प्रदेश प्रमुख अधिकारीद्धारा कोरोना अस्पताल निरीक्षण

विराटनगर, २४ चैत । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताएकाछन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ( कोभिड १) बनावटी विषय नभएकाले सबैलाई सुरक्षित रहन उनले आग्रह गरे ।

प्रदेश १ सरकारले निर्माण गरेको कोशी अस्पताल कोरोना उपचार केन्द्रको सोमबार अनुगमन गर्दै प्रदेश प्रमुख अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिले सम्म गरेको कामको प्रशंसा गरे ।

जनप्रतिनिधि समुदायसम्म पुग्ने भएकाले उच्च मनोबलका साथ काम गर्न उनले आग्रह गरे । कोरोना भाइरस रोकथामका लागि प्रदेश १ सरकारले गरेको कामको सन्देश अन्य प्रदेशमा पनि राम्रो गएको प्रदेश प्रमुख अधिकारीले बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराए ।

मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष ध्यान दिएको बताए ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७/७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको प्रदेश प्रमुख अधिकारीलाई जानकारी दिइन् ।

उनले कोरोना अस्पतालको जनशक्ति व्यवस्थापनको काम भइरहेको बताए । प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले कोरोना अस्पतालको अनुगमन गरेका थिए । कोरोना अस्पताल ५० बेड क्षमताको रहेको छ ।

Loading...