कोरोनाको उपचार तोकिएको अस्पतालमा मात्रै हुन्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ का बिरामीको उपचार तोकिएको अस्पताल मात्रै हुने बताएका छन् ।

कोराना उपचारको तयारीबारे विभिन्न ६ अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग उनले मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा कोरोना भाइरसको उपचार हुने अस्पतालमा पूर्णरुपमा कोरोनाको उपचारमा मात्र गरिने बताए ।

मन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको अस्पताल पूर्णरुपमा कोरोनाका लागि उपचार शुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउनुपर्ने बताए ।

मन्त्री ढकालले सबै मिलेर काम गर्दामात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहिक रुपमै काम गर्नुपर्नेमा जोड दिए ।

उनले जस्तोसुकै चुनौती पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै काम अघि बढाउनुपर्ने बताए ।

स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उनले उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिए ।

कोराना उपचारका लागि तयार गरिएका अस्पतालको तयारीका बारेमा अनुगमन टोलीका तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अवस्थाका बारेमा बताएका थिए ।

टोलीले कोराना उपचारको तयारीबारे विभिन्न छवटा अस्पतालको अनुगमन गरेको थियो । सोमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल र भक्तपुर अस्पताल रहेका छन् ।

अनुगमनमा छवटै अस्पताल कोरानाको उपचारका लागि पूर्णरुपमा तयार भएका पाइएको थियो ।

Loading...