जनताको सम्पत्ति र सूचना अलीको जोखिममा, लकडाउनमा पशुपक्षी भोकभोकै

काठमाडौं, २३ चैत । प्रधानमन्त्रीका सूचना प्रविधि (आईटी) सल्लाहकार अस्गर अली साइबर अपराधमा मुछिँदा नागरिकले बैंकमा राखेको पैसाको सुरक्षा चिन्ता देखिएको छ। अली संलग्न कम्पनी एफवान सफ्टले ४८ बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप (एप्लिकेसन) बनाएको छ। २७ मध्ये २२ वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा अलीकै कम्पनीमातहत सञ्चालित छ।

फोन पे र ई सेवाजस्ता भुक्तानी सेवाप्रदायक एप पनि यही कम्पनीले बनाएको हो। एउटा बैंकबाट अर्कोको खातामा हुने डिजिटल भुक्तानीको द्वार गेट वे का लागि बढीजसो फोन पे प्रयोग हुँदै आएको छ। डिजिटल वालेटमा पनि ई सेवाको अग्रणी हिस्सा छ।

बैंक तथा वित्तीय संस्थाका कतिपय सफ्टवेयर पनि यही कम्पनीले बनाएको छ। कतिपयले ग्राहकको विवरण संकलन र भण्डारण गर्ने डेटा होस्टिङ को कामसमेत अलीकै कम्पनीलाई दिएको बैंकर बताउँछन्। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खबर छ ।

लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस कोभिड–१९ बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।

बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवाले चारा खान पाएका छैनन् । कतिपयले आफ्नै घरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेका छन् । होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...