महामारी सुरु भएको वुहानबाट हटाइयो लकडाउन

एजेन्सी, २६ चैत । कोरोना भाइरसको सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ ।

बीबीसीका अनुसार मङ्गलवार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोना भाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो ।

गत महिना वुहानमा एक साताभर कोरोना भाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाएपछि किनमेल केन्द्रहरू भने खोलिएका थिए ।

लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् ।

बुधबारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर, यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ ।

स्मार्टफोनमा भएको स्वास्थ्यसम्बन्धी एपमा हरियो कोड देखिएकाहरूले २३ जनवरी यता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन् ।

कोरोनाभाइरसको सङ्क्रमण रोकथामका लागि चीनका अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए ।

१ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार–व्यवसाय बन्द गर्न, यातायात प्रयोग नगर्न, घर बस्न निर्देशन दिइएको थियो ।

Loading...