इतिहासमै अमेरिका तीव्र आर्थिक संकटमा

कोरोना भाइरस महामारीले भयावह अवस्था

विराटनगर, २४ चैत । सन् २००८ मा विश्व नै आर्थिक मन्दीको शिकार भएको थियो । एक दशक पहिलेको आर्थिक संकटको अवस्थामा शेयर बजार ५०% भन्दा बढी तल झरेको थियो ।

विश्वमा नै लगानी बजार स्थिर भएको थियो भने बेरोजगारीको दर १०% भन्दा माथि उक्लिएको थियो ।

वार्षिक जि.डि.पी. १०% को आसपासमा सीमित भएको उक्त अवस्थालाई पहिलेकै अवस्थामा फर्किन कम्तिमा तीन वर्ष लागेको थियो ।

उक्त समयमा भएको विश्व आर्थिक संकट भन्दा पनि कोभिड १९ ले सिर्जना गरेको आर्थिक मन्दी अझ तीव्र र गम्भीर भएको छ । अहिलेको महामारीले, आर्थिक र वित्तीय परिणामलाई त्यो भन्दापनि भयावह अवस्थामा पुर्याएको छ ।

मार्च महिनाको सुरुवातमै अमेरिकी शेयर बजारमा २०% गिरावट आयो । केवल १५ दिन भित्रमा भएको भीषण गिरावट अहिलेसम्म कै ठूलो गिरावट मानिन्छ ।

अहिले बजार ३५% भन्दा बढी तल झरेको छ भने लगानीबजार बन्द हुने अवस्थामा छ । यो गिरावट २००८ को आर्थिक मन्दीको तुलनामा अधिक बढी हो ।

यहाँसम्म कि मुलधारमा रहेका वित्तीय कम्पनीहरु जस्तै : गोल्डमेन स्याच, जे.पी. मोर्गान र मोर्गान स्टेनली आदिले अमेरिकाको वार्षिक जी.डी.पी. पहिलो तीन महिनामा ६% र छ महिनामा २४% देखि ३०% ले अन्तर आउने अनुमान गरेका छन् ।

अमेरिकी अर्थ सचिव, स्टिभ न्युचिनले बेरोजगारी दर २०% भन्दा माथि जाने चेतावनी दिएका छन् (यो दर आर्थिक मन्दीमा भएको बेरोजगारी दरको तुलनामा दोब्बर हो ) ।

केही व्यवसायीहरुको आंकलनमा अहिलेको गिरावटको प्रकृया पहिलो तीन महिना भी आकारमा जानेछ र त्यस पछि पहिलेको नोक्सानीलाई भर्पाइ गर्दै छिट्टै पूर्ववत् अवस्थामा फर्किनेछ ।

तर आंकलनको विपरीत अहिलेको गिरावट बृद्धिदर भी आकारमा नभई सिधै आई आकारमा जाने निश्चित देखिन्छ, जसलाई सरल भाषामा अधोगतितर्फ झरिरहेको भन्न सकिन्छ ।

आज जसरी अमेरिका र युरोप यस महामारीसँग युद्ध गरिरहेको छ, यस्तो महासंकट दोश्रो विश्व युद्धमासमेत भोग्न परेको थिएन ।

यस समयमा सबैभन्दा डरलाग्दो परिदृश्य वित्तीयको देखिन्छ । यस समयमा उत्पादनमा अभूतपूर्व कमी आएको छ र सामाग्रीको भण्डारण पनि रित्तिँदै गएको छ ।

तर पनि यस आर्थिक वर्षको अन्तिमबाट सकारात्मक बृद्धितर्फ फर्कने अपेक्षा भने गर्न सकिन्छ । यदि बजार पुनः सुचारु भएको खण्डमा सुरुङ्गको अन्त्यमा उज्यालो देखिएजस्तै सम्हालिन सक्ने परिस्थिति बन्न सक्छ ।

तर अहिलेको अवस्था परिवर्तन भई राम्रो परिदृश्य सिर्जना हुन अमेरिकाले धेरै कुराहरुको पालना गर्नुपर्ने हुन्छ ।

पहिलो कुरा अमेरिकाले कोभिड १९ को जाँच गर्ने, संक्रमित व्यक्ति र स्थानको पहिचान गर्ने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, उपचार गर्ने, आवश्यक उपचार उपकरण उपलब्ध गराउने, संक्रमण रोक्न एशियाली देशहरुले गरे जस्तै पूर्ण रुपमा लकडाउन कार्यान्वयन गर्ने आदि कुरामा प्राथमिकता दिनु आवश्यक हुन्छ ।

किनकि यसको भ्याक्सिन बनाउनको लागि कम्तिमा पनि १८ महिना लाग्न सक्छ । दोश्रो कुरा उसले आफ्नो मौद्रिक नीतिलाई पुनरावलोकन गर्नुपर्ने हुन्छ ।

यस नीतिलाई पहिलो आर्थिक मन्दी हुँदा अमेरिकाले एक महिनाभन्दा कम समयमै कार्यान्वयन गरिसकेको छ यद्यपि यस अवस्थाबाट निस्कन उसलाई तीन वर्षभन्दा बढी समय लाग्यो ।

अहिलेको अवस्थाबाट बाहिर निस्कनको लागिपनि महामारी नियन्त्रण भइसकेपछि परम्परागत तरिकालाई त्यागेर लक्ष्य मापन सूचकलाई पछ्याउनु आवश्यक हुन्छ ।

यसको अर्थ के हो भने बैंक, उद्योग, बजार तथा ठूला व्यवसायहरुलाई शुन्य वा नकारात्मक व्याज दरमा दिइँदै आएको सहायताको नीतिलाई परिमार्जन गरी यसलाई सबलीकरण गर्नु; गुणात्मक रुपमा घाटा न्युनीकरण गर्नु आदि हो ।

अमेरिकी फेडेरल रिजर्भले विश्व बजारमा ठूलो परिमाणमा डलर तरलता कम गर्नको लागि अन्तर देशीय विनिमय प्रणाली विस्तार गरेको छ ।

तर यसको लागि बैंकले सानो र मध्यम आकारको उद्यमीहरुलाई सहजीकरण गर्नको लागि अन्य सुविधाहरु दिन आवश्यक हुन्छ ।

तेश्रो, अमेरिकी सरकारले ठूलो परिमाणमा वार्षिक बजेट वृद्धि गर्न आवश्यक हुन्छ, जसद्वारा सिधै जनताहरुले राहत प्राप्त गर्न सकेका होऊन् ।

आर्थिक संकटको आकारलाई मध्यनजर गर्दै अग्रगामी अर्थव्यवस्था बनाउन, अमेरिकी सरकारले वार्षिक बजेटलाई १०% भन्दा बढी बढाउन आवश्यक हुन्छ । निजी क्षेत्रको अवनति रोक्नको लागि केवल केन्द्रिय सरकारसँग मात्रै बलियो कोष रहेको हुन्छ ।

तर अहिलेको घाटाको अवस्थालाई क्षतिपूर्ति गर्नको लागि आफ्नो पैसालाई बलियो बनाउनु पर्नेपनि आवश्यकता छ ।

यदि सरकारले प्रशस्तै ऋण प्रदान गर्ने क्षमता राख्छ भने, ब्याज दर तीव्र गतिले बढ्न गई आम्दानीमा वृद्धि हुन्छ । आर्थिक क्षेत्र पूर्ववत् अवस्थामा फर्कनका लागि यसबाट हुने आम्दानीले ठूलो सहायता प्रदान गर्दछ ।

तर दूर्भाग्य, चाहेको जस्तै अवस्था देख्नका लागि जसरी पहिले अमेरिकाले महामारीसँग लड्न सार्वजनिक स्वास्थ्य सहायताको क्षेत्रमा काम गर्नुपर्ने थियो, त्यसतर्फ ध्यान नदिई मौद्रिक राहत प्रदान गर्नेतर्फ बहस चालेको देखिन्छ ।

हाल अख्तियार गरेको स्वास्थ्य सहायता नीति कोरोना संक्रमितको उपचारको लागि न त पर्याप्त नै छ न त यसले आधारभूत आवश्यकता नै पूरा गर्न सकेको छ । जसको कारण जनतामा प्रत्येक दिन निराशा बढ्दै गएको देखिन्छ ।

जबसम्म महामारी नियन्त्रण हुँदैन, संसारभरिको अर्थतन्त्र र बजार ओरालो लागिरहन्छ । यद्यपि महामारी बढे पनि घटे पनि २०२० को अन्त्यसम्म अमेरिका र सम्पूर्ण विश्व नै पूर्ववत् अवस्थामा आउन सक्ने कुनै गुञ्जायस देखिँदैन ।

उक्त समयसम्म यो भाइरसको प्रकोप नियन्त्रणको आशामात्रै गर्न सकिन्छ भने अर्को भाइरसको मौसम नयाँ नामको साथ शुरु हुने सम्भावना पनि छँदैछ ।

तर पनि चिकित्सकहरुको प्रयास निरन्तर जारी रहनेछ, भलै ती प्रयासहरुको प्रभाव न्यून मात्रामै किन नहोस् ।

एजेन्सीको सहयोगमा

Loading...