस्ता उद्योग संकटमा पर्नु भनेको हामी सबै संकटमा पर्नु हो ।

भविष्यमा आउन सक्ने संकटको समाधान गर्नको लागि सरकारसँग पहल गर्ने कार्य भैरहेको छ । काम गरिरहेका कर्मचारीको सुरक्षामा विशेष ध्यान दिएका छौं । हालसम्म सहज वातावरण भएपनि आउँदो दिनहरूको सामना गर्नको लागि थप तयारी आवश्यकता रहेको छ ।

सुरेन्द्र गोल्छा : धिरज चामल उद्योग प्रालि र भूदेव खाद्य उद्योग प्रालि

मर्निङ्ग वाकबाट मेरो दिन सुरु हुन्छ । लकडाउन तथा कोरोनाको संक्रमनलाई विशेष ध्यान दिएर सामाजिक दूरी तथा आफ्नो र अरुको सुरक्षामा ध्यान पुर्‍याइरहेको छु । परिवारसँग पनि धेरैजसो समय बितिरहेको छ । घर अगाडि नै कार्यालय भएको कारण बेलाबेला कार्यालय जाने र त्यहाँको अवस्था बुझ्ने कार्य भइरहेको छ ।

खाद्यान्नको उद्योग भएकोले यसलाई बन्द गर्न नहुने आवश्यक ठानी केही कर्मचारीको उपस्थितिमा भए पनि खाद्यान्न कसरी जनतामाझ पुर्‍याउने भनेर कार्य गरिरहेका छौं । सुरुको दिनमा के कसरी गर्ने भन्ने नै निर्क्यौल नभएको अवस्थामा हाल सहज ढंगले काम अगाडि बढिरहेको छ । हामीले हालसम्म पुरानो स्टकलाई नै वितरण गरिरहेका छौं ।

यसलाई केही दिन पुर्‍याउन सकिए पनि लामो समय लकडाउन हुने स्थिति आए समस्या रहने हामीले अनुमान गरेका छौं । उद्योगको लागि चाहिने कच्चा पदार्थ तथा अन्य सामाग्रीको आपूर्ति नहुँदा हामीलाई समस्या भएको छ ।

राजेन्द्र राउत : शिव ओम मल्टिपर्पोजेज सर्भिसेज प्रालि

सरकारले सबै नागरिकको सुरक्षाको लागि जुन लकडाउनको नीति अवलम्बन गरेको छ, त्यसलाई पालना गर्नु नै अहिलेको सबैभन्दा ठूलो सहयोग हो । सामाजिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिनेजस्ता कार्यहरूको पालना गर्दै आफू साथै अरुलाई पनि सुरक्षा दिने दायित्व रहेको कारण हाल घरमै दिन बितिरहेको छ ।

विभिन्न माध्यमबाट देश विदेशका समाचार पढ्दै हेर्दै गरेको छु । बिहान तथा बेलुकाको शारीरिक व्यायाम घरभित्रै गर्ने गरेको छु । लकडाउनले गर्दा उद्योग बन्द भए पनि यो नीति हामीहरूकै सुरक्षाको निम्ति भएको कारण म सरकारप्रति पनि आभारी छु ।

लकडाउन गर्नको लागि सरकारले योभन्दा ढिलो गरेको भए हामीले धेरै ठूलो संकट भोग्नु पर्ने हुन सक्थ्यो । त्यसैले यस नीतिलाई सम्पूर्ण नागरिकले आफ्नो दायित्व सम्झी पालन गर्नुपर्दछ । जे होस् समग्रमा सजिलोसँग दिनहरू बितिरहेको छ ।

Loading...