लकडाउनमा घरघरमा तरकारी

भक्तपुर, २२ चैत । लकडाउनले किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउन थालेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति आएपछि युवाहरु किसानको बारीबाट तरकारी उठाएर उपभोक्ताको घरमा पुर्याउन थालेका हुन् ।

भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काममा व्यस्त बनेका छन् । उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने, संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याइनभ्याइ छ ।

आफूहरुले टोल टोल पुगेर बिक्रि गर्ने तरकारी बजार मुल्य भन्दा ३० प्रतिशत सम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ ।

तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मुल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताकोमा पुर्याउने गरेको बताउँछन् ।

उनले भने “भक्तपुरका स्थानीय वासिन्दा तथा कृषकहरुले उत्पादन गरेका तरकारीहरु हामीले संकलन गर्छौ । अनि सय/पचास कति कति हुन्छ । हाम्रो ढुवानी भाडा पनि जोड्छौ ज्याला पनि जोड्छौ । अनि खुद्रा पैसाको जोहो गर्न नपर्ने गरि ठिक्क पचासको /सयको प्याकेट बनाउँछौ । ”

लकडाउनको निर्णय संगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने विषय परिस्थिति उत्पन्न भएपछि किसानको बारीबाट सिधै उपभोक्ता समक्ष पुर्याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुलबहादुर नेमाफुकी ले बताए ।

Loading...