सेनाले सरकारी म्यान्डेटमा रहेर कर्तव्यपालन गर्छ : प्रवक्ता

काठमाडौं, २४ चैत । नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) खरिद गर्न सरकारले आफ्नो संस्थालाई जिम्मेवारी दिएको जानकारी दिएको छ ।

आइतबार भिडियो कन्फरेन्समार्फत् पत्रकार सम्मेलन गदै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त जानकारी दिएको हो । ‘नेपाल सरकारको मातहतमा रहेको नेपाली सेना पनि एउटा संस्था हो, उनले भने, ‘नेपाली सेना जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर सँधै उत्तरदायित्ववोधका साथ कर्तव्यपालन गरिरहेको छ ।’

केही दिनअघि भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) मार्फत् खरिद गर्ने नेपाली सेनालाई जिम्मेवारी दिएको उनले स्पष्ट पारेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

चीनबाट अत्यधिक महँगो मूल्यमा मेडिकल सामग्री खरिद ‘डिल’ नागरिक दबाबमा रद्द भएपछि सरकारले त्यो कामको जिम्मा सेनालाई दिएको छ। उक्त निर्णयबारे भिन्नभिन्न कोणबाट बहस भइरहेका छन्।

सेनाको प्राथमिक दायित्व भनेको राष्ट्रिय सुरक्षा हो। आपत्विपत्मा नागरिक र सरकारलाई सघाउनु उसको कर्तव्य हो। प्रकृति तथा पर्यावरण संरक्षण, महत्वपूर्ण विकास परियोजना, खेलकुद र अन्य सामाजिक क्षेत्रमा सेनाको योगदान महत्वपूर्ण छ।

सेना पछिल्लो समय आफ्नो मूलभूत दायित्वभन्दा व्यापार, परियोजना र ठेक्कापट्टातिर बढी अलमलिएको टीकाटिप्पणी बढ्दो छ। अझ सरकारले मेडिकल सामग्री खरिदको जिम्मा दिएपछि उसको भूमिका र चरित्रबारे नागरिकस्तरबाटै प्रश्न उठेको छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार टिप्पणी छ ।

Loading...