कोरोना महामारी तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन

आज देश, समाज तथा विश्व कोरोना (कोभिड–१९) को महामारीले आक्रान्त छ । विश्वका अतिसम्पन्न, विकसित देश तथा हाम्रा जसता अल्पविकसित मुलुक सबै यस रोगको भूमरीमा जगेडिएका छन् । मानव जातीकै अत्यन्त पीडादायक समय हामीसामु छ ।

धीरज मैनाली, अस्पताल व्यवस्थापन परामर्शदाता

दैनिकजसो हजारौं मानिसको मृत्युको खबर बिहान उठ्नेबित्तिकै तथा साँझ सुत्नुअगाडि हाम्रा कानमा पर्छन् । क्रिकेटको विश्वकपमा विभिन्न देशको रनतालिका हेरेजस्तो हिजोआज कोरोनाको संख्या अनि मृत्यु भएका मानिसको संख्या देखिन्छ । मानिसको व्यवहार, रहनसहन तथा लापरवाहीले अनेक किसिमका नौला रोगहरूको उत्पति भइरहेको छ ।

कहिले इबोला बनेर आउँछ त कहिले स्वाइनफ्लू अनि सारस बनेर मानव सभ्यताको खतरामा धावा दिइरहेको हुन्छ । यी र यसता रोग फैलाउने भाइरस, ब्याक्टेरिया, फङ्गस फैलनुमा सम्भवतः हामी मानव समुदायनै प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी छौं । व्यस्त जीवनशैली आधुनिकतासँगै आएको हाम्रो जीवनयापनको तौर–तरिका तथा विज्ञानमा भएको उपलब्धीले समाजमा नयाँ आयाम त दिएको छ साथसाथै समस्या पनि उत्तिकै थोपरिरेहको छ ।

नमस्कार गर्ने हाम्रो पूर्वीय संस्कृतिलाई बिर्सेर हामी अँगालो हाल्ने संस्कृतीमा गर्व महशुस गर्न थालेको एउटा उदाहरण मात्रै हो । कोराना भाइरस चीनको वुहानबाट सुरुआत भएर विश्वमा दुई सयभन्दा बढी देशलाई अफ्ठ्यारो स्थितिमा पु¥याएको छ । यो रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । मानिससँग मानिस डराउनुपर्ने यो अचम्मको समस्या विश्वमा सम्भवतः पहिलोपटक देखिएको छ ।

यस समस्यासँग जुध्न सरकार तथा स्थानीय प्रशासन आफ्नो सक्दो प्रयासमा होमिएको छ । तर सरकारको एकल प्रयासबाट यो समस्याको समाधान सम्भव छैन । यसमा हामी सबैको सामूहिक सहभागिता तथा उतरदायित्व जरुरी छ । सामाजिक दूरीनै यो समस्यासँग जुध्ने एक मात्र सञ्जीवनी बुटिको रूपमा अहिले देखिएको छ । सकभर बाहिर ननिस्कने, अतिआवश्यक कामले निस्कनु परेमा माक्सको प्रयोग गर्ने तथा समय समयमा हात धुने, सेनिटाइजर प्रयोग गर्ने साथै हातले मुख, नाक तथा आँखा नछुने तरिकानै यो रोगसँग लड्ने उपायको रूपमा लिइएको छ । विदेशबाट आएका मानिससँग सम्पर्कमा नजाने, संक्रमण शंका भएकाको सम्पर्कमा गइएमा अतिनै सावधानी अपनाउने तथा आइशोलनमा बस्ने तथा उपचार गर्नतर्फ अग्रसर हुनु जरुरी छ ।

नेपालमा अहिले अधिकांश अस्पतालले स्वास्थ्यजन्य फोहोरको व्यवस्थापनलाई कम प्रथमिकतामा राखेको पाइन्छ । निजी अस्पताल तथा अधिकांश सरकारी अस्पतालको फोहोरविना कुनै प्रशोधन स्थानीय फोहोर संकलनकर्तामार्फत् फोहोर बिर्सजन गर्ने गरिएको छ । अस्पतालबाट उत्पादन हुने फोहोर हानिकारक प्रकृतिका हुन्छन् ।

रोगीको सम्पर्कबाट उत्पादन हुने फोहोरलाई विना कुनै प्रशोधन जथाभावी फालिनुले यसले समुदायमा रोग फैलाउने कुरालाई गम्भीरताका साथ लिइएको पाइँदैन । स्वास्थ्यसंस्था उपचार गर्ने स्रोत भएता पनि यसबाट निस्कने फोहोरले समुदायमा पुनः फोहोर उत्पादन गर्ने गरेको छ । उपचारको चक्रिय सिद्धान्त कायम भएझै फोहोरको जथाभावी व्यवस्थापनले मानव बिरामी पर्नु, अस्पतालमा गएर उपचार गर्नु अनि फेरि फोहोर उत्पादन हुनु त्यो फोहोरले पुनः मानिसलाई बिरामी बनाउने चक्र चलिरहेको छ ।

नेपाल सरकारले ऐन तथा निर्देशिका मा फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने तबर–तरिका स्पष्ट निर्दिष्ट गरेको छ साथै दण्ड जरिवानाको समेत व्यवस्था गरेको छ । तर यसको प्रभावकारी कार्यन्वयन भएको छैन । केन्द्रका केही अस्पताल तथा प्रदेशका केही औंलाले गन्न मिल्ने अस्पतालबाहेकका अस्पतालले अस्पतालका अतिजोखिमयुक्त मानव शालनाल अंग आफ्नो भवनको छत वा कुनै कुनामा डढाउने गरेका छन् वा स्थानीय संकलनकर्तालाई दिने गरेको पाइएको छ । स्वस्थ्यजन्य फोहोरलाई डढाउँदा त्यसबाट हानिकारक ग्याँस उत्पादन हुने कुरा विश्व स्वास्थ्य संगठनले व्याख्या गरेको छ ।

फोहोरको सही पृथकीकरण गरी वैज्ञानिक तबरले ढुवानी गरेर प्रशोधनपश्चात अधिकांश फोहोर बिक्रीबाट अस्पतालले मोहोर कमाउन सक्छ । हानिकारक फोहोर निर्मलीकरण यन्त्रमा १२१ डि.सेल्सेस वा १५ पि.यस.आइमा ३० देखि ४५ मिनेटसम्म पकाएपछि सो फोहोर साधारण फोहोर जस्तो हुनेछ । ती फोहोरलाई छुटाएर भण्डारण गरी बिक्री गर्न सकिन्छ । केन्द्रको वीर अस्पताल तथा प्रदेश १ मा विराटनगर आँखा अस्पतालले फोहोरको वैज्ञानिक व्यवस्थापन गरी फोहोरबाट मोहोर कमाएर उदाहरणीय कार्य स्थिापित गरेका छन् । अन्य अस्पतालका लागिसमेत यस्ता कार्य अनुकरणीय भएता पनि फोहोर व्यवस्थापनमा न त सरकारी अस्पतालको ध्यान गएको छ न त निजी अस्पतालको छ ।

सस्तोमा नगरपालिकाको फोहोर संकलकले सबै फोहोर संकलन गरेपश्चात किन अस्पताल स्वयंले यस विषयमा टाउको दुखाउने भन्ने सोच अधिकांश अस्पतालमा रहेको पाइन्छ । केही अस्पतालले अनुगमन आउँदा देखाउनका निम्ती केही कार्य तथा औजार राखेको पाइन्छ तर मापदण्डले निर्देशित कार्य नगरी नगरपालिकाकै फोहोर संकलकका सहयोगमा बिर्सजन गरेको देखिन्छ ।

अहिले कोरोनाको उपचारसँगै कोरोना अनुमान गरिएका वा पुष्टि भएका व्यक्तिको उपचार गरिने अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन अतिआवश्यक तथा अति नै संवेदनशील छ । कोरोना संक्रमितको उपचारबाट निस्कन सबै कुरा अतिनै हानिकारक हुन्छन् । स्वस्थ्यजन्य फोहोर व्यवस्थापनमा नेपाल सरकारको कुनै चासो तथा प्राथमिक्ता पाइन्न ।

निजी अस्पताल झन् लाचार छन् । तर कोरोनाका बिरामीको उपचार हुने अस्पतालबाट निस्कन फोहोर मैलालाई हल्का रूपमा लिनुहँदैन । सो फोहोरको माध्ययमबाट कैयनलाई कोरोना संक्रमण हुन सक्ने यथार्थलाई सबैै पक्षले मनन गर्नु साथै सोहीअनुसारको सावधानी अपनाउनु जरुरी छ । करोना बिरामी उपचार हुने अस्पतालका सरसफाइमा काम गर्ने कर्मचारीले समेत सुरक्षा पहिरन पाउनुपर्छ ।

साथै त्यहाँबाट उत्पादन भएको फोहोरलाई सही तबरले पृथकीकरण गरेर मापदण्डअनुसार निर्मलीकरण विधिबाट प्रशोधन हुनु जरुरी छ । बिरामीको टेष्टको लागि लिइएको स्वावलाई १ प्रतिशत सोडियम हाइप्रोकोलोराइडमा डुबाएर मात्र बिसर्जन हुनु जरुरी छ ।

स्वस्थ्यजन्य फोहोरलाई हल्का रूपमा लिँदै जाने हो भने कोरोनाभन्दा मानव सभ्यताको लागि अर्को खतरा भाइरस नआउला भन्न सकिन्न । नियमनकारी निकाय, अस्पतालका सञ्चालक, चिकित्सक तथा कार्यरत सम्पूर्ण कर्मचारी यसप्रति सचेत एवं गम्भीर हुन अतिआवश्यक छ ।

अन्तमा ः कोरोना महामारीसँग लडन नागरिकस्तरमा यसमा सहयोग तथा चनाखो हुनु आवश्यक छ । मन्दिरमा भगवान, अल्ला, इशु, गुरु खोज्नेभन्दा घरमै आराधना गर्नु जरुरी छ । यसबेला कुनै किसिमको सामाजिक कार्यलाई स्थगन गरी व्यक्तिगत स्वस्थ्य, परिवारको स्वस्थ्य तथा पूरा समाज तथा राष्ट्रको स्वस्थ्यको बारेमा सोच्नु आवश्यक छ ।

यो लडाइँ सरकार एक्लैले जित्न सक्दैन । यो लडाइँका सेना स्वस्थ्यकर्मी तथा हामी नागरिक होऔं । भीडभाडमा जाँदा को व्यक्तिलाई कोराना भएको हुन्छ थाहा हुँदैन । त्यसकारण हाटबजार तथा अन्य स्थानमा यदि जानुपर्ने हुँदा स्वयं सावधानी अपनाउनु जरुरी छ । आम जनमानिसलाई सूचित गराउने तथा जगरुक गराउने कार्यमा सबै पक्ष अहोरात्र खटिनुपर्छ ।

हात धुने तरिका सिकाउने, धेरै भीडभाड हुन नदिन प्रशासन मात्र होइन स्थानीय नेता, कार्यकर्ता सबै लागिपर्नु आवश्यक छ । यो लडाइँ हाम्रो पक्षमा ल्याउन सबैको सामूहिक सहभागिताको जरुरी छ । धनि गरिब, कालो गोरो, हिन्दू मुश्लिम, विकसित अविकसित केही नहेर्ने यो रोगबाट सबैले व्यक्तिगत दस्री कायम गरेर, समय समयमा हात धोएर वा सेनिटाइजर लगाएर आफू आफनो परिवार, समाज अनि राष्ट्र सबैलाई बचाऊँ ।

Loading...