लकडाउनमा सर्वहाराको पीडा – ‘स्यानिटाईजरले हातधोएर मात्र के गर्नु, खानलाई अन्नै नभएपछि ’

विराटनगर , २४ चैत । विश्वभरि महामारी फैलाइरहेको प्राणघातक कोरोना भाइरसको संक्रमण रोकथामकालागि ११ चैतदेखी नेपाल लकडाउन छ । लकडाउन सुरुभएसँगै हुनेखानेहरु सुरक्षित आफनो घरमा बसेर लकडाउनको पालना गर्दै सर्तकता अपनाइरहेका छन । तर दैनिक काम गरेर मात्रै खान पाउनेहरुको जिवन लकडाउनमा कष्टकटर बन्दै गएको छ । कोशी अनलाइनकालागि विराटनगर महानगरपालिकामा दैनिक गरिखाने मजदुर र सुकुम्बासीहरुको अवस्थाबारे बबिता लिम्बु, सुरेन्द्र मल्ल र मोहन ढकालले तैयार पारेको यो रिर्पोट ……..

हात धुनलाई स्यानिटाईजर दिए तर अन्न दिएनन

२२ वर्षीय युवा शंकर राम पेन्टरको काम गर्छन् । छ बर्षदेखी दैनिक पेन्टरको काम गरेर जीवन निर्वाह गरिरहेका शंकर अचानक भएको लकडाउनले भने पर्नुमारमा परेका छन । काम ठप्प भएकोले उनी बस्तीका अरु मानिशहरु जस्तै दिनभरी मोबाईल चलाएर, टि.भी हेरेर आफ्नो समय बिताईरहेका छन् । सबैको जस्तै उनको पनि एउटै आशा छ , – ‘दैनिक ज्यालामजदुरी गरेर खानेहरुकालागि सरकारले केही गरिदिएहुन्थ्यो ।,’

यहाँ कोरोना भाइरस संक्रमण रोकथामकालागि भनेर दाताहरुले घर–घर स्यानिटाईजर र मास्क बाँडेका छन । तर अझैसम्म कसैले खानाकालागि केही राहत दिन आइनपुगेको कौशिला राम बताउँछिन । भन्छिन , – ‘हात धुनलाई स्यानिटाईजर त दिए तर भोकबाट बच्न खानेकुरा चाहिँ कसले दिने ?’ सबैको एउटै भनाई छ , ‘कि त लकडाउन खोलेर काम गर्ने वातावरण बनाईदिनु परयो कि त खानलाई व्यवस्था गरिदिनुपरयो ।,


विराटनगर महानगरपालिका –१२ स्थित शुक्रबारे हटियाको सुकुम्बासी बस्तीमा कोरोनाको असर नराम्रो सँग परेको छ । कोरोना भाइरस संक्रमणकालागि अकास्मत देश लकडाउन भएपछि महानगरका दैनिक गरिखानेहरु भोकभोकै पर्न थालेका छन ।एक्कासी भएको लकडाउनप्रति उनीहरुखुशी छैनन् । विश्वमा महामारी फैलाइरहेको प्राणघातक भाइरस कोराना संक्रमणको भन्दा पनि उनीहरुलाई आफना लालाबाला भोकै मर्लान कि भन्ने पीर छ ।

बस्तीका प्रत्येक घरहरुमा हातधुनकालागि स्यानिटाईजर र लगाउनकालागि मास्कपुग्दो छ । तर दैनिकज्यालामजदुरी गरेर खाने बस्तीका अधिकाशं मानिसहरुलाई लम्बिदै गईरहेको लकडाउनमा के खाने होलाभत्रे पिरले सताउन छाडेको छैन ।


साप्ताहिक लाग्ने हटिया नजिकैको बस्तीमा लगभग ३५ सुकुम्बासी घरपरिवार बस्छन् । यहाँका अधिकांश मानिसहरुले पेन्टिङ पेशा (रङ लगाउने काम) गर्दै आएका छन । बस्तीकाप्रायःसबै मानिसहरु दैनिक रुपमा ज्याला मजदुरी गरेर आफ्नो र परिवारको जिवीको पार्जनगर्ने गर्छन् ।
विराटनगर महानगरपालिका र विभित्र संस्थाहरुले घरवार विहीन र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई राहत सामग्री वितरण गर्न थालेको छ । तर सबै ठाउँहरुमा राहत सामग्री पुग्न सकिरहेको छैन । यसैले दैनिक गरिखाने सर्बवाहाराहरु छटपटाउन थालेका छन ।

भाँडा माझी खाने मीनालाई कोरोनाले भन्दा पनि भोकले मरिन्छ भन्ने डर

विराटनगर ६ धुदुवा किनार छेउ बस्ने मीना पासवान दैनिक बजारमा गई मालिकको घरमा जुठो भाँडा माझेर जीवीकोपार्जन गर्छीन् । भाँडामाझेको सामान्य आम्दानीले ३ छोरी १ छोरा र आफूसहित ५ जना परिवारको जीवन निर्वाह गदैथिइन । तर लकडाउनका कारण काम बन्द भएकोले उनलाई जीवन धान्न धौ धौ परेको छ ।

मालिकले १५ दिन नआउनु भनेर छुट्टी दिएका छन । ‘अरु काम गर्नका लागि पनि केही छैन के गरि छोराछोरीको प्राण धान्ने होला ?’ आँगनमा आफ्नी सानी छोरीलाई काखमा लिदै मीना चिन्ता व्यक्त्ति गर्छिन । केही वर्ष अघि उनको श्रीमानको मृत्यु भयो । यसैले आफ्नो आफनो घर जग्गा बेच्नु परयो । अहिले उनि छोरोछोरीको साथमा सुकुम्वासी वस्तीमा बस्छिन ।

उनी जस्तै सो क्षेत्रमा धेरै संख्यामा बसोबास गर्ने उनिहरुलाई लकडाउनले निकै मर्कामा पारेको छ । प्रायजसो दैनिकी ज्यालामा काम गर्नेहरु के खाने भन्ने समस्यामा रहेको ् विजय पासवान वताउँछन ।अन्नपूर्ण मार्वलमा जनको काम गर्ने उनी लकडाउनका कारण सबै बन्द भएकोले काम गर्न जान नपाएको दुखेसो गर्छन । दुई छोरा र श्रीमतीसँगै बस्ने विजय कोरोना चाँडै नियन्त्रणमा आवोस र लकडाउन खुलोस भन्ने कामना गर्छन ।

ठेलावालाहरुको कामना – कि लकडाउन खुलोस कि सरकारले राहत देवोस

विराटनगर महानगरपालिका वडा नं. १२ बखरी घर बताउने महाविर कामत दैनिक ठेला चलाएर आफ्नो परिवार चलाउँछन । तर लकडाउनसँगै उनलाई विपत्ती थपिएको छ । ‘एघार जनाको परिवार छ, काम छैन, कतैबाट सहयोग आएको छैन, घरपरिवार धान्न समस्या छ, हे दैब के गर्ने होला !’ महाविर सुस्केरा हाल्छन ।,


लकडाउनले गर्दा हरेक सामानको भाउ दोब्बर भएको छ, ३०÷३५ मा पाउने आलु ६०÷७० पर्छ । गरिबले किन्न सक्ने अवस्था छैन् । दुखयारी महाविर भन्छन – ‘अहिले सम्म कुनै राहत पाएको छैन्, कसरी परिवारलाई बचाउनुहोला ?’


विराटनगर महानगरपालिकामा ठेला चलाउदै आउने पाँच सय बढी मजदुर परिवारको अवस्था महाविरकै जस्तो छ । यसैले उनीहरु सबैजनाको एउटै कामना र चाहना छ ,– ‘कि लकडाउन खुलोस कि सरकारले राहत चाँडो देवोस ।,’

Loading...