लकडाउनको मारमा मरिक र मुसहर समुदाय : कोरोना चाँडै मरिजाओस् लकडाउन छिटो खुल्ला होस्

मोहन ढकाल
विराटनगर, २६ चैत । ज्योति मरिक सफाइको काम गर्छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी भएकाे लकडाउनसँगै उनको काम रोकिएको छ ।

काम रोकिएपछि आम्दानी शून्य भएकोले उनलाई गुजारा गर्न समस्या भैरहेको छ ।

आफ्नो अवस्था बताउँदै ज्योति भन्छन्, ‘ फोहोर सफाइ गर्ने हामीलाई अहिलेसम्म राज्यले हेरेको छैन्, भोट माग्न नमस्कार गर्दै आउने नेताहरू खै सबै हराए ।’

विराटनगरमै बस्ने अशोक मरिक पनि सफाइको काम गर्छन् । उनी पनि लकडाउनको मारमा परेका छन्।

उनलाई पनि महामारीको बेलामा सरकारले उपेक्षा गरेको भान भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास उनी र उनको समुदायलाई पनि छ, तर उनको बस्तीमा जनचेतना जगाउन जनचेतना फैलाउन कोही गएकै छैनन् ।

ज्योति र अशोकहरू प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै दैनिक सरसफाइको काम गर्ने यो समुदायको अवस्था लकडाउनमा सबैको एउटै छ । काम बन्द छ । खान छैन । सँगै कोरोना फैलिएला र मरिएला भन्ने चिन्ता पनि छ ।

११ चैतदेखि कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउने वर्गका सबैलाई समस्या भएको छ ।

त्यसमा पनि सबैभन्दा पछाडि पारिएका मरिक र मुसहर समुदायका शहरी गरिबहरूले धेरै समस्या भोगिरहेका छन्। अर्कोतिर महानगरलाई सफा गर्ने काम गर्ने गरेको उनीहरूलाई अझैसम्म मास्क, पञ्जा, सेनिटाइजर जस्ता सामाग्री कसैले दिएका छैनन् ।

कोरोना भाइरसको संक्रमणबारे जानकार भएपनि मास्क र पञ्जा नभएका उनीहरू भन्छन्, – ‘किन्नलाई महंगो पर्छ, भोक टार्ने कि स्वास्थ्य सामग्री किन्ने ?’

मुसहर समुदायलाई पनि कसरी बाँच्ने भन्ने चिन्ता

मञ्जु ऋषिदेव दैनिक अरुकोमा भाडाँ माझेर दैनिक जीविका चलाउँदै थिइन् । तर लकडाउनसँगै काम बन्द भएकोले आफ्नो पाँच जनाको परिवार चलाउन उनलाई समस्या भएको छ ।

राहत पाएपनि लकडाउन थपियो भने कसरी गुजारा चलाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।
ललिता ऋषिदेव राजमिश्रीको काम गरेर जीविका चलाउँथिन् । लकडाउन सँगै उनलाई पनि आर्थिक समस्या भएको छ ।

कसरि परिवार धान्ने भन्ने चिन्तामा उनी परेकी छन् । नागरिकता नभएकोले उनले राहत पनि पाउन सकिनन् । उनले निन्याउरो अनुहार लगाउँदै भनिन्, ‘ के नागरिकता नभएमा भोकै बस्नु ?’

ललीता र मञ्जुको जस्तै विराटनगर महानगरमा बसोवास गर्ने शहरी गरिब मुसहरहरूको समस्या छ । यसैले सबैजना एउटै कामना गर्दैछन्, ‘कोरोना चाँडै मरिजाओस् लकडाउन छिट्टै खुल्ला होस् ।’

Loading...