लकडाउनमा विराटनगरका रंगकर्मी र साहित्यकारको दैनिकी

माधव काफ्ले
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण हामी फुर्सदिला भएका छौं । चीनबाट फैलिएको यो भाइरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण हामी घरमै बसेर सतर्कता अपनाइरहेका छौं ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारबाहेक अरुले घरमै बसेर समय ब्यतीत गरिरहेका छौं । लकडाउनमा विराटनगरका कलाकार साहित्कारहरुचाँही के गरिरहेका छन त ? कोशी अनलाइनलाई आफनो लकडाउन दैनिकी उनीहरु यसरी बताउँछन् ।

विवस पोखरेल, साहित्यकार

उनले प्रायः आफ्ना सिर्जनाहरू सामाजिक सञ्जाल फेसबुकमार्फत् शेयर गरिरहेका छन् । त्यसबाहेक उनी किताब पढ्दै र समाचार हेर्दै दिन बिताउँछन् । कोरोनाबाट सचेत रहन र सतर्कता अपनाउन उनले सामाजिक सञ्जालमार्फत् सबैलाई आग्रह गर्दै आएका छन् ।

मीनकुमार नवोदित, साहित्यकार

लकडाउनको मौका छोपेर केही पुराना पुस्तकहरू पढ्दैछु । तथापि, दिनहुँ मकालु टेलिभिजनमा व्यस्त हुन्छु नै । किनकि सूचना सम्प्रेषण गर्नु मेरो धर्म हो । टिभीबाट मात्र नभएर सामाजिक सञ्जालमार्फत् पनि मैले सूचना दिने काम गरिरहेको छु ।

पत्रकार भएकाले त्रासमा हिँड्नुपरेको छ । तर, सतकर्ता अपनाइ सूचना संकलनमा गएको हुन्छु । आफूजस्ता पत्रकारलाई सूचना सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यका साथ मास्क, पञ्जा, टोपीलगायत सामाग्री वितरण पनि गर्नेगरेको छु । त्यसका अलाबा खेलबारीमा तरकारी लगाउने काम गर्छु । केही कविता लेख्ने काम गरिरहेको छु ।

हरि कट्टेल, साहित्कार

एउटा साहित्यकार सधैँ भावनामै मात्रै बग्दैन र बग्नुहुँदैन पनि भन्ने ठान्छु म । देशमा लकडाउनका समय बित्दै जाँदा यही बीचमा नै पिपिईलगायतका स्वास्थ्य सामग्रीका समस्या, मान्छेहरूमा संक्रमणको त्रासले ल्याएको आतङ्क, सरकार र अस्पतालहरूका बीचका जुवारी, सामान खरीद र त्यसका बारेमा उठेका प्रश्नको अन्धसमर्थन र अन्धविरोध, विदेशी नमगरिकहरूको उद्दार, विदेशमा रहेका नेपालीहरूको स्वदेश आगमनमा प्रतिबन्ध, नाकाबन्दीका कारण सीमा छेउमा आन्दोलित र छट्पटिएका नेपालीहरूको पीडा आदि पनि देखिए । यस्ता कुराहरले पनि मलाई छोइरहे ।

त्यसैले निस्फिक्री भएर पठन तथा लेखनतिर लाग्न सकिनँ । यद्दपि यसैबीचमा मैले पूर्वीय दर्शनको सामान्य अध्ययन गरेँ । यसका साथै महाभारत, रामायण हुँदै अहिलेको समयसम्म यो दर्शनले कसरी लेखक कविहरूलाई प्रभावित गरिरहेछ भनेर अध्ययन गरेँ । केही संग्रहित विभिन्न लेखकका कृतिहरू अध्ययन गर्ने प्रयास गरेँ । बीपी पढेँ र उनको लेखनशक्तिलाई आत्मसात गरेँ । विराटनगरका केही स्रष्टाहरूको नयाँ प्रकाशित कृतिहरूको समालोचना, समीक्षा गरिदिने प्रयत्न गरेँ ।

केही आफ्ना अप्रकाशित कृतिका पाण्डुलिपिहरू नियालेँ र छिटपुट समयसँगैका एक दुई कविताहरू लेखेँ । अब पनि समय, समस्या र राष्ट्रिय गतिविधिहरूसँग सरोकार गर्दै अध्ययन र लेखन, पठन गर्दै बाँकी दिनहरू पनि बिताउनसक्छु भन्ने लागेको छ ।

अन्तमा अस्तिका दिन मात्रै मैले लेखेको लक डाउन कविताको सानो अंश
छल्किँदा देशका आशु रोएर अरु मर्दछन्
यो देशमा भने आँशु पिउने खेल खेल्दछन्
पार्टीको शासनै खोज्दा भेटेथेँ पिडुँलाभरि
भ्रष्टाचार गरे अहिले प्रतिस्पर्धा गरी–गरी ।

भरत गुरागाइँ (वर्वरिक) रंगकर्मी

लकडाउनको समयमा घरमै पुस्तकहरू पढेर दिन बिताइरहेको छु । घरपट्टिकी छोरी र गल्लीहरू, प्रतिबिम्ब हराएको मान्छे, अप्रेसन थिएटर र दमिनी भिर जस्ता पुस्तकहरू पढिरहेको छु ।

यसका अलावा फेसबुकमार्फत् “भित्तोको आवाज’’ र “साहित्यको डबली’’ नामक कार्यक्रम निरन्तर रूपमा अगाडि बढाइरहेको छु । बाहिर जान नहुने भएकाले विभिन्न साहित्यकारहरूसँग फोन सम्पर्क गरिरहेको छु । लकडाउनको समयमा एउटा कबिता संग्रह लेखिरहेको छु । र, समग्रमा भन्नुपर्दा फेसबुक, फोन र साहित्यिक गतिविधिमा लकडाउनको समय सदुपयोग गरिरहेको छु । सम्पूर्ण नेपालीलाई महामारीबाट बच्न घरभित्रै बस्नसमेत मेरो आग्रह छ ।

ममता श्रेष्ठ, साहित्यकार

सधैं जस्तै बिहान ६ बजे उठ्छु । नृत्यकर्म गर्दाखेरि ७ बज्छ र पत्रिका पढ्न बस्छु । छोरीले खाना बनाउन सघाउँछिन् । यो लकडाउनले सबलाई घरको काम गर्न मन लाग्ने बनाएको छ । मैले भने यो लकडाउनमा लेख्न र पढ्न समय पाइरहेकी छु ।

एउटा उपन्यास लेख्दैछु । लकडाउनले मलाई पर्याप्त समय दिएको छ । नत्र मैले तीन बजे नै गोरखापत्र पुग्नुपर्ने हुन्छ । तर, अब मैले पाँच बजेपछि मात्र गोरखापत्रको काम सुरु गर्छु । बेलुकाखेरि छतमा निस्किन्छु ।

कटवाल दीपक, रंगकर्मी

म हाल विराट आदर्श साहित्य मञ्चको आगामी प्रस्तुति “नालापानीमा’’ नाटकको लेखनमा व्यस्त छु । “नालापानीमा’’ नाटकलाई नेपाली रंगमञ्चको एक ऐतिहासिक नाटक बनाउका लागि विगत २ महिनादेखि यस नाटकको लेखनमा सक्रिय छु ।

त्यसबाहेक कथा संग्रह “च्यातिएको मोजा’’ र कविता संग्रह “गाउँको सिंहदरबार’’ लेखनको अन्तिम चरणमा छ । लकडाउनको समयमा विभिन्न क्षेत्रका व्यक्रिहरूसँग फोन वार्तालाप, नाटक, कथा, र कविता लेखनमा सक्रिय छु ।

महाकवि देवकोटाको “मुनामदन’’ मा आधारित नाटक वैशाखमा पोखरामा मञ्चन गर्ने तयारी गरेको थिएँ । तर, कोरोना माहामारीले प्रभाव पारेको छ । कोरोनाले सबै योजना स्थगित भएका छन् । यद्यपि, यस्तो बेलामा हामीले सतर्कता अपनाउनु नै उत्तम हो ।

कोरोना महामारीका विरुद्ध सबै नेपाली एक जुट भइ लाग्नुपर्छ र सरकारले जारी गरेको लकडाउन सबैलै पालना गर्नुपर्छ ।

धिरज राई, रंगकर्मी

सरकारले हामीलाई बचाउनकै लागि लकडाउन गरेकाले हामी सचेत भएर सरकारलाई सहयोग गर्नु अपरिहार्य छ । तथापि, अत्यावश्यक कामका लागि बेलाबखत कार्यालय जानुपर्ने बाध्यतामा छु । यसरी कार्यालय निस्किँदा व्यक्तिगत सुरक्षामा ध्यान दिँदै मास्क, ग्लोब्स् र ह्याण्ड सेनिटाइजरको प्रयोग तथा सामाजिक दुरी कायम गर्नेचाहिँ गरेको छु ।

यसै पनि अलिक अल्छि छु, ओछ्यान भयो भने समय व्यतित गर्न उत्ति गाह्रो हुन्न । राति बरु अलिक अबेर सुत्ने बानी छ, उठ्दा झण्डै आधा दिन त बितिहाल्छ (जरुरी काम छैन र परेन भने) । लोक नाटकमा काम गर्नुपर्ने छ केही समयपछि, त्यसैको तयारीको लागि किराँती (राई बान्तावा) लोक कथा र नाटकहरू पढ्दैछु ।

आधुनिक कन्नड कविताहरूको नेपाली अनुवाद “भारत शाश्वत आवाज’’ (अनुवादः सुमन पोखरेल, सम्पादनः मोमिला जोशी) पनि पढिरहेको हुन्छु । बाँकी समयमा मोबाइल फोन, सामाजिक सञ्जाल, फिल्म र टेलिभिजनहरूसँग रहन्छु । अरुभन्दा नि चिया पसलको चियाले चाहिँ याद गरिरहेको हुन्छ जस्तो लाग्छ बेलाबेला । खैर, हामी आफू सुरक्षित हुनुछ र अरुलाई नि सुरक्षित राख्नुछ । तसर्थ घरै बसेर लकडाउनको पूर्ण पालना गरौँ ।

परशुराम घिमिरे, कथाकार

लकडाउनको समयमा उपन्यास पढ्नमा व्यस्त छु । मुना चौधरीको ‘दुलारी’, निलम कार्कीको ‘योगमाया’ र भाउ पन्थिको ‘पात्रहीन’ पढिसकेर फिल्म लेखनका साथै आफ्नो दोश्रो उपन्यास सोइसैलाको प्रकाशनको अन्तिम चरणको तयारीमा छु ।

त्यसबाहेक लकडाउनको समयमा छोटा कथा लेखन मा पनि सक्रिय छु । लकडाउनको समयमा घरायसी काममा श्रीमतीलाई सहयोग गर्दै आएको छु । यस्तो स्थितिमा सबैलाई घरमै बसेर आफ्नो सुरक्षा गर्न मेरो आग्रह छ ।

रमेस चन्द्र अधिकारी, युवा कवि

गाउँमा छु । शहरको झै चहलपहल त हुँदैन गाउँमा । यद्यपि, चोक हाट–बजार सुनसान छन् । विद्यालयहरू बन्द छन् । खेतबारीमा काम गर्नेहरू गरेकै छन् । मचाहिँ दिनभरको समय घरायसी काम अनि अध्ययन र लेखनमा बिताइरहेको छु ।

कविता कृतिहरू साथमा छन् । दिउँसोको समय र रातिको समय यिनै अध्ययन गर्दैछु । आगामी वर्षको लागि एउटा संग्रहको योजना छ । त्यसको केही तयारी पनि चलिरहेको छ । जे होस यो समयलाई सदुपयोग नै गरिरहेको छु

म हाल सुमन पोखरेलको ‘जीवनको छेउ’बाट, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, सञ्जीव उप्रेतीको ‘हंस’, खगेन्द्र गिरी कोपिलाको ‘लहरै लहर बग्दा बग्दै’ र गीता पुडासैनीको ‘सीमानाको सालिक’ पुस्तकहरू पढिरहेको छु ।

शिवनारायण पण्डित, कवि

छ सर्वत्र कोरोना विरूद्ध लकडाउन
यस्तो लाग्छ जीवनै होला सटडाउन

तथापि कोरोनाबाट बच्ने प्रथम उपाय लकडाउन नै होला भनेर ढिलै भएपनि बेलैमा सरकारले आह्वान गरेको लकडाउन नेपाल र नेपालीको लागि भरपर्दो नै साबित भएको छ ।
नेपालमा भरपर्दो हुनु स्वाभाविक पनि छ । किनभने नेपाल अझै पूर्वीय संस्कार जिउँदो छ । पूर्वीय संस्कृतिले मानव र दानवबीचको अन्तरलाई स्पष्टसँग स्थापित गरेको छ, जसको कारण यताका मानिसमा मानवीयता अझै छ भने यूरोप अमेरिका अर्थात् पश्चिममा संस्कृति पूरै गतिछाडा भइसकेको छ ।

याने कि स्पर्श, चुम्बन र आलिंगन सामान्य हो भने हामी त्यसमा सचेत छौं । त्यसको नतिजा यो पनि हो कि अहिलेसम्म नेपालबाट त्यस्तो महामारी हुने खालको रोग उत्पन्न भएको छैन । यो कोरोना पनि विदेशतिरैबाट नेपालमा आएको हो ।

जेहोस नेपालीको बानी अनुसार झट्टै अंगालोमा बेरिने र किश गरिहाल्ने नभई नमस्कार भन्ने चलनले पनि र थप कुरामा लकडाउन पनि भइदिएको हुनाले रोग फैलिन पाएन र हामी जोगियौं ।

लकडाउनको समयलाई सदुपयोगमा बदल्न कोशिशचाहिँ नगरेको भने होइन । तर जति एकाग्र हुँदा पनि कोरोना आइपुग्छ र बिथोली हाल्छ । सुनसान सडक, एक्ला एक्लै, मुखमा मास्क, स्तब्ध भएझैं मौनताको स्थिति । यस्तो बेला फुर्ने कुरै आउँदैन । दिनमा यसो बारीतिर खनीखोस्री समय बिताउँछु र राति निद्रा खुलेको बेला कनिकुथी केही लेख्न बस्छु ।

ऋषि तिवारी, साहित्यकार

लकडाउनको समयमा बिहानीपख यसो आधा घण्टा पैदल हिँड्छु । तर घरेखिको पश्चिम नहरपारीको खेतका गराहरूमा हिँड्छु । तत्पश्चात् घरभित्र आफ्नो नित्यकर्म नुहाइ–धुवाइ । भान्सामा प्रवेश गरी चिया आफैं पकाउँछु ।

श्रीमतीलाई केही सहयोग गरी आफ्नो उहीँ लेख रचना अनि अरु साथीहरूको पनि पढ्छु । खाना तयार भएपछि खाना खायो । एक दुई घण्टा मजाले निदाउँछु । फेरि मोबाइल खोल्यो फेसबुक हेर्‍यो । लाइक कमेन्ट पनि गर्‍यो । रिप्लाई दियो ।

बस सजिलो तरिकाले लकडाउन व्यतीत गर्दैछु । काम गर्ने कर्मचारी हुँ । तर घर बस्दा अल्छीचाहिँ धेरै लाग्दो रहेछ भन्ने अनुभूति लिएको छु । अहिले छोटो–छोटो उहीँ मेरो लेख रचना लघुकथा फुर्दैछु । यो लकडाउनभरि सबैले साहित्यिक रचनाबाट आनन्द लिऊन् भनि फेसबुक अनि पेजहरूमा पोष्ट्याउँदै छु ।

Loading...