मानव जातिको परीक्षा लिदै ‘कोविड – १९’

डा . नवराज सुब्बा

यी तीन शब्दहरु आज एकाएक समानार्थी भएका छन् । कोरोना भाइरस कोविड– १९ ले आज मानव जातिको परीक्षा लिइरहेको छ ।

यसबेला मानिसभित्रको जिजीबिषा यत्रतत्र बुद्धिमान स्वार्थीतत्व भएर सल्बलाएको छ त कहिंकतै कालो बादलमा चाँदिको घेरा झैं विवेकपूर्ण मानवीय भावना भएर हामी सामू प्रकट भएको छ ।

केही दिन अघि आफ्ना मृत पतिको शव कसैले छुन नमाने पछि किंकर्तव्यविमूढ बनेकी एक शोकसन्तप्त महिलाको तस्वीर सामाजिक संजालमा देखेर अवश्य सबैको मन कुढियो ।

यसपछि हामीले ईटालीमा आफ्नी बहिनी कोरोनाले संक्रमित हुँदा न उपचार भयो न मृत्यु हुँदा उनको उचित दाहसंस्कार नै भयो । पर्दा विरामी बहिनी र र उनका दाजुलाई कुनै हातले साथ दिएनन् ।

त्यसबेला छरछिमेक र सरकारको व्यवहार देखेर उनका दाजुले मृतक बहिनीको शव देखाउँदै रुँदै सामाजिक सञ्जालमा प्रकट गरेको अभिव्यक्तिले संसारका मानवजातिलाई नराम्ररी झक्झकायो ।

यसरी संकटमा सहयोग र साथ नपाउने लाखौं परिवारका सदस्यहरुलाई आज मान्छे देख्दा कस्तो लाग्दो हो १

यो कोरोनाको विश्व महामारीलाई कतिपय संचार माध्यमले आफ्नो स्वार्थ सिद्धीको माध्यम पनि बनाएको देखियो । सामाजिक सञ्जालको त कुरै नगरौं ।

संसारका विभिन्न सरकारका चालढाल देखियो । तिनका नेताहरुको हाउभाउ चुरीफुरी पनि देखियो । आफ्नो देशको सरकारको मुहार पनि छर्लङ्गै भयो ।

एकातिरबाट हेर्दा आज मानिस नितान्त एक्लो र असहाय देखिन्छ भने अर्कातिरबाट हेर्दा आज मानिस एकजूट भएर उठ्दैछ ।

मानिस र नेता चिन्ने बेला आएको छ, देश वा सरकार महसुस गर्ने बेला आएको छ अनि त्यो भन्दा पनि मार्मिक कुरो मानिसको भावना र मनोविज्ञानको परिचय नजिकबाट मानव जगतले देख्ने मौका पाएको छ ।

नेपाल र छिमेकी मुलुक भारतका सामाजिक घटना रुपमा फरक भए पनि सारमा भने ती उस्तै प्रकृतिका हुन्छन् । समाचार माध्यमको वेभसाइट नियाल्दै जाँदा एन।डी।टि।भी।को अप्रैल आठमा प्रकाशित केही समाचार घटना पढेपछि मभित्रको लेखक चल्मलायो ।

मध्यप्रदेश इन्दोरको तोडाजूना गणेश मन्दिर नजिकै बस्ने एक असहाय बृद्ध महिला जसलाई दुर्गा मां नामले चिनिन्थ्यो उनको मन्दिर नजिकै मृत्यु भयो ।

कोरोनाको कहर छ तर त्यो भन्दा पनि देशभर हप्तौंको लकडाउनमा खान नपाएर, औषधोपचार नपाएर वा कुनै कारणले मृत्यु भयो होला । त्यसको सोधिखोजी गरिदिने उनको कोही थिएनन् । कुनै उपायले उनका दुई छोरालाई बोलाइयो ।

तर दुर्भाग्य ती बुढी आमालाई ज्यूँदो हुँदा त स्याहार गर्न नसक्ने ती छोराहरुले आमाको सद्गत् गर्ने पैसा पनि नभएका दीनहीन रहेछन् । त्यो देखेर त्यसै टोलका अकील भाइ, असलम भाइ, मुदस्सर भाइ, सशिद इब्राहिम, इमरान सिराज नामका मुसलमान दाजुभाइले ती अभागी दुर्गा मांको अन्त्येष्ठी गरी दिएछन् ।

यो घटनालाई राजनीतिले गंगा–जमूना संस्कृतिको रुपमा परिचय दिन खोजेता पनि यसमा राजनीतिको कुनै साइनो लाग्दैन ।

यसले कुनै एक वर्ग, जाति, धर्म, विचार भन्दा मानवता कति महान हुँदो रहेछ भन्ने संदेश सारा संसारलाई दिएको छ । यो कर्म राजनीति कर्मभन्दा अग्लो र कुनै अमूक धर्मिक संस्कार भन्दा महान छ ।

यो त जब मानिसले राजनीतिक विचार, धर्म, वर्ग बिर्सेर हामी मानिस सबै एक हौं भन्ने भावना मनमा स्वस्फूर्त प्रकट भएपछि गरिने कर्म हो ।

यसको श्रेय कुनै वर्ग, जाति, धर्म वा राजनीति विशेषलाई दिनुभन्दा मानवजातीय श्रेष्ठतम् सम्पदा मान्नु श्रेयस्कर छ ।

यस्ता स्वरुप हामी संसारको जुनसुकै कुनामा जहिले पनि देख्न सुन्न पाउँछौं । यसलाई जोगाउनु वा चिन्नु आज सबै विचार, धर्म, वर्ग, जातिको लक्ष्य हुनुपर्दछ ।

यस्तै अर्को एक घटना पनि भारतको पंजावबाट आएको छ । एक ६९ वर्षिय सेवानिवृत्त इञ्जिनियरको कोरोनाको कारण अस्पतालमा मृत्यु भयो ।

संभवतः मृतकको शरीरमा भएको भाइरस आफूलाई सर्ने भयले उनको शव लिन उनका परिवारजनले अस्वीकार गरे । जीवनभर कर्मशील रहेका इन्जिनियरको अभागी शवलाई सरकारले नै अन्त्येष्ठी गरिदियो ।

कुन स्तरमा कसरी अन्त्येष्ठी भयो होला जोकोहीले सोच्न सकिने कुरो हो । विडम्बनाको कुरो उनको मृत्युसंस्कारमा उनका कुनै पनि परिवारजनको उपस्थिति सम्म भएन भन्ने सुन्दा हामी सबैको मन नमीठो भएर आउँछ ।

अझ दुःखलाग्दो कुरो त ती अभागी बाबुका भाग्यमानी छोरी जो एमबीबीएस पढ्दै थिइन् उनले अरुलाई उचित बचावट गरी हौसला दिएर अघि बढाउनु पर्नेमा उनै पछि हटिन् र आफूलाई पढाउने उनै बुबालाई अन्तिम विदाइसम्म गरिनन् ।

यस्ता खबरले आज सबैको मन एकपटक हल्लिएको छ । मानिसको नाता, सम्बन्धभन्दा मानिसभित्रको जिजीविषा यसरी नाङ्गो रुपमा प्रकट भएको देख्दा हामी मानिस जातिको शिर निहुरिएको छ, सोच्न बाध्य बनाएको छ ।

यस्ता विरामीसित दिनरात सेवामा खटिने स्वास्थ्यकर्मी संसारभर खटिएका छन् । यस्ता विरामीलाई घरमा दिनरात स्याहार सुसार नगरे आज १०० जनामा ९६ जना कसरी निको हुन्थे र? विरामीलाई कसरी व्यवस्था गर्ने भन्ने ज्ञान र शीप आज विज्ञानले स्वास्थ्यकर्मी मात्र नभएर सर्वसाधरण सबैलाई दिएको छ ।

कथंकदाचित् भाइरस सरेमा पनि यसको मृत्युदर न्यून छ भन्ने कुराको ज्ञान उनकी शिक्षित छोरीलाई थिएन होला भन्न सकिन्न ।

पछिल्लो घटनामा देखिएको परिवारजनको अमानवीय व्यवहार, इष्टमित्रको असंवेदनशील भूमिका आदिलाई ईटालीजस्तो भयावह स्थिति नभएको फाट्टफुट्ट मात्र कोरोना देखिएको भारतमा घटेको घटना भोलि हाम्रै देशमा पनि नदोहोरिएला भन्न सकिन्न ।

यसलाई मानिस कति कायर, असम्वेदनशील र स्वार्थी हुँदो रहेछ भनेर निष्कर्ष निकाल्यौं भने संसार अँध्यारो देखिएला ।

यसर्थ, केही मात्रामा त्यस्ता घटना भए पनि माथि अघिल्लो घटनामा मुसलमान दाजुभाइले कुनै नाता, वर्ग, जात, धर्म, राजनीति नहेरी जसरी मानवीय कर्म गरेर देखाए त्यो महान ज्योतिले मानव जातिको मुहारलाई ज्वल्जलयमान् पारिदिएको छ ।

मानिस कति संवेदनशील जाति हो भनेर देखाइदिएको छ । हो हामी यस्तै महान् मानवीय ज्योतिलाई मनमा कहिल्ये निभ्न नदेऔं । जोसुकैले जेसुकै भने पनि संसारमा सबैभन्दा महान मानिस नै हो अरु कोही होइन ।

(लेखक , जनस्वास्थ्य बिज्ञ हुन )

Loading...