कोराना महामारीले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव

विराटनगर, २५ चैत । सन् २०१९, डिसेम्बरबाट चीनको बुहानबाट देखा परेको कोराना भाइरसको संक्रमण जनवरीको दोश्रो हप्ताबाट यस सहरमा व्यापक रूपमा फैलियो । यो लेख लेखिरहँदाको समयसम्म यस भाइरसबाट चीनमा मात्र ८१ हजार ७ सय ४० जना संक्रमित भए, जसको कारणले ३ हजार ३ सय ३१ जनाभन्दा धेरैको मृत्यु भयो । जब कोभिड १९ चीनको बुहानमा तीव्र रूपमा फैलिरहेको थियो, अमेरिका र युरोपले यसलाई हल्का रूपमा लिइरहका थिए ।

उनीहरूले सोचेका पनि थिएनन् कि यो भाइरसले यति तीव्र गतिमा संक्रमण फैलाउँदै जानेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस भाइरसलाई चाइनिज भाइरस भन्नसम्म भ्याए । युरोपमा भएको इटाली देशका जनताहरूले चाइनिजहरूप्रति हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन गरे, जसको परिणाम स्वरुप त्यहाँ रहेका चाइनिजहरूले हामी भाइरस होइनौं भन्दै त्यहाँका मानिसहरूसँग अंकमाल अभियान नै चलाए । जब यस महामारीको प्रकोप विस्तारै दक्षिण कोरिया, जापान र युरोपमा प्रवेश गर्न थाल्यो, यसको प्रभावबाट अमेरिकासमेत अछुतो रहन सकेन ।

कोरोना भाइरसको संक्रमणबाट उच्च पदमा रहेकादेखि विभिन्न सेलिब्रेटीहरूसमेत प्रभावित हुन पुगे । चाइनाको बुहानमा मात्र संक्रमण फैलिरहँदा विश्व योसँग लडने तयारीमा थिएन । कोभिड १९ थाहै नपाई युरोप र अमेरिकामा समेत भित्रियो तर यसलाई गम्भीरतापूर्वक नलिएकोले ती देशहरूले रोकथामको तयारीसमेत गर्न सकेनन्, जसको कारण स्पेनको उप–प्रधानमन्त्री कारमन काल्भो, ब्रिटेनको राजकुमार चाल्स, प्रधानमन्त्री बोरिस जोनसन, युरोपियन युनियनका प्रमुख मिसेल बारर्निर, जर्मनको लागि इस्राएलको राजदूत जेरमी इसाखारफ जस्ता शक्तिशाली पदमा भएका व्यक्तिहरू पनि संक्रमित भए ।

हाल विश्वभर कोरना भाइरसबाट १३ लाखको हाराहारीमा मानिसहरू संक्रमित भइसकेको रेकर्ड छ भने यो संख्या हरेक सेकेण्ड बढ्दै गएको छ । अमेरिकामा मात्र ३ लाख ६७ हजार ६ सय ५० संक्रमित भइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार यस संक्रमणको कारण अमेरिकामा मात्र १० हजार ९ सय ४३ मानिसहरूको मृत्यु भइसकेको छ ।

यसरी स्पेनमा १ लाख ४० हजार ५ सय १०, इटालीमा १ लाख ३२ हजार ७ सय ४०, जर्मनमा १ लाख ३ हजार ३ सय ७५ र फ्रान्समा ९८ हजार १० जना संक्रमित भइसकेका छन् । संक्रमणको कारण इटालीमा मात्र १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।

यसरी विश्वभर यो संक्रमण बढिरहेको समयमा, नेपाल पनि यसको महामारीबाट अछुतो रहन सकेन । जब पहिलोपटक जनवरी १३, २०२० मा चीनको बुहानबाट फर्किएको एकजना बिरामीमा कोभिड १९ को संक्रमण देखियो, सोही समयदेखि नेपाल सरकारले यसको सम्भावित फैलावट रोक्नको लागि आवश्यक कदम चाल्न सकेन ।

विदेशबाटको आवागमन हरेक देशको नागरिकको लागि खुला रह्यो । नेपाल सरकारले भ्रमण वर्ष २०२० को प्रचार गर्नमा कुनै कसुर छोडेन जबसम्म यस महामारीको प्रकोप विश्वभर फैलिएन । विश्वमा कोरोनाको त्रास फैलिसक्दा समेत हाम्रो देश सुरक्षित छ, हाम्रोमा घुम्न आउनुहोस् भनेर हाम्रा पर्यटन मन्त्रीले यस महामारीको नजरअन्दाज गरिरहे ।

जब छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको आंकडा बढ्न थाल्यो अनि मात्र नेपाल सरकारले यसको रोकथामको लागि केही प्रयासहरू अघि बढाउन थाल्यो । नेपाल सरकारले यसको नियन्त्रणको लागि भनेर देशभर लकडाउन कार्यान्वयन गर्यो यद्यपि भारतको सीमानाबाट आउने संख्या हालसम्म पूर्ण रूपमा रोकिएको छैन । अहिले नेपालमा संक्रमितको संख्या ९ जना पुगेको छ ।

मानिसहरूमा सृजित परिस्थितिले समुदायमा संक्रमण फैलिने भयले मानसिक रूपमा अत्यन्तै प्रभाव पारेको छ । तर यसको सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परेको छ । एकातर्फ वैदेशिक रोजगारमा गएका व्यक्तिहरू कोरोना संक्रमणका कारण स्वदेश फर्किने क्रमले बाहिरबाट संक्रमण लिएर आउने डर छ । हालसम्म नेपालमा भएको ९ जनामध्ये ७ जना संक्रमितहरू वैदेशिक रोजगारबाट फर्किएकाहरू छन् । तर अर्को पाटोलाई हेर्दा, यस महामारीको कारण विश्व अर्थतन्त्र नै धरासायी हुँदै गएको छ ।

वैदेशिक रोजगारमा गएकाहरु कामबाट हातधुने परिस्थिति सृजना भएकोछ । विदेशमा भएकाहरू पनि महामारीका कारण उद्योग, कलकारखाना बन्द हुँदा कामविहीन भएर बसेका छन् जसको प्रत्यक्ष प्रभाव रेमिट्यान्समा परेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतभन्दा बढी रेमिट्यान्सले धानेको छ । यस अवस्थामा रेमिट्यान्सले धानेको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव त्यसबेला पर्दछ जब वैदेशिक सञ्चिती रकम घट्दै जान्छ ।

देशमा उत्पादित वस्तुको निर्यात आयातको तुलनामा अति न्यून रहेको छ । साथै भएका कलकारखानाहरू समेत लकडाउनका कारण पूर्ण रूपमा बन्द भएका छन् । उत्पादनका लागि कच्चा पदार्थहरू आयात गर्न सकिएको छैन । अति आवश्यक वस्तु जस्तैः औषधि बनाउने कच्चा पदार्थसमेत भारतबाट आउन सकेको छैन, जसको कारण उद्योगहरू बन्द भएका छन् । यसपछि देशको दोश्रो ठूलो आयश्रोत टुरिजम हो, जुन अहिले संक्रमणको कारण पूर्ण रूपमा ध्वस्त भएको छ । भिजिट नेपाल २०२० बाट २० लाख पर्यटकहरू भित्र्याउने जुन लक्ष्य राखिएको थियो, संक्रमणको कारण पूर्ण रूपमा योजना असफल भइसकेको छ । नेपालमा भएका सम्पूर्ण पर्यटन व्यवसाय तथा होटलहरु बन्द भएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरूलाई बेतलबी बिदा दिइएको छ । अब व्यवसाय कहिले पूर्ववत् अवस्थामा फर्किन्छ भन्ने अनुमान लगाउन पनि कठिन छ ।

त्यसैगरि, संक्रमणको कारण फस्टाएको बैंकिङ तथा नन बैंकिङ कारोबार, लगानी बजार तथा सम्पूर्ण स्थानीय व्यवसाय पूर्ण धरासायी बनेको छ । व्यवसायीहरूले बैंकबाट लिएको कर्जाको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको छ । त्यसैगरी नेपाल सरकारले तयार गरेको राष्ट्रिय गौरवका आयोजनाहरू झनै अन्यौलमा परेका छन् । मेलम्ची खानेपानी आयोजना २० वर्ष पुग्दासमेत पूरा हुन सकेको छैन । यसवर्ष पानी आउने आशा गरिएता पनि अब यही कारणले कहिले आउँछ भन्नेकुरा झनै अनिश्चित बनेको छ । अर्कोतर्फ, विभिन्न हाइड्रोपावरका ठूला आयोजनाहरू सुचारु थिए । यसका लागि धेरै लगानी जनताहरूद्वारा पनि गरिएको छ । तर यो हुनेछ र यसबाट उत्पादित विद्युत अरु देशलाई बेच्ने भन्ने कुरा पनि वर्षौपछि धकेलिएको छ ।

यी सम्पूर्ण परिस्थितिको बाबजुद नेपाल सरकारले तत्काल सम्बोधन गर्नका लागि देखाउनुपर्ने तदारुकता प्रति उदासिन रहेको अवस्था देखिन्छ । अहिलेको परिस्थितिमा समस्याहरुलाई सम्बोधन गर्न युद्धस्तरमा नेपाल सरकार लाग्नुपर्ने हो । तर कुरा मात्रै गर्नेर कागजमा सीमित राख्नेबाहेकका केही पनि कार्य प्रगति देख्न सकिएको छैन । लकडाउन भएको १४ दिन बित्यो, यस समयमा संक्रमणको परीक्षण जति धेरै गर्यो त्यति नै छिटो यसलाई नियन्त्रण गर्न सकिन्छ, तर यसको लागि ल्याउनुपर्ने मेडिकल इक्विपमेन्टमा समेत ढिलाइ गरेको छ ।

लकडाउनको साता बित्दा चाइनाबाट इक्विपमेन्ट ल्याउन त ल्याए तर अपूरो ल्याए र ल्याएका सामान पनि १० गुणा महङ्गो तिरेर ल्याए । यसलाई संयोग, बाध्यता वा फट्याईं के भन्ने ? अहिले परिस्थितिले सबै वर्गलाई असर पारेता पनि दैनिक ज्यालादारी मजदूर वर्गलाई अत्यधिक असर पारिरहेको छ । यसबीचमा नेपाल सरकारले सबै वर्गलाई समेटने गरी राहत योजना त ल्यायो तर अमूर्त योजना ल्यायो ।

यसैबीचमा अर्थ मन्त्रीले आगामी आर्थिक वर्षको बजेट पहिलेको भन्दा केही अगाडि नै आउने बताए, जुन बजेट जेष्ठको दोश्रो हप्तासम्म आउनेछ । तर यसै क्रममा उनले हालको संक्रमणका कारण सबैकुरालाई समेट्न नसकिने र आर्थिक वृद्धिदर अपेक्षित रूपमा आउन नसक्ने संकेत गरे । हाल नेपालको आर्थिक बृद्धिदर ५.५ मा नै सीमित रहने स्थिति देखिएको छ ।

कोभिड १९ को संक्रमणको कारण सृजित अवस्था र यसलाई सम्बोधन गर्न सरकारद्वारा ल्याउनुपर्ने योजनाप्रति उदासिनता देख्दा अनुमान गर्न सकिन्छ कि नेपालको अर्थतन्त्र थला पर्नसक्ने अवस्था छ । २००८ को आर्थिक मन्दीको कारणले बिग्रिएको अर्थतन्त्र पूर्ववत् अवस्थामा ल्याउन युरोप तथा अमेरिकालाई ३ वर्ष लाग्यो । तर अहिलेको अवस्था २००८ को आर्थिक मन्दीले सिर्जना गरेको परिस्थितिभन्दा चर्को हो ।

सबै विश्व लकडाउनमा छ, सहरहरू सुनसान छन् । एक दिन कोरोनामाथि विश्वले विजय प्राप्त गर्ने नै छ तर सो अवस्थामा अर्थतन्त्र प्रायः ध्वस्त भइसकेको हुनेछ । अब सो परिस्थितिमा नेपालजस्तो मुलुकले कसरी तङग्रीन सक्छ भन्ने प्रश्न सबैको मनमा हुनु स्वभाविक हो । आशा गरौं कि नेपाल सरकारले बुद्धिपूर्ण ढंगले योजना बनाएर अब आउने परिस्थितिलाई सामना गर्दै बिग्रिएको अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा ल्याउन सक्नेछ ।

Loading...